देवघाटमा ३३५ शव व्यवस्थापन, १२ जनाको मात्रै सनाखत

564
Shares

चितवन ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका सनाखत हुन नसकेका शवको व्यवस्थापन गर्ने क्रम जारी छ । हालसम्म चितवनमा फेला परेका ३४८ शवमध्ये ३३५ वटा शव व्यवस्थापन गरिएको छ ।

भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा सनाखत हुन नसकेका शवहरू डिएनए नमुना सुरक्षित राखेर खाडल खनी जमिनमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार चितवनमा हालसम्म ३४८ वटा शव फेला परेका छन् । तीमध्ये १२ वटा शवको सनाखत भएको छ भने एक जना मृतकको शव भरतपुर अस्पतालमा रहेको छ । सनाखत भएकामध्ये ११ जना पुरुष र एक जना बालिका रहेका छन् ।

शवको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या उत्पन्न भएपछि प्रहरीले डिएनए नमुना संकलन तथा सुरक्षित राख्ने व्यवस्था मिलाएर शनिबारदेखि देवघाटको जङ्गलमा शव व्यवस्थापन गर्न थालेको हो । पहिलो दिन शनिबार ९६ वटा शव व्यवस्थापन गरिएको थियो । त्यसैगरी आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

व्यवस्थापन गरिएका शवमध्ये सबैभन्दा धेरै लिङ्ग पहिचान हुन नसकेका १२९ वटा रहेका छन् । त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ वटा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले शव व्यवस्थापन गरिए पनि प्रत्येक शवको डिएनए नमुना सुरक्षित राखिएको जानकारी दिनुभयो । भविष्यमा आफन्तबाट डिएनए नमुना प्राप्त भएमा त्यसका आधारमा शवको पहिचान गर्न सकिने उहाँले बताउनुभयो ।

सनाखत भएका शवको आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि परिवारजनलाई बुझाइएको छ । तर, केही शव आफन्तले पहिचान गरे पनि त्यसअघि नै जमिनमुनि व्यवस्थापन गरिसकिएकाले परिवारले शव लैजान नपाएको गुनासो गरेका छन् । शव व्यवस्थापनको प्रक्रिया अघि बढाउनुअघि पहिचान र डिएनए नमुना संकलनलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

यसैबीच, हराइरहेका आफन्तको खोजीमा रहेका परिवारजनले चितवनमा डिएनए परीक्षणका लागि नमुना दिन थालेका छन् । आफन्तको डिएनए नमुना र व्यवस्थापन गरिएका शवबाट सुरक्षित राखिएको नमुनाबीच परीक्षण तथा मिलान गरी पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ ।

बाढीपछि नदीमा बगेर आएका शव चितवनका विभिन्न नदी किनारमा फेला पर्ने क्रम अझै रोकिएको छैन । त्रिशूली र नारायणी नदीको बहाव क्षेत्र तथा नदी किनारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ ।
सोमबार मात्रै चितवनका विभिन्न स्थानमा ४९ वटा शव फेला परेका थिए । बाढीपछि जिल्लामा अहिलेसम्म फेला परेका ३४८ शवमध्ये ठूलो सङ्ख्याको पहिचान हुन नसकेपछि शव व्यवस्थापनसँगै सनाखतको प्रक्रिया पनि चुनौतीपूर्ण बनेको छ ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तबाट प्राप्त हुने डिएनए नमुना र शवबाट सुरक्षित राखिएको डिएनए नमुनाको परीक्षणपछि थप शवको पहिचान खुल्ने अपेक्षा गरिएको छ । त्यसैले परिवारजनलाई आवश्यक विवरणसहित सम्बन्धित निकायमा सम्पर्क गरी डिएनए नमुना दिन प्रहरीले आग्रह गरेको छ ।