–भूकम्प होइन, हिमनदी–चट्टानको विनाशकारी पहिरो
–अब नेपालका हिमताल र हिमालमाथि कति ठूलो जोखिम ?
काठमाडौँ ।
नेपाल–तिब्बत सीमा क्षेत्रमा बुधवार आएको विनाशकारी बाढीको कारणबारे प्रारम्भिक अन्योल क्रमशः हट्दै गएको छ । सुरुमा भूकम्पपछि पहिरो गएर बाढी आएको हुनसक्ने अनुमान गरिए पनि पछिल्ला वैज्ञानिक अध्ययनले हिमनदी वा हिमनदीसँग जोडिएको बरफ चट्टानको ठूलो भाग अचानक भत्किएर नदीमा खसेको र त्यसबाट विनाशकारी बाढी तथा लेदोको बहाव सिर्जना भएको सम्भावना बलियो देखाएका छन् ।
अन्तर्राष्ट्रिय केन्द्र फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले बुधवार साँझ गरेको प्रारम्भिक विश्लेषणमा उच्च हिमाली क्षेत्रमा ठूलो परिमाणमा बरफ र चट्टानको अवशेष खसेर भोटेकोशीको सहायक नदी लेन्दे खोलामा मिसिएको हुनसक्ने जनाएको छ । त्यसले पानी, हिलो, ढुंगा र लेदोसहितको बहाव एकाएक बढाएर तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी ल्याएको वैज्ञानिकहरूको प्रारम्भिक निष्कर्ष छ ।
घटनाको केन्द्र नेपाल–चीन सीमास्थित रसुवाको लाङटाङ क्षेत्र र तिब्बतको जिरोङ काउन्टी आसपासको उच्च हिमाली भूभागसँग जोडिएको देखिएको छ ।
इसिमोडका वैज्ञानिकहरू नेपाल र चीनका साझेदार संस्थासँग मिलेर घटनाको विस्तृत अध्ययन गरिरहेका छन् । प्रारम्भिक अध्ययनले लाङटाङ लिरुङ क्षेत्रबाट आएको हिम–चट्टानको ठूलो भाग लेन्दे खोलातर्फ खसेको हुनसक्ने सङ्केत गरेको छ । तर घटनाको ठ्याक्कै सुरुआती बिन्दु र प्रक्रियाबारे थप उपग्रह, भौगर्भिक तथा स्थलगत अध्ययन आवश्यक रहेको देखाएको छ ।
घटनापछि जमिन हल्लिएजस्तो कम्पन रेकर्ड भएकाले सुरुमा भूकम्पलाई सम्भावित कारण मानिएको थियो । तर वैज्ञानिक विश्लेषणले हिमनदी वा ठूलो बरफ–चट्टानको समूह अचानक तल खस्दा उत्पन्न हुने कम्पन निकै शक्तिशाली हुनसक्ने देखाएको छ । उपलब्ध भूकम्पीय अभिलेखको विश्लेषणमा यस्तो कम्पन ५ दशमलव २ म्याग्निच्युडको भूकम्प बराबरको सङ्केतसँग तुलना गरिएको छ । त्यसैले स्थानीयले भूकम्पजस्तो महसुस गर्नु अस्वाभाविक थिएन ।
इसिमोडका वैज्ञानिकहरूका अनुसार हिमालयको उच्च क्षेत्रमा तापक्रम वृद्धि, हिमनदीको तीव्र क्षय, जमिनको स्थिरता कमजोर हुनु र हिमताल विस्तारजस्ता प्रक्रियाले जोखिमलाई जटिल बनाइरहेका छन् ।
इसिमोडको पछिल्लो २०२६ को अध्ययनले हिन्दुकुश हिमालय क्षेत्रमा सन् २००० पछि हिमनदीको बरफ क्षय हुने दर त्यसअघिको तुलनामा दोब्बर भएको देखाएको छ । सन् १९७५ यता केही निगरानी गरिएका हिमनदीमा २७ मिटरभन्दा बढी बरफको मोटाइ गुमेको तथ्यसमेत अध्ययनले देखाएको छ । यसको अर्थ हिमाल केवल बिस्तारै पग्लिरहेको छैन । हिमनदी, हिमताल, चट्टान र जमेको माटोबीचको प्राकृतिक सन्तुलन नै परिवर्तन हुँदै गएको छ ।
इसिमोडको प्रारम्भिक विश्लेषणअनुसार बाढीको वेग र तीव्रता असाधारण थियो । तल्लो तटीय क्षेत्रमा केही स्थानमा ३० मिनेटमै नदीको पानीको सतह ७ देखि ९ मिटरसम्म बढेको अभिलेख गरिएको छ । यस्तो गतिमा आउने बाढीले पूर्वसूचना र उद्धारका लागि उपलब्ध समय अत्यन्तै छोटो बनाउँछ ।
