काभ्रे।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको छ। बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न ६ वटा विषयमा निर्णय गरेको छ ।
बैठकमा भोटेकोशीमा आएको बाढीबाट भएको क्षति, बाढीमा परी बेपत्ता जिल्लावासीको खोजी, भोटेकोशी बाढी प्रभावितलाई गरिने सहयोगको व्यवस्थापन, मनसुनको बाँकी अवधिमा गर्नुपर्ने तयारी, बेथान्चोकबाट प्राप्त निजी आवास निर्माणसम्बन्धी सिफारिस तथा विविध विषयमा छलफल गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख दीपकुमार गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, धुलिखेलका कार्यवाहक प्रमुख निराजन जंगम, पाँचखाल उपप्रमुख सुर्यमाया दनुवार, चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, श्रीमेहर गण धुलिखेलका गणपति प्रमुख सेनानी झलक सुवेदी, जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्की, सशस्त्र प्रहरी उपरीक्षक पाँचखालका प्रमुख जगतसिंह डाँगा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका दीपक खड्का, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा कार्यालय प्रमुखहरूको सहभागिता थियो ।

बैठकले रसुवा जिल्लामा आकस्मिक रूपमा आएको बाढीका कारण विभिन्न जिल्लामा भएको विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बाढीमा परी बेपत्ता भएकाहरू जतिसक्दो चाँडो सकुशल फेला परून् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाबाट रसुवा, धादिङलगायतका जिल्लामा कामको सिलसिलामा पुगेका ६६ जना व्यक्ति सम्पर्कविहीन भएको नामावली टिपोट गरिएकोमा २४ जना सकुशल सम्पर्कमा आएका छन् भने दुई जनाको शव फेला परेको छ। भदौ १५ गते दिउँसोसम्म ४० जनाको अवस्था भने अज्ञात रहेको बताइएको छ । बैठकले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि निरन्तर सक्रिय रहने तथा उनीहरूका आफन्त र परिवारजनसँग स्थानीय तहमार्फत सहजीकरण र समन्वय गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, राहत सहयोग गर्न चाहने व्यक्ति तथा संस्थासँग जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय गर्ने र सरकारी निकाय तथा सम्बन्धित प्रशासनसँगको सूचना र समन्वयबिना राहत वितरण नगर्न अनुरोध गर्ने निर्णय गरेको छ । भदौ १० गतेको घटनालाई समेत मध्यनजर गर्दै जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने अवस्थालाई ध्यानमा राखी आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय बैठकले गरेको छ। विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रभावित घरपरिवारलाई राहत उपलब्ध गराउन स्थानीय तहहरूले नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरिएको छ । बेथान्चोक गाउँपालिकाले २०८१ असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण क्षति पुगेका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम माग गरेकोमा सो रकम भुक्तानी दिने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रशासकीय अधिकृत सुनिता थापाले जिल्ला विपद् व्यवस्थापन समितिले गरेका गतिविधि, काभ्रेपलाञ्चोक जिल्लामा भएका विपद्का घटना तथा विपद् पूर्वतयारी, विपद्का बेला र विपद्पछिको अवस्थामा गर्नुपर्ने योजना निर्माणका विषयमा प्रस्तुति दिएकी थिइन् । प्रशासकीय अधिकृत थापाका अनुसार काभ्रेपलाञ्चोक जिल्ला भौगोलिक विविधता—पहाडी तथा नदी बेसिन क्षेत्र—युक्त भएकाले विभिन्न किसिमका प्राकृतिक तथा मानव सिर्जित विपद्को उच्च जोखिममा रहेको छ ।
विशेषगरी रोशी खोला, इन्द्रावती, सुनकोशी तथा पुण्यमाता करिडोर क्षेत्र बाढी तथा कटानको दृष्टिले संवेदनशील छन्। जिल्लामा जलवायूजन्य बाढी, पहिरो, गेग्रान बहाव, असिनापानी, भूकम्प, जमिन भासिने तथा भू–क्षय, मौसमी तथा अन्य आगलागी, महामारी र सडक दुर्घटनालगायतका विपद्को जोखिम रहेको थापाले बताइन् ।

