रसुवा बाढी: अस्थिर हिमनदी की भौगोलिक बनाओट !

समाचार विश्लेषण

0
Shares

काठमाडौँ।

अहिले रसुवाको भोटेकोसीमा आएको बाढीको स्रोतको विषयमा विभिन्न अड्कलबाजीहरु भै रहेका छन् । चीनसंग जोडिएर फेक हल्ला समेत चलाईएको छ । जसको विषयमा नेपालको लागि चिनियाँ राजदुतावासले प्रष्टिकरण समेत दिइसकेको छ । 

बिहीबार बेलुकासम्मको विवरण अनुसार बाढीका कारण नेपाल तर्फको भूमिमा मृत्यु भएका २८९ जनाको शव भेटिएको छ । सयौँ सम्पर्क विहीन रहेको विवरणहरु प्राप्त भएका छन् । बिहीबार विहान ८ बजेसम्मको विवरण उल्लेख गर्दै चीनको तिब्बत तर्फको भूमीमा तीन जनाको मृत्यु भएको र ५५८ जना सम्पर्क विहीन भएको सिसीटिभी समाचारमा जनाईएको छ ।

रसुवाको भोटेकोसीमा आएको बाढीको विषयमा चीनको दक्षिणी साप्ताहिकका दुई पत्रकार नी ययाओ र ह्वाङ सिचीले विज्ञहरुसंगको वार्ताको आधारमा केही विश्लेषण प्रस्तुत गरेका छन् । उनीहरको भनाईमा नेपाल–चीन सीमाको महत्वपूर्ण मार्ग जिलोंग खोँच छोटो समयमै दुई पटक बाढी–पहिरोबाट अवरुद्ध भएको छ ।

यो क्षेत्रमा यसअघि २०२५ जुलाई ८ मा पनि हिमताल फुटेपछि आएको बाढी तथा पहिरोले ठूलो क्षति पु¥याएको थियो । त्यस घटनामा १७ जना चिनियाँ पक्षका मानिस सम्पर्कविहीन भएका र नेपाल–चीन सीमाको मैत्री पुल समेत बगाएको चीनको दक्षिणी साप्ताहिकका पत्रकारद्वय नी ययाओ र ह्वाङ सिचीले उल्लेख गरेका छन् ।
विज्ञहरु संगको कुराकानी पछिको विवरण अनुसार रसुवाको भोटेकोसीमा बाढी आउनुको मुख्य तीनवटा कारण रहेका छन् । 

पहिलो, अस्थिर बनेको हिमनदी

चीनको जिलोंग काउन्टी हिमालयको दक्षिणी फेदीमा अवस्थित छ । यसको दक्षिणतर्फ नेपालसँग सीमा जोडिएको छ । यो क्षेत्र चीन, नेपाल तथा दक्षिण एसियाबीचको महत्वपूर्ण व्यापारिक तथा आवागमन मार्ग पनि हो ।

०८३ भदौ १० गते (२०२६ अगस्ट २६) को घटनाले नेपालको रसुवा जिल्ला र चीनतर्फको तिब्बतको जिलोंग काउन्टी दुवैलाई प्रभावित गरेको छ । चिनियाँ अनुसन्धानकर्ताहरूको प्रारम्भिक अनुमानमा यसपटकको विपद्को मुख्य कारण बरफ र चट्टानसहितको उच्च हिमाली भाग खस्नु (ष्अभ–चयअप बखबबिलअजभ) हुन सक्छ । यसको मुख्य स्रोत क्षेत्र नेपालको लाङटाङ–लिरुङ हिमालको उत्तरी ढलान आसपास रहेको प्रारम्भिक अनुमान उनीहरुले गरेका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (ग्क्न्क्) का अनुसार भदौ १० गते (अगस्ट २६) मा नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको कम्पन रेकर्ड भएको थियो । पछि गरिएको विश्लेषणमा उक्त कम्पन सामान्य भूकम्प नभई हिमाली बरफ–चट्टान खस्ने र त्यसबाट उत्पन्न मलबे बग्ने घटनाका कारण सिर्जित कम्पन भएको निष्कर्षतर्फ संकेत गरिएको छ ।

चिनियाँ भूगर्भीय विपद् विशेषज्ञ फान सुआनमेईका अनुसार, हाल उपलब्ध प्रमाणले यो घटना उच्च स्थानमा रहेको बरफ–चट्टानको संरचना अस्थिर भएर खस्ने, त्यसपछि तीव्र गतिमा खोँचमा प्रवेश गर्ने र बाटोमा रहेका माटो, ढुंगा तथा अन्य सामग्रीलाई बगाउँदै ठूलो बाढी–पहिरोमा परिