सपना, सङ्घर्ष र र्‍याकेटको भरमा चम्कँदै नेपाली ब्याडमिन्टनको एसियाली यात्रा

0
Shares

दक्षिण एसियाली खेलकुदको सीमित घेरा नाघेर एसिया महादेशका ब्याडमिन्टन ‘पावरहाउस’ हरूलाई चुनौती दिनु नेपाली खेलाडीका लागि केवल एउटा खेलमात्र होइन, अदम्य साहस, अनवरत समर्पण र राष्ट्रिय आत्मसम्मानको एउटा भीषण लडाइँ पनि हो । सीमित स्रोत–साधन, न्यूनतम पूर्वाधार र वैदेशिक एक्सपोजरको चरम अभावका बीच पनि नेपाली ब्याडमिन्टन खेलाडीहरूले अन्तर्राष्ट्रिय कोर्टमा जुन समर्पण देखाएका छन्, त्यो साँच्चै अनुकरणीय र मर्मस्पर्शी छ । सन् १९७० को दशकमा कुमार मोहनबहादुर शाहीजस्ता अग्रजहरूले अन्तर्राष्ट्रिय मञ्चमा कोरेको प्रारम्भिक गोरेटोदेखि सुरु भएको यो कठिन यात्रा आज आधुनिक युगका युवा प्रतिभाहरूसम्म आइपुग्दा अझ सशक्त, जुझारु र आशालाग्दो बनेको छ । सन् २०१० को ग्वाङ्जाउ एसियाडमा रत्नजित तामाङ, विकास श्रेष्ठ, सरादेवी तामाङ र सुजना श्रेष्ठजस्ता दिग्गज खेलाडीहरूको पूर्ण टोलीले देखाएको अतुलनीय जुझारुपनले नेपाली ब्याडमिन्टनको उचाइलाई एउटा नयाँ गोरेटो र दीर्घकालीन दिशा प्रदान गरेको थियो ।

एसियाली खेलकुदको विशाल इतिहासमा नेपाली ब्याडमिन्टनको सबैभन्दा स्मरणीय, रोमाञ्चक र ऐतिहासिक क्षण सन् २०१८ को जकार्ता–पालेम्बाङ एसियाड बन्यो, जहाँ पुरुष टोलीले शक्ति राष्ट्र पाकिस्तानलाई ३–१ ले स्तब्ध पार्दै क्वार्टरफाइनलसम्मको अभूतपूर्व र अविश्वसनीय यात्रा तय ग¥यो । विशेषगरी दीपेश धामी र रत्नजित तामाङको जोडीले दर्ता गराएको त्यो ऐतिहासिक जित केवल एउटा खेलको प्राविधिक नतिजामात्र थिएन, नेपाली खेलकुद क्षेत्रले अभाव र बेवास्ताका बीच पनि एसियाका शीर्ष आठ शक्तिशाली टोलीभित्र आफ्नो नाम स्वर्ण अक्षरले दर्ता गराउन सक्छ भन्ने अकाट्य प्रमाण थियो । यो ऐतिहासिक सफलताले नेपाली खेलाडीहरूको छातीमा ‘हामी पनि विश्व मञ्चमा सक्छौँ’ भन्ने अदम्य आत्मविश्वास, गौरव र हिम्मत भरेको थियो । त्यस्तै, जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल भई पेरिस ओलम्पिकसम्मको ऐतिहासिक यात्रा तय गर्ने प्रिन्स दाहालजस्ता उदीयमान ताराको उदयले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय जगत्मा एउटा नयाँ, सम्मानित र शक्तिशाली पहिचान दिलाएको छ ।

