बलिउडमा लामो समयदेखि चर्चामा रहेको परिवारवाद अर्थात् नेपोटिज्मबारे अभिनेता अरशद वारसीले हालै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले बलिउडमा स्टारकिड्स अर्थात् कलाकारका छोराछोरीलाई प्रवेश पाउन तुलनात्मक रूपमा सहज हुने भए पनि उनीहरूको सफलता भने प्रतिभामा निर्भर हुने बताएका छन्।
फिल्मीज्ञानसँगको एक पोडकास्टमा कुराकानी गर्दै अरशदले आफूले करियर सुरु गर्दा नेपोटिज्म ठूलो बहसको विषय नरहेको बताए। उनका अनुसार अभिनेत्री कंगना रनौतले यो विषयलाई सार्वजनिक बहसमा ल्याएपछि बलिउडमा नेपोटिज्मबारे व्यापक चर्चा हुन थालेको हो।
अरशदले भनेका छन्, ‘कंगनाले नेपोटिज्मको मुद्दा ल्याइन् र त्यसपछि यो ठूलो विषय बन्यो। सबैले यसबारे कुरा गर्न थाले।’
उनले बलिउडमा नेपोटिज्म रहेको स्वीकार गर्दै चर्चित परिवारको थरले कलाकारका लागि सुरुवाती अवसरको ढोका खोल्न सक्ने बताए। तर, त्यही आधारमा लामो समयसम्म टिकिरहन भने प्रतिभा आवश्यक हुने उनको भनाइ छ।
‘हो, नेपोटिज्म छ। तर यसले मलाई कुनै फरक पार्दैन। अन्ततः तपाईं कति प्रतिभाशाली हुनुहुन्छ भन्ने कुराले अर्थ राख्छ। त्यही आधारमा तपाईं अगाडि बढ्नुहुन्छ,’ अरशदले भने।
अरशदले स्टारकिड्सले फिल्म क्षेत्रमा सहज प्रवेश पाए पनि उनीहरूमाथि परिवारको नामका कारण थप अपेक्षा राखिने गरेको बताए। उनले आफ्ना छोराछोरी जीक वारसी र जेने जोई वारसीको उदाहरण दिँदै उनीहरूले पनि आफू कलाकारको सन्तान भएकै कारण ठूलो अपेक्षाको सामना गर्नुपर्ने हुनसक्ने बताएका छन्।
उनका अनुसार चर्चित परिवारमा जन्मिनु अवसरका लागि फाइदा हुन सक्छ, तर त्यसलाई सफल करियरमा बदल्न व्यक्तिगत क्षमता र मेहनत आवश्यक हुन्छ।












प्रतिक्रिया