वर्षाका कारण सर्‍यो कांग्रेसको बन्द सत्र


काठमाडौँ।

वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने भनिएको चौथो दिनको बन्द सत्र प्रभावित भएको छ। यसअघि बिहान साढे १० बजेका लागि तय गरिएको बन्द सत्र विभिन्न कारणले पछि सरेकोमा अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि अब साँझ ४ बजे सञ्चालन गर्ने तयारी गरिएको छ।

बन्द सत्रलाई खाजा समयपछि साढे ११ बजेबाट सुरु गर्ने तयारी भए पनि मौसम प्रतिकूल भएपछि समय पुनः सारिएको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेशराज आचार्यले जानकारी दिए।

बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई टुंग्याएर पारित गर्ने कार्यसूची रहेको छ।

बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको फेसबुक पेजबाट हुने जनाइएको छ। साथै, अन्य सञ्चारमाध्यमले पनि बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने व्यवस्था गरिएको छ।

यसैबीच, नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत भोलि बिहान मतदान हुने कार्यक्रम रहेको छ।