को को हुन ४० जना सम्पर्कविहिन ?
सम्पर्कविहिन भएका मध्ये पाँचखालका दिलबहादुर कायश्थ र रोशीका शंखबुद्ध लामाको शव प्राप्त भएको छ । उनिहरु दुबैको अन्त्येष्टी परम्परा अनुसार काठमाडौमा गरिएको आफन्तले जानकारी दिएका छन् । सम्पर्कविहिन आफन्तको आशा छ छिट्टै सम्पर्कमा आउनु हुनेछ । घटनाको ६ दिन वितिसक्दा समेत आफन्तहरु सम्पर्कमा आउन नसके पछि आफन्तहरुको विलौना शुरु भएको छ । भोटेकोशी नदीमा २०८३ भदौ १० गते आकस्मिक रूपमा आएको बाढीपछि काभ्रेबाट कामको सिलसिला तथा भ्रमणका क्रममा रसुवा र नुवाकोट पुगेका ६६ जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो । २४ जना भने सम्पर्कमा आएका छन् ।
सम्पर्कविहीन हुनेमा चालक, सहचालक, हाइड्रोपावरमा कार्यरत कर्मचारी, ट्रेकिङ गाइड, होटल व्यवसायी, व्यापारी तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरू रहेका छन् । सूचीमा पाँचखाल–६ तिनपिप्ले निवासी दिलबहादुर कायस्थ र भुम्लु–१ दोलालघाटका महेश पन्त मानसरोवर जाने तीर्थयात्री लिएर गएको उल्लेख छ । दिलबहादुरको अन्त्येष्टी गरिएको छ । त्यस्तै चौरीदेउराली–५ का हेमन्त चौलागाईं काब्य बिजनेस क्यारिङको काममा, पनौती–५ का दिनेश श्रेष्ठ व्यापारका क्रममा र रोशी–९ मंगलटारका शंखबुद्ध तामाङ होटल व्यवसायका सिलसिलामा गएको विवरण छ । शंखबुद्ध लामाको शव पहिचान भएकाले अन्त्येष्टी भएको छ ।
त्यसैगरी बनेपा–९ का उद्धव सापकोटा भेन चालक, तेमाल–६ का सुमन तामाङ ट्रेकिङ गाइड तथा सोही स्थानका मिलन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ र ज्ञानबहादुर राना मगर पनि सम्पर्कविहीन सूचीमा छन् । चौरीदेउराली–७ माइती भएकी सम्झना मोक्तान पतिसँगै गएको विवरण प्रशासनमा टिपाइएको छ । सूचीमा बनेपा–१० का बालकृष्ण रञ्जित डब्बा भेन चालक, सिताराम श्रेष्ठ चालक, रिकेश बस्नेत सहचालक तथा धुलिखेल–८ का महेश तामाङ पनि रहेका छन् । धुलिखेल–२ का उद्धव न्यौपाने सान्जेन हाइड्रो कम्पनीमा कार्यरत रहेको, बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन त्रिशूली बजारमा होटल व्यवसाय गर्दै आएको तथा सोही स्थानका आइते तामाङ हाइड्रोपावरमा कार्यरत रहेको विवरण छ । बनेपा–८ का एगेश श्रेष्ठ स्कर्पियो चालक, चौरीदेउराली–२ हाल कलंकी बस्ने राजेन्द्र प्रधान क्लासिकटेकको सामान लिन गएको तथा सिपाघाट ठेगाना भई हाल धुलिखेल बस्ने रामशरण तिमल्सिना घट्टेखोला आसपासबाट सम्पर्कविहीन भएको जनाइएको छ ।

धुलिखेल–२ का संगम चौलागाईं लाङटाङ खोला हाइड्रो कम्पनीमा सब–इन्जिनियर, तेमाल–७ का विशाल तामाङ अपर हाइड्रोपावरमा स्काभेटर चालक तथा पनौती–३ का अच्युतम सापकोटा रसुवा भन्सारमा सामान क्यारी गर्ने काममा संलग्न रहेको विवरण प्रशासनमा पुगेको छ । त्यस्तै भुम्लु–१ रिठ्ठेठेका मिलन श्रेष्ठ भन्सार छुट भएको जानकारी गराउँदै अन्तिमपटक घरमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ। बनेपाका आषिष गुभाजु, तेमाल–८ का गणेश लामा, पाँचखाल–१२ का मिलन खरेल, बनेपा–१० का प्रल्हाद गिरी र भुम्लु–१ रिठ्ठेका प्रकाश श्रेष्ठ पनि सूचीमा छन् । बनेपा–८ का भोगेन्द्रकुमार खत्री मेलुङ स्थित अपर त्रिशुली हाईड्रोपावर प्राजेक्टमामा कार्यरत रहेको, धुलिखेल नगरपालिका–२ का सुकुमान तामाङ हाइड्रोपावरमा कार्यरत तथा सोही स्थानका विकास तामाङ पनि सम्पर्कविहीन सूचीमा रहेको प्रशासनले जनाएको छ ।
धुलिखेल नगरपालिका–२ का राजु थापा कन्टेनर लिएर गएको, भुम्लु–५ जोरपिपलका राजकुमार रिजाल स्कार्पियो चालक, बनेपा–१३ साँगाकी प्रकृति डङ्गोल त्रिशूली बट्टारस्थित माइत गएको र त्यसपछि सम्पर्कमा नआएको विवरण छ । त्यसैगरी पाँचखाल–१२ का राजकुमार गौतम क्यारीको काम गर्ने, मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ कामको सिलसिलामा गएको तथा पनौती–९ का अर्जुन खत्री केसी भेन चालक रहेको प्रशासनमा टिपाइएको विवरणमा उल्लेख छ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा ठूलो क्षति भएको छ । बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेमा प्राप्त विवरणमा थपघट हुन सक्ने भएकाले प्रशासनले सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन गर्न सम्बन्धित परिवार तथा निकायसँग समन्वय गरिरहेको छ ।
धुलिखेल नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका १८ वर्षीय मनिष भुजेल पनि सम्पर्क विहिन छन् । पासाङ ल्हामु ट्राभल्स मार्फत गोसाइँकुण्ड यात्रामा गएको र हालसम्म परिवार तथा आफन्तको सम्पर्क बिहिन भएकोले सम्पर्कका लागि आफन्तले वडा कार्यालय र प्रशासनमा जानकारी गराएको वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए । त्यस्तै काठमाडौ विश्वविद्यालयबाट स्कुल अफ इन्जिनियरिङमा अध्ययनरत समीर पौडेल, सृष्टि बास्तोला, शिशिर गिरी इन्टनसिपमा गएका थिए । त्रिशुली थ्री बी हाईड्रोको प्रोजेक्ट साईट तथा फिल्ड अफिस पुरिएको तथा बगेको हुनाले भग्नावशेष समेत हालसम्म भेटिएको छैन । तीन विद्यार्थी सोहि प्रोजेक्टमा इन्टर्नसिपमा कार्यरत थिए । हाल बेपत्ता छन् । त्यस्तै स्कुल अफ लमा अध्ययनरत विद्यार्थी मनिल कायश्थ त्रिशुली बजारबाट सोहि दिन विहान ८.३० देखि सम्पर्क विहिन भएका छन् ।












प्रतिक्रिया