बाढीपीडितको पीडा देख्न नुवाकोट पुगे सोनु सुद, भने– नेपाल एक्लो छैन


काठमाडौं ।

बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको त्रिशूली पुगेका छन् । भारतबाट आएको आफ्नो राहत टोलीसहित उनी बुधबार त्रिशूली बजार पुगेका हुन्।

त्रिशूली नदी किनारमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै उनले प्रभावित स्थानीयसँग भेटघाटसमेत गरेका छन् । बाढीबाट भत्किएका घर, विस्थापित परिवार र प्रभावित क्षेत्रको अवस्था देखेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

सुदले त्रिशूली नदी किनारबाट तस्बिर सार्वजनिक गर्दै बाढीले ‘अकल्पनीय क्षति’ पुर्‍याएको बताएका छन्। उनले नेपाल एक्लो नरहेको भन्दै प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्काउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भनेका छन्, ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु । भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैंका लागि बदलिएका जीवनहरू । नेपाल एक्लो छैन । म नेपाली जनताको साथमा छु ।’

सुदले प्रभावित परिवारका घर पुनर्निर्माण गर्न तथा उनीहरूलाई नयाँ सुरुवात गर्न सहयोग गर्ने बताएका छन्। उनले आफ्नो सुद च्यारिटी फाउन्डेसनमार्फत राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन्।

यसअघि काठमाडौं आइपुग्दा सुदले भारतबाट कम्बल, खाद्य सामग्रीलगायत राहत सामग्री ल्याएको बताएका थिए। तत्कालीन राहतसँगै आगामी महिनाहरूमा पनि सहयोग जारी राख्ने उनको भनाइ थियो।

नुवाकोटको त्रिशूली बजार भोटेकोशी नदीबाट आएको बाढीका कारण अत्यन्त प्रभावित क्षेत्रमध्ये एक हो। बाढीले त्रिशूली नदी आसपासका दर्जनौं घर तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएको छ।

सुदले प्रभावित क्षेत्रको अवस्थाबारे भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै राहत शिविरमा रहेका परिवारको अवस्था निकै पीडादायी रहेको बताएका छन्। खाद्यान्न, स्वास्थ्य सहायता र आश्रयको व्यवस्था गर्न आफ्नो टोलीले काम गरिरहेको उनले बताएका छन्।