मलेखु–फुर्केखोला पुल बगेपछि धादिङबेसी जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी

0
Shares

धादिङ ।

भोटेकोसी नदीमा आएको बाढीका कारण धादिङको सदरमुकाम धादिङबेसी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

बाढीले सदरमुकाम आउने मुख्य मार्गमा पर्ने मलेखु–फुर्केखोला पुल बगाएपछि धादिङबेसीलगायत मध्य तथा उत्तरी धादिङको यातायात सेवा प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र सर्वसाधारणको आवतजावतमा समेत समस्या परेको छ।

वैकल्पिक मार्ग सञ्चालनका लागि धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–गल्छी सडकको स्तरोन्नति तथा मर्मतलाई तीव्रता दिइएको छ। सडक सुधारका लागि जेसीभीलगायतका उपकरण फिल्डमै परिचालन गरिएको छ।

नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका र पूर्वाधार विकास कार्यालय धादिङको समन्वयमा सडक मर्मत तथा सुधारको काम भइरहेको नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिए।

उनका अनुसार गल्छीदेखि फोस्रेटार हुँदै रामकुवासम्मको सडक गल्छी गाउँपालिकाले मर्मत गरिरहेको छ। त्यस्तै रामकुवा–भोर्ले–सुनौलाबजार–धादिङबेसी सडकखण्डमा नीलकण्ठ नगरपालिका र पूर्वाधार विकास कार्यालयले संयुक्त रूपमा मर्मत तथा सुधारको काम गरिरहेका छन्।

‘सडकलाई तत्काल वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मिल्ने बनाउने गरी काम भइरहेको छ,’ उपप्रमुख विश्वकर्माले भने, ‘काम तीव्र गतिमा अघि बढेकाले करिब दुई दिनपछि यात्रुबाहक बस सञ्चालन गर्न सकिने अपेक्षा छ।’

भोटेकोसी बाढीबाट जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको छ। हालसम्म ७ वटा पक्की पुल, ११ वटा झोलुङ्गे पुल, ५ वटा विद्यालय र एक अस्पतालमा क्षति पुगेको तथा १५० भन्दा बढी घर प्रभावित भएका छन्। बाढीपछि ११४ जना नागरिक सम्पर्कविहीन रहेको विवरणले अवस्था थप संवेदनशील बनेको छ।

मुख्य सडकमा रहेको पुल बगेपछि सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएकाले वैकल्पिक सडक सञ्चालनलाई प्राथमिकतामा राखिएको हो। सडक मर्मतपछि धादिङबेसी र गल्छीबिच यातायात सञ्चालनमा सहजता आउने तथा जिल्लाको आपूर्ति प्रणालीलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।