बाढीको वेगसँगै ढुंगा, हिलो र चट्टान बगेकाले यसले सामान्य बाढीभन्दा धेरै विनाशकारी रूप लिएको वैज्ञानिकहरूको भनाइ छ । त्यसैले यो घटना केवल ‘बाढी’ मात्र होइन, हिमनदी–पहिरो–लेदो–बाढीको संयुक्त विपद्का रूपमा बुझ्नुपर्ने वैज्ञानिकहरुले बताएका छन् ।
चीनले घटनालाई नेपालतर्फबाट आएको मडस्लाइड अर्थात् पहिरो÷लेदोको बहावका रूपमा वर्णन गरेको छ । चिनियाँ सरकारी निकायका अनुसार नेपालमा भएको पहिरोले तिब्बतको जिरोङ काउन्टीस्थित जिरोङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पु¥याएको हो । चीनले बुधवार नै उच्चस्तरीय आपत्कालीन उद्धार संयन्त्र सक्रिय गरेको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको खोजी, जोखिममा रहेका नागरिकको स्थानान्तरण, घाइतेको उपचार तथा दोस्रो विपद् रोक्न निगरानी र पूर्वसूचना बलियो बनाउन निर्देशन दिइसक्नुभएको छ । चीनले जिरोङ क्षेत्रमा थप जोखिमबारे समेत सतर्कता अपनाएको छ । बिहीवार बिहानसम्म चिनियाँ पक्षले ३ जनाको मृत्यु र ५५८ जना सम्पर्कविहीन रहेको जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
चीनको जलस्रोत मन्त्रालयले जिरोङ आसपासको वर्षा, नदीको अवस्था तथा हिमनदी र हिमतालमा भइरहेको परिवर्तनसमेत अध्ययन गरिरहेको जनाएको छ । यसको अर्थ चीनले पनि घटनालाई केवल आकस्मिक बाढीका रूपमा होइन, हिमाली भूगोल र जलवायुजन्य जोखिमसँग जोडेर हेर्न थालेको देखिन्छ ।
नेपालका लागि खतरा कति ठूलो छ
नेपाल हिमताल र हिमनदीजन्य विपद्का दृष्टिले अत्यन्त संवेदनशील देश हो । इसिमोडको अध्ययनअनुसार नेपाल, तिब्बत र भारतका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा ३ हजार ६ सय २४ वटा हिमताल पहिचान गरिएका छन् । तीमध्ये २ हजार ७० नेपालमा र १ हजार ५ सय ९ तिब्बत स्वायत्त क्षेत्रमा छन् ।
अझ चिन्ताजनक कुरा, इसिमोडले नेपालमा २१ वटा सम्भावित रूपमा अत्यन्त जोखिमयुक्त हिमताल पहिचान गरेको छ । तीन नदी बेसिन समेटेर गरिएको अध्ययनमा कोशी बेसिनमा मात्रै ४२ वटा सम्भावित जोखिमयुक्त हिमताल रहेको र नेपालका २१ ताललाई विशेष निगरानी आवश्यक रहेको उल्लेख छ ।
यीमध्ये केही ताललाई उच्च जोखिम समूहमा राखिएको छ । च्छोरोल्पा र इम्जा हिमताल विगतदेखि नै विशेष निगरानी र जोखिम न्यूनीकरणको प्राथमिकतामा छन् ।
च्छोरोल्पाको सम्भावित विस्फोटबाट मात्रै करिब ६ हजार घरधुरी जोखिममा पर्न सक्ने इसिमोडको अध्ययनले देखाएको थियो । ताल वरपरको हिमनदी निरन्तर पछि हटिरहेको र ताल विस्तार हुँदै गएको अध्ययनले देखाएको छ । अर्थात्, रसुवाको घटना कुनै एक्लो कथा होइन । यो हिमालयमा बढ्दै गएको ठूलो सङ्कटको एउटा नयाँ अध्याय हो ।
नेपालमा अब कुन–कुन जोखिम बढ्दै छन्
वैज्ञानिकहरूका अनुसार हिमाली क्षेत्रमा जोखिम केवल हिमताल फुट्नुमा सीमित छैन । तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने, हिमताल विस्तार हुने, हिमनदी अगाडिको भाग भत्किने, पहिरो जाने, जमेको माटो तथा चट्टान कमजोर हुने र त्यसबाट नदीमा अचानक ठूलो परिमाणमा पानी तथा लेदो पस्ने जोखिम बढ्छ ।
