चारैतिर पारदर्शी काँचका पर्खालहरू, तीव्र गतिमा ठोक्किएर फर्कने सानो रबरको बल र प्रत्येक सेकेन्ड श्वास फेर्नै धौ–धौ पर्ने उच्च गतिको शारीरिक–मानसिक घम्साघम्सी । स्क्वास खेलको यो कोर्टभित्रको दृश्य केवल एउटा खेलमात्र होइन, अभावका विशाल पर्खालहरूका बिच छातीमा रातो र नीलो झण्डा टाँसेर देशको गौरवका लागि लड्ने नेपाली खेलाडीहरूको अदम्य साहस र आत्मसम्मानको वृतान्त पनि हो । नेपाल स्क्वास ¥याकेट्स संघ (एनएसआरए) को नेतृत्वमा नेपाली स्क्वास टोली एसियाली खेलकुदको विशाल मञ्चमा आफ्नो बलियो उपस्थिति जनाउन पुनः तयार छ । पूर्वाधारको अभाव, राज्यको न्यून बजेट र नगण्य अन्तर्राष्ट्रिय अनुभवका बाबजुद विश्वस्तरीय महाशक्ति राष्ट्रहरूसँग भिड्न उत्रिने यो नेपाली टोलीको यात्रा कुनै ऐतिहासिक उपलब्धिभन्दा कम छैन ।
नेपालमा सन् १९७७ मा भित्रिएको र करिब चार दशकअघि आधिकारिक संघ स्थापना भएको स्क्वासले सन् २०१८ को जाकर्ता–पालेम्बाङ एसियाडबाट एसियाली महाकुम्भमा प्रवेश गरेको थियो । चार पुरुष खेलाडीको टोलीबाट सुरु भएको त्यो पहिलो यात्रा अन्तर्राष्ट्रिय एक्सपोजर र आत्मविश्वासको जग बन्यो । सन् २०२३ को १९औँ हाङजाउ एसियाडसम्म पुग्दा अमृत थापा मगर, अरहन्त केशर सिंह र अमिर भ्लोनजस्ता खेलाडीहरूले भारतजस्ता स्क्वासका विश्वविख्यात हस्तीहरूसँग कोर्टमा सीधा प्रतिस्पर्धाको स्वाद चाखे । प्राविधिक तथ्यांकमा पराजयको नतिजा ३–० देखिए पनि, त्यसले नेपाली खेलाडीहरूको छातीभित्र अन्तर्राष्ट्रिय स्तरको उच्च मनोबल र जितको नयाँ भोक जगाइदिएको थियो । त्यसै अनुभवको जगमा उभिएर आगामी २० औँ एसियाली खेलकुदका लागि भने नेपालले आफ्नो रणनीतिलाई अझ तिखार्दै अरहन्त केशर सिंह र विपना ब्लोनलाई ‘मिक्स डबल्स’ को विशेष रणनीतिक इभेन्टमा उतार्ने अभूतपूर्व तयारी गरिरहेको छ ।
यसपटक नेपाली टोलीको एसियाड यात्रा केवल सहभागितामा सीमित नहुने छाँटकाँट देखिन्छ । राज्यले बजेट अभावको कारण देखाउँदै कोटा कटौती गरेपछि स्क्वासतर्फ पुरुष र महिलामा एक–एक जना खेलाडीको मात्र स्थान सुरक्षित भयो । इन्डिभिजुअल र मिक्स डबल्सका खेलहरू एउटै समयमा पर्ने भएकाले र सीमित कोटाका कारण टोलीले एकल र टिम इभेन्ट छाडेर पदकको बढी सम्भावना रहेको मिक्स डबल्सलाई नै आफ्नो मुख्य लक्ष्य बनायो । जापान एसियाडसहित लगातार तेस्रोपटक सहभागिता जनाउन लागेका राष्ट्रिय वरीयताका पहिलो नम्बरका पुरुष खेलाडी अरहन्त केशर सिंह र दोस्रोपटक एसियाड खेल्न लागेकी महिला वरीयताकी नम्बर वान खेलाडी विपना ब्लोनको जोडी अहिले पदकको ऐतिहासिक सपना बुन्दै प्रशिक्षणमा पसिना बगाइरहेको छ । हाङजाउ एसियाडको एकलतर्फ थाइल्यान्डकी प्रतिस्पर्धीलाई हराएर टप १६ (प्रिक्वार्टरफाइनल) सम्मको यात्रा तय गरेकी विपना र अनुभवी अरहन्तको यो नयाँ जोडीले कोर्टमा फरक इतिहास रच्ने अठोट लिएको छ ।
नेपाल स्क्वास ¥याकेट्स टोलीका मुख्य प्रशिक्षक हिराबहादुर थापाको कडा निगरानीमा हाल राष्ट्रिय टोलीले गौशालास्थित पशुपति बुटिक होटलमा बास बसेर सातदोबाटोको कोर्टमा दैनिक पाँच घण्टा पसिना बगाइरहेको छ । बिहान साढे दुई घण्टा शारीरिक तन्दुरुस्ती, स्ट्रेन्थ, स्पिड, एजिलिटी, प्राविधिक कौशल र विविध ड्रिलहरूमा ध्यान केन्द्रित गरिन्छ भने शुक्रवार हाइ–परफर्मेन्स जिममा विशेष कसरत हुन्छ । म्याच नजिकिँदै गर्दा बेलुकीको सेसनमा भने राष्ट्रिय स्तरका पुरुष स्पारिङ पार्टनरहरूसँग खेलको ट्याक्टिक्स, रणनीतिक तयारी र मिक्स डबल्सको विशेष म्याच प्राक्टिस गराइँदै आएको छ । राज्यले आधिकारिक रूपमा बन्द प्रशिक्षणको घोषणा गर्नुअघि नै संघले आफ्नै निजी स्रोत र साधन जुटाएर खेलाडीहरूलाई विगत दुई वर्षदेखि निरन्तर दीर्घकालीन प्रशिक्षणमा राखेको थियो ।