तथापि, यो चम्किलो सफलताको पर्दापछाडि खेलाडीहरूले दिनहुँ भोग्नुपरेको अभाव, उपेक्षा र संघर्षको कथा उत्तिकै कारुणिक र मर्मस्पर्शी पनि छ । विश्वका चीन, कोरिया, जापान र भारतजस्ता ब्याडमिन्टनका महारथीहरूसँग भिड्दा हाम्रा खेलाडीहरूले केवल अगाडिको विपक्षीसँग मात्र होइन, आफ्नै देशमा विद्यमान सामग्री र पूर्वाधारको चरम अभावसँग पनि पल–पलमा पौँठेजोरी खेल्नुपर्छ । कडा अभ्यासका क्रममा एउटा सामान्य ¥याकेट भाँचिँदा वा तार चुँडिँदा आफ्नै खल्तीको अन्तिम बचत खर्चनुपर्ने बाध्यता, अन्तर्राष्ट्रिय स्तरको म्याट र हलको कमी, अनि पर्याप्त वैदेशिक प्रशिक्षणको अभावले खेलाडीहरूको मनोबलमा बारम्बार गहिरो ठेस पु¥याउँछ । यति धेरै प्रशासनिक र भौतिक प्रतिकूलताका बाबजुद पनि, नेपाल ब्याडमिन्टन संघ र ओलम्पिक छात्रवृत्तिजस्ता साना प्रयासहरूको भरमा हाम्रा खेलाडीहरू आफ्नो अमूल्य पसिना र रगत कोर्टमा बगाउँदै देशको नाम चम्काउन निरन्तर लागिपरेका छन् ।

नेपाली ब्याडमिन्टनले अहिलेसम्म एसियाली खेलकुदमा पदक जित्न नसकेको एउटा तितो सत्य हो, तर हरेक पटक कोर्टमा ओर्लिंदा खेलाडीहरूले देखाउने शतप्रतिशत समर्पण, भित्री आँट र जित्ने अठोट कुनै धातुको पदकमै मात्र सीमित छैन । हजारौँ चुनौती र असम्भवप्रायः लाग्ने परिस्थितिहरूका बीच पनि देशभक्तिले ओतप्रोत भई रातो र चन्द्रसु र्जे अंकित जर्सी छातीमा टाँसेर जब उनीहरू कोर्टमा उत्रिन्छन्, तब उनीहरूले सिंगो देशको शिर उच्च बनाउँछन् । एसियाली खेलकुदमा नेपाली ब्याडमिन्टनको यो यात्रा कुनै चामत्कारिक पदकको पर्खाइमा मात्र सीमित छैन, यो त शून्यबाट सुरु गरेर अभावको अँध्यारोमा पनि आशाको दियो बाल्दै विश्व मञ्चमा आफ्नो अस्तित्व, पहिचान र सामथ्र्य प्रमाणित गर्ने एक अविरल, प्रेरणादायी र अति गौरवशाली संग्राम हो ।

आगामी २०औं एसियन गेम्सका लागि नेपाली ब्याडमिन्टन टोलीले विगत एक महिनाभन्दा बढी समयदेखि कडा बन्द प्रशिक्षणमार्फत आफ्नो तयारीलाई तीव्र पारेको छ । मुख्य प्रशिक्षक सुदिप कुमार योञ्जनको नेतृत्वमा खेलाडीहरूलाई दैनिक दुई समय सातदोबाटो, दशरथ रंगशाला र डल्लुस्थित हलमा शारीरिक तथा प्राविधिक रूपमा खारेर तिखारिँदैछ । कुनै पनि वैदेशिक प्रशिक्षण बिना सोझै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको यो टोलीमा अनुभवी रसिला महर्जन र युवा प्रतिभाहरू प्रफुल महर्जन, क्षितिज खनाल तथा आशालाग्दी युवा खेलाडी रिहाना श्रेष्ठ सम्मिलित छन् । पाँचवटा भिन्नाभिन्नै इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको यो टोलीको प्रशिक्षण उत्साहजनक भए तापनि महँगा ¥याकेट र सटलककजस्ता अत्यावश्यक सामग्रीको चरम कमी अझै हटेको छैन । अन्तर्राष्ट्रिय एक्सपोजरको अभाव र एसियाली महादेशका दिग्गज टोलीहरूसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण रहे पनि हाम्रा खेलाडीहरू उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने दृढ लक्ष्यमा छन् ।

यसै एसियाडका लागि नेपाली त्रिभुवन आर्मी क्लबका होनहार खेलाडी प्रफुल महर्जन पहिलोपटक एसियन गेम्सको विशाल मञ्चमा उत्रन दैनिक ५ देखि ६ घण्टा कडा मिहिनेत गरिरहेका छन् । बिहानको समयमा शारीरिक कसरत र रनिङ तथा बेलुकाको समयमा कोर्टभित्र प्राविधिक अभ्यास गर्दै पसिना बगाइरहेका प्रफुल पुरुष एकल, पुरुष युगल र मिश्रित युगल गरी तीनवटै विधामा देशको प्रतिनिधित्व गर्दैछन् । विश्वका शीर्ष खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसरले उत्साहित बनेका प्रफुल टाइसिटअनुकूल परेमा उत्कृष्ट नतिजा निकाल्दै पदकको दाबी पु¥याउने अठोट राख्छन् । तर, उनको यो यात्रा सहज भने छैन । गौशालास्थित होटेलदेखि प्रशिक्षण हलसम्म जाने यातायातको सुविधा नहुँदा खेलाडीहरू आफ्नै व्यक्तिगत खर्चमा आउजाउ गर्न बाध्य छन् । किनकि चार जनाको सानो टोली भएकै कारण सम्बन्धित निकायले बसको व्यवस्था गरिदिएको छैन । सामग्री अभाव र प्रशासनिक उदासीनताका बाबजुद प्रफुल र अन्य खेलाडीहरू आफ्नो सपना साकार पार्न निरन्तर मैदानमा जुटिरहेका छन् । त्यस्तै, घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट प्रतिनिधित्व गर्ने क्षितिज खनाल पनि पहिलो पटक एसियाड खेल्न निकै उत्साहित छन । ट्रेनिंगमा केहि खेल सामाग्री अपर्याप्त भएपनि प्रशिक्षण राम्रो भइरहेको बताउने उनले जापान एसियाडमा आफ्नो शतप्रतिशत प्रदर्शन गर्ने जानकारी गराए ।

नेपालकी अनुभवी ब्याडमिन्टन महारथी रसिला महर्जनका लागि यो तेस्रो एसियाड यात्रा हो । जसले यसअघि इन्डोनेसिया र चीनमा आयोजित एसियाडमा आफ्नो खेल प्रदर्शन गरिसकेकी छन् । दैनिक करिब साढे चार घण्टा डल्लुमा अभ्यास गरिरहेकी रसिला टोलीको सबैभन्दा अनुभवी खेलाडी भएकाले यसपटक विगतको भन्दा उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छन् । तथापि, गौशालादेखि डल्लुसम्मको कठिन यात्राले शारीरिक ऊर्जा सोस्ने गरेको र नजिकै बसोबासको व्यवस्था मिलाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग गरिएको आग्रह सुनुवाइ नहुँदा खेलाडीहरू मानसिक तनाव झेल्न बाध्य छन् । गुणस्तरीय फेदर सटलकक, ¥याकेट र स्ट्रिङको अभावका बीच पनि रसिला महिला एकल, महिला युगल र मिश्रित युगलमा अनावश्यक दबाब नलिई अघिल्लो संस्करणको प्रि–क्वार्टरफाइनलको यात्राभन्दा कम्तीमा एक कदम अघि बढेर इतिहास रच्ने तयारीमा छिन् ।

यसै टोलीकी सबैभन्दा कान्छी र पहिलोपटक एसियाडमा पाइला टेक्न लागेकी रिहाना शेरचन पनि आफ्नो उत्साह र ऊर्जाका साथ कठिन प्रशिक्षणमा लीन छिन् । महिला एकल, महिला युगल र मिश्रित युगल गरी तीनवटै विधामा देशको झण्डा बोकेर मैदान उत्रन लागेकी रिहानाका लागि यो प्रतियोगिता सपना साकार हुने क्षण हो । कुनै ठूलो समस्या बिना निरन्तर अभ्यासमा जुटेकी उनी कोर्टमा आफ्नो शतप्रतिशत सर्वश्रेष्ठ प्रदर्शन दिँदै देशका लागि जित हासिल गर्न हरसम्भव प्रयास गर्ने अठोट व्यक्त गर्छिन् । यसरी अभाव, उपेक्षा, स्रोत–साधनको कमी र कठिन व्यवस्थापकीय चुनौतीका बीच पनि सीमित ¥याकेट र असिमित सपनाको भरमा अघि बढेको नेपाली ब्याडमिन्टन टोलीको यो एसियाली यात्रा केवल एउटा खेलको सहभागितामात्र होइन, राष्ट्रिय गौरव, आशा र अदम्य नेपाली भावनाको एक ज्वलन्त र अमर प्रतीक पनि हो ।