यससँगै हिमताल विस्फोटजन्य बाढी, आइस–रक एभालञ्च, पहिरो, अचानक आउने बाढी, नदी थुनिने र थुनिएको पानी एक्कासि फुट्ने जस्ता क्रमिक विपद् एकपछि अर्को आउन सक्छन् । इसिमोडले यसअघि नेपालमा १९७७ यता २६ वटा हिमताल विस्फोटजन्य बाढी घटना अभिलेख भएको र तीमध्ये ११ वटा सीमापार प्रभाव पार्ने प्रकृतिका रहेको जनाएको छ ।
सोलुखुम्बुको थामेमा २०२४ मा भएको विपद्ले पनि यही जोखिम देखाइसकेको छ । इसिमोडको अध्ययनअनुसार त्यहाँ दुई हिमताल क्रमशः फुट्दा बाढी आएको थियो र त्यसले घर, विद्यालय, स्वास्थ्य संस्था तथा पुलमा ठूलो क्षति पु¥याएको थियो ।
जलवायु परिवर्तनको कति भूमिका
वैज्ञानिकहरू एउटा घटनालाई मात्र जलवायु परिवर्तनको कारण भनेर ठोकुवा गर्न सावधानी अपनाउँछन् । तर अहिलेको हिमाली परिवर्तनलाई जलवायु परिवर्तनबाट अलग गरेर हेर्न पनि सकिँदैन ।
पछिल्ला अध्ययनले हिन्दुकुश हिमालयका हिमनदीमा बरफ क्षयको गति तीव्र हुँदै गएको स्पष्ट देखाएका छन् । इसिमोडका अनुसार सन् २००० पछि हिमनदी क्षयको दर दोब्बर भएको छ । करिब दुई अर्ब मानिसको पानी, कृषि, ऊर्जा र जीविकोपार्जनसँग जोडिएको यो क्षेत्र तीव्र परिवर्तनको अवस्थामा पुगेको वैज्ञानिकहरूको चेतावनी छ ।
विश्वका विभिन्न हिमाली क्षेत्रमा भएका घटना पनि उस्तै सङ्केत गर्छन् । सन् २०२१ मा भारतको चमोलीमा भएको हिमनदीजन्य विपद्ले ठूलो मानवीय क्षति पु¥यायो । सिक्किममा २०२३ को हिमताल विस्फोटले ठूलो क्षति ग¥यो । नेपालमा थामे र अन्य हिमाली क्षेत्रमा भएका घटनाले पनि जोखिम बढ्दै गएको देखाएका छन् ।
रसुवा बाढीले एउटा कुरा प्रस्ट बनाएको छ । हिमालमा खतरा आउँछ भनेर थाहा पाएर मात्र पुग्दैन, खतरा आउनुअघि सूचना पनि पुग्नुपर्छ । नेपालले उच्च हिमाली क्षेत्रमा हिमनदी र हिमतालको निरन्तर उपग्रह तथा स्थलगत निगरानी गर्नुपर्नेछ । सम्भावित जोखिमयुक्त हिमतालमा स्वचालित सेन्सर, पानीको सतह मापन, क्यामेरा र तत्काल सूचना दिने प्रणाली विस्तार गर्नुपर्नेछ । चीनसँगै सीमापार नदी र हिमतालसम्बन्धी रियल–टाइम डेटा साझेदारी आवश्यक देखिएको छ ।
त्यस्तै, जोखिममा रहेका बस्ती, सडक, जलविद्युत् आयोजना र पर्यटकीय मार्गको नयाँ जोखिम नक्सा तयार गर्नुपर्नेछ । नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीलाई केवल उपकरणमा सीमित नराखी साइरनदेखि मोबाइल सन्देशसम्म स्थानीय नागरिकले बुझ्ने प्रणाली बनाउनुपर्नेछ ।
भोटेकोशीको भेलले घर, पुल र सडक मात्र बगाएको छैन । यसले नेपालको हिमाली जोखिम व्यवस्थापनको पुरानो सोचलाई पनि चुनौती दिएको छ ।
अझ ठूलो खतरा ः माथि अर्को ताल थुनिएको छ
चीनतर्फको जिरोङ क्षेत्रमा बाढीपछि नदी थुनिएर अर्को ताल बनेको र त्यो पूर्णरूपमा खुलिनसकेको जानकारी आएको छ । यस्तो अस्थायी प्राकृतिक बाँध अचानक फुटेमा अर्को ठूलो बाढी आउन सक्ने खतरा हुन्छ ।
चिनियाँ अधिकारीहरूले त्यस क्षेत्रको निगरानी बढाएका छन् ।
यसले नेपालका लागि पनि गम्भीर प्रश्न खडा गरेको छ । यदि हिमताल वा पहिरोले नदी थुन्यो भने त्यसको सूचना नेपालसम्म कति छिटो पुग्छ । बुधवारको घटनाले यही कमजोरी उजागर गरेको छ ।











प्रतिक्रिया