अन्तत: तेस्रो प्रयासमा सुदूरपश्चिमलाई उपाधि

जर्ज मुन्सीको अविस्मरणीय ब्याटिङ


काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दुई संस्करणको फाइनलमा हारेको सुदूरपश्चिम रोयल्सले अन्तत: तेस्रो प्रयासमा उपाधि जितेको छ ।
शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएर एनपीएलमा उपाधि जित्न सफल भएको हो । गत संस्करणको विजेता लुम्बिनीले १ सय ५६ रनको विजयी लक्ष्य दिएकामा सुदूरपश्चिमले विना विकेट क्षतिमा १३.३ ओभरमै जित हासिल गर्‍यो । योसँगै सुदूरपश्चिमले लुम्बिनीविरुद्ध गत संस्करणको फाइनलमा हारेको बदलासमेत लियो ।
सुदूरपश्चिमलाई उपाधि दिलाउन ओपनर जर्ज मुन्सीले अविस्मरणीय इनिङ खेल्नुभयो । मुन्सीले ५४ बलमै अविजित रहँदै १ सय २५ रन बनाउनुभयो । उहाँले १२ छक्का र ८ चौका प्रहार गर्नुभयो । पहिलो विकेटका लागि १ सय ५८ रनको साझेदारी हुँदा अर्का ओपनर विनोद भण्डारीले केवल ३० रन बनाउनुभयो ।

मुन्सीले एनपीएलको इतिहासमा व्यक्तिगत उच्चतम रनकोे कीर्तिमान बनाउनुभयो । उहाँले यही तेस्रो संस्करणमा चितवन राइनोजका ओपनर कामिल मिसराले बनाउनुभएको १ सय २० को व्यक्तिगत उच्चतम रनलाई पछि पार्नुभएको हो ।
यसअघि लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । टोलीका लागि दिलीप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले ३० रन र विकेटकिपर निरोशन डिकवेलाले २८ रन, अली शेखले २४ र डार्शी सर्टले २१ रनको योगदान दिनुभएको थियो ।

३५–२ को स्थितिबाट कप्तान रोहित कुमार पौडेल र विकेटकिपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाल्नुभयो । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै टोलीलाई माथि उकासेको थियो । त्यसपछि रोहितले दिलीप नाथसँग ३४ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो ।

रोहित १५औँ ओभरको अन्तिम बलमा दुर्भाग्यका साथ रनआउट हुनुभयो । त्यसपछि आएका सन्दिप जोरा ४ रन बनाएर आउट हुनु भएपछि लुम्बिनी संकटमा परेको थियो ।

तर, दिलीप नाथ र अली शेखले छैटौं विकेटका ३३ रनको साझेदारी गर्नुभयो । यसले टोलीले सोचेजस्तै १ सय ५६ रनको लक्ष्य दिन सफल भएको थियो । सुदूरपश्चिमको बलिङमा स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिनु भएको थियो ।

विजेता सुदूरपश्चिम रोयल्स : १ करोड ५० लाख
उपविजेता लुम्बिनी लायन्स : ८० लाख
तेस्रो चितवन राइनोज : ४० लाख
चौथो काठमाडौँ गोर्खाज : ३० लाख


पहिलो संस्करण विजेता
जनकपुर बोल्ट्स : १ करोड १० लाख
सुदूरपश्चिम रोयल्स : ५१ लाख
दोस्रो संस्करण विजेता
लुम्बिनी लायन्स : १ करोड १० लाख
सुदूरपश्चिम रोयल्स : ५१ लाख

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।