तर, यो महत्वाकांक्षी सपना र कडा तयारीको पछिल्तिर खेलाडीहरूले झेल्नुपरेको भौतिक र आर्थिक संकट भने निकै कारुणिक र बिझाउने खालको छ ।
स्क्वासमा प्रयोग हुने विशेष जुत्ता साधारणतया एक महिना पनि नटिक्ने र एउटाको मूल्य १४ देखि १५ हजार रुपियाँसम्म पर्छ । प्रतिस्पर्धाका क्रममा स्ट्रिङ टुट्ने जोखिम हुने भएकाले प्रत्येक खेलाडीले कम्तीमा २५ हजार रुपियाँसम्म पर्ने तीन वटा स्पेयर ¥याकेट बोक्नुपर्ने बाध्यता छ । राष्ट्रिय खेलकुद परिषद् र सरकारबाट प्राप्त हुने नाममात्रको भत्ता र बजेटले यी महँगा सामग्री खरिद गर्न अपुग हुने भएकाले खेलाडीहरूले आफ्नै व्यक्तिगत खर्चका भरमा खेल सामग्री जुटाउनुपरेको छ । योभन्दा ठूलो प्राविधिक विडम्बना त के छ भने, एसियाडमा खेलिने ‘मिक्स डबल्स’ का लागि ठूलो आकारको ‘डबल कोर्ट’ चाहिन्छ, तर सिंगो नेपालभर एउटा पनि डबल कोर्ट उपलब्ध छैन । सानो ‘सिंगल कोर्ट’ मा अभ्यास गरेर विशाल ‘डबल कोर्ट’ मा खेल्न जानुपर्ने बाध्यता नेपाली खेलाडीका लागि पौडी पोखरीविना नै पौडीको प्रतिस्पर्धामा उत्रिनुसरह हो ।
ठूलो कोर्टको प्राविधिक अनुभव हासिल गर्न र त्यहाँको वातावरणसँग घुलमिल हुन प्रतियोगिता सुरु हुनुभन्दा कम्तीमा एक साताअगाडि वैदेशिक प्रशिक्षण वा जापान पुग्ने वातावरण मिलाइदिन खेलाडी र प्रशिक्षकले संघमार्फत पटक–पटक गुहार मागेका थिए । तर, बजेट र प्रशासनिक संयोजनको अभावमा त्यो माग कागजमै सीमित भयो । विश्व स्क्वास महासंघ (डब्लूएसएफ) र एसियाली महासंघको अन्तर्राष्ट्रिय वरीयता (डब्लूएसए ¥यांकिङ) को अभावमा नेपालले गोलाप्रथाबाटै मलेसिया, हङकङ र भारतजस्ता विश्वका शीर्ष ४ भित्र पर्ने एसियाली महाशक्तिहरूसँग भिड्नुपर्ने चुनौती छ । अभ्यास कोर्ट र म्याच कोर्टबीचको यो विशाल अन्तर अनि आर्थिक अभावका बिच पनि अरहन्त र विपनाको मनोबल भने रत्तिभर खस्किएको छैन । मिक्स डबल्समा विश्वका शीर्ष वरीयता प्राप्त खेलाडीहरूले पनि जितको शतप्रतिशत ग्यारेन्टी दिन नसक्ने र दुई खेलाडीबीचको उत्कृष्ट तालमेलले नै नतिजा फेर्न सक्ने भएकाले उनीहरू यो प्राविधिक चुनौतीलाई आफ्नो आत्मविश्वासले जित्न चाहन्छन् ।
नेपाली स्क्वासको यो दीर्घकालीन यात्रा केवल वर्तमानको टोलीमा मात्र सीमित छैन । संघले इटालीका रेन्जो एन्दोर्नो र स्पेनका दिग्गज प्रशिक्षक बोर्जा गोलान जस्ता विश्वविख्यात स्क्वास हस्तीहरूलाई नेपालमै भित्र्याएर इलाइट प्रशिक्षण शिविरहरू सञ्चालन गरिसकेको छ । यसका साथै स्क्वास ट्रेनिङ क्याम्प (एसटीसी) परियोजनाहरूमार्फत जुनियर खेलाडीहरूको पहिचान, उनीहरूको प्रतिभा निखार्ने काम र राष्ट्रिय खेलाडीहरूलाई छात्रवृत्ति तथा प्रोत्साहन भत्ताको व्यवस्था गरेर एउटा दिगो खेल प्रणाली निर्माण भइरहेको छ । सन्देश अभाव, उपेक्षा र पूर्वाधारको संकटबीच पनि सिसाको पर्खालभित्र नेपालका यी जोशिला खेलाडीहरूले प्रहार गर्ने प्रत्येक ¥याकेटले ‘हिम्मत, अनुशासन र इच्छाशक्ति छ भने सीमित स्रोतको जगमा उभिएर पनि असीमित सपना साकार पार्न सकिन्छ र विशाल एसियाली मञ्चमा सानो टोलीले पनि इतिहास रच्ने सामथ्र्य राख्छ’ भन्ने सन्देश दिन्छ ।












प्रतिक्रिया