
‘पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ
आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरु रुनुपर्छ ।’
देशमा कुनै पनि राष्ट्रिय सङ्कट आएका बेला होस् वा देशभक्ति र राष्ट्रिय एकताको भावना व्यक्त गर्नुपर्दा होस्, यो गीत नेपालमा जताततै बज्ने गरेको पाइन्छ । हालै आएको हिमपहिरोपछिको महा विनासकारी बाढीले ल्याएको सङ्कटका बेला पनि राष्ट्रिय एकताको भावनाले ओतप्रोत यो गीत बाक्लै बजिरहेको छ । र, असाध्य सान्दर्भिक पनि छ ।
नेपालको तराईमा मधेस आन्दोलन भएका बेला होस् वा तराईमा बाढीले तहसनहस पार्दा र २०७२ सालमा गएको महाभूकम्पका बेला राहत तथा उद्धार कार्यका लागि सहयोग सङ्कलन गर्ने सिलसिलमा होस्, यो गीत लगातार बजिरहेको थियो ।
यस्तै २०७२ असोज ३ गते संसद् भवनमा नयाँ संविधानको मूल प्रतिमा संविधानसभाका सबै सदस्यहरुले हस्ताक्षर गरिरहेको ऐतिहासिक घडीमा पनि पृष्ठभूमिमा यही गीत लगातार बजिरहेको थियो । यस ऐतिहासिक सन्दर्भलाई यस गीतका रचनाकार दिनेश अधिकारी ‘आफ्नो ठूलो सन्तुष्टिको विषय’ मान्नुहुन्छ । २०३६ सालमा रचनागर्भमा आएको यो महत्त्वपूर्ण गीतले २०५९ सालको अन्त्यतिर मात्र मूर्तरुप लिन सक्नुमा पनि त थुप्रै कथा र पृष्ठभूमिहरु लुकेर बसेका होलान् ।

यो त भयो एक कवि तथा गीतकारको एउटा गीतको सन्दर्भ । उहाँका यस्ता कैयौँ लोकप्रिय गीतहरु छन्, गीत लेखनका सन्दर्भ र गीतकारकै आफ्नो जीवनका अन्य थुप्रै रोचक सन्दर्भहरु भई नै हाल्छन् । उहाँका जस्तै अन्य विभिन्न गीत रचनाकारहरु, गायक, सङ्गीतकारहरु र सङ्गीतका विभिन्न पक्षमा योगदान दिएर प्रसिद्धि कमाएका श्रष्टाहरुमध्ये ५८ जनाभन्दा बढी स्रष्टाहरुको सपना, सङ्घर्ष, साधना र सफलताका कथा एवम् विचार र अनुभवहरु समेटिएको एउटा गहन पुस्तक ‘त्रिवेणीको अर्को लहर’ हालै प्रकाशित भएको छ । नेपाली सङ्गीत साधकहरुसँगको साक्षात्कार सँगालो यो ‘त्रिवेणीको अर्को लहर’ लाई पत्रकारिता एवम् साहित्य लेखनमा संलग्न श्रीरामसिंह बस्नेत र सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ ले सङ्कलन गरी प्रकाशनमा ल्याउनुभएको हो ।
यस पुस्तकमा समेटिएका सङ्गीत साधकहरुमा– अम्बिका रिमाल, आनन्द अधिकारी, आभास, उन्नति बोहरा ‘शीला’, उर्मिला श्रेष्ठ–निर्मला श्रेष्ठ, ओमविक्रम विष्ट, कर्म योन्जन, डा. किरण प्रधान, प्रा.डा. कृष्णहरि बराल, डा. गीता त्रिपाठी, चन्दन लोम्जेल, चन्द्रकला शाह, डा. जस योञ्जन ’प्यासी’, डेजी बराइली, तीर्थकुमारी थापा, दावा ग्याल्मो, दिनेश अधिकारी, दिव्य खालिङ, दीप श्रेष्ठ, दीपक खरेल, प्रा. दीपक जङ्गम, डा. दीर्घसिंह बम, दुर्गालाल श्रेष्ठ, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी, नारायणकुमार आचार्य, नीर शाह आदि हुनुहुन्छ ।
यस्तैगरी अरु सङ्गीत साधकहरुमा नुपूर भट्टाचार्य, प्रकाश गुरुङ, प्रेमदेव गिरी, बद्री दुर्गा खरेल, डा. बमबहादुर थापा ‘जिताली’, बुलु मुकारुङ, भूपेन्द्र रायमाझी, भूषण खरेल, डा. भोला रिजाल, मञ्जुल, मणिकमल क्षत्री, मदनकृष्ण श्रेष्ठ, मोहनप्रसाद जोशी, यादव खरेल, रत्नकुमारी गुरुङ, रत्न बेहोसी, राजेन्द्र थापा, राजेन्द्र रिजाल, रामकृष्ण ढकाल, लोचन भट्टराई, विश्व बल्लभ, वीरेन्द्र पाठक, व्याकुल माइला, शम्भुजीत बासकोटा, शान्ति ठटाल, शिलाबहादुर–कुन्ती मोक्तान, प्रा. श्रीराम आचार्य, सी.के. रसाइली, सुकमित गुरुङ, सुवासचन्द्र ढुङ्गेल, सुशीला कंसाकार, ज्ञानु राणालगायतको विचार, भावना र अनुभवहरु समावेश गरिएको छ ।
सङ्गीत साधक, यसतर्फ उन्मुख स्रष्टाहरु र खोज अनुसन्धानकर्ताहरुका लागि त यो पुस्तक एउटा ऐतिहासिक दस्तावेज हुँदै हो । साथै सङ्गीत तथा साहित्य प्रेमीहरुका लागि पनि यो ज्यादै महत्त्वपूर्ण कृति हो । नेपाली गीतका शब्द, सङ्गीत र स्वरका साधकहरुलाई एउटै पुस्तकमा समेटेर पस्कन सक्नु लेखकद्वयको ठूलो सफलता हो । त्यसका लागि उहाँहरु बधाईका पात्र हुनुहुन्छ ।
यस्तै खालको उपयोगी, रोचक र सङ्ग्रहणीय कृति अरू कसैले प्रकाशित गरेको मलाई जानकारी छैन । बरु ‘त्रिवेणीको अर्को लहर’ तयार गर्ने श्रष्टाहरुले नै यसअघि २०४४ सालमा नेपाली गीतका शब्द, सङ्गीत र स्वरका ५१ जना प्रतिष्ठित साधकहरुसँग साक्षात्कार अन्तर्वार्ता लिई ‘त्रिवेणीका लहरहरु’ नामक पुस्तक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गर्नुभएको थियो ।
अहिले करिब ३९ वर्षपछि तिनै लेखकद्वयले जोश–जाँगर निकालेर त्रिवेणीको अर्को लहर नामक पुरानै प्रकृतिको तर नयाँ साधकहरुलाई समावेश गरेर पुस्तक प्रकाशित गर्नुभएको छ । लेखकद्वयले २०४४ सालमा त्रिवेणीका लहरहरु नामक पुस्तक प्रकाशित गर्दा अव नयाँ पुस्ताले यसलाई निरन्तरता दिने अपेक्षा गरेको तर साढे तीन दशकसम्म अपेक्षा पूरा नभएकाले व्यावसायिक जीवनबाट अवकाश भएपछि आफूहरुले नै फेरि आँट गरेर ‘त्रिवेणीको अर्को लहर’ प्रकाशित गरेको बताउनुभएको छ ।
लेखकद्वयले ‘त्रिवेणीको अर्को लहर’मा नयाँ प्रविधिको प्रयोग गर्नुभन्दा सङ्गीत साधकहरुलाई प्रत्यक्ष भेटर अन्तर्वार्ता लिनुभएको छ, जुन निकै कठिन र मिहिनेतपूर्ण कार्य हो । प्रविधिको प्रयोगले लेखकहरुलाई सजिलो त हुन्थ्यो नै तर भावनात्मक पक्ष, बीच–बीचमा उठ्ने जिज्ञासाहरुको जवाफ, साधकको तत्कालको अवस्थाबारे गहिराइमा पुग्न र शारीरिक हाउभाउले दिने सन्देश पक्कडमा लिन निकै कठिन हुन्थ्यो । त्यसैले होला लेखकद्वयले प्रत्यक्ष भेटेर कुराकानी गरी जानकारी सङ्कलन गर्नुभएको छ । यसका लागि उहाँहरु प्रशंसाका हकदार हुनुहुन्छ । साथै सङ्गीतका साधक, सङ्गीत प्रेमी र यस पुस्तकका पाठकहरुको मुरी–मुरी स्याबासीका पात्र हुनुहुन्छ ।
करिब ३९ वर्षको अन्तरालमा पुनः यति धेरै नेपाली गीतका शब्द, स्वर र सङ्गीतका साधकहरुलाई प्रत्यक्ष भेटेर उहाँहरुका विचार र अनुभवहरु समेटिएको समाज उपयोगी दोस्रो पुस्तक प्रकाशन गर्नु सानोतिनो धैर्यता र मिहिनेतले सकिने कार्य अवश्य होइन । लेखकद्वय नै भन्नुहुन्छ, ‘हामी दुईले यो प्रौढ वयमा पनि ४० वर्ष पहिलेको जस्तो युवाजोश फेरि निकालेर यो पुस्तकका लागि सङ्गीत साधकहरुका घरदैलो चहार्नुका पछाडि केही कारण अवश्य छन् ।
मुख्यतः नेपाली गीत र त्यसका साधकहरुप्रति पहिलेदेखि नै हामीमा रहेको अगाध श्रद्धा नै हो ।’
दुवै पुस्तकमा गरी १ सय १२ जना साधकहरुका भावनालाई पुस्तकका रुपमा सुरक्षित तरिकाले अभिलेखीकरण गर्नु निकै उदाहरणीय कार्य हो । विभिन्न महत्त्वपूर्ण सङ्गीत साधकहरुको पहिचान गर्नु, उहाँहरुको निवासमा गएर साक्षात्कार गरी ज्ञानपूर्ण एवम् रोचक जानकारीहरु हासिल गर्नु यस पुस्तकका लेखकहरुको महत्त्वपूर्ण पक्ष हो । तिखारिएको लेखन शिल्प, मिठासपूर्ण प्रस्तुति शैली, स्पष्ट र स्तरीय भाषाशैलीको प्रयोग ‘त्रिवेणीको अर्को लहर’ नामक यस पुस्तकको महत्त्वपूर्ण विशेषता हो । यसको जश भनेको लेखकद्वय श्रीरामसिंह बस्नेत र सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’लाई नै जान्छ ।
पुस्तकः त्रिवेणीको अर्को लहर
लेखकहरुः श्रीरामसिंह बस्नेत र सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’
प्रकाशकः साझा प्रकाशन, पुलचोक
प्रकाशनः २०८३ साल
पृष्ठ सङ्ख्याः ४६०
मूल्य रु.ः ८३०।–












प्रतिक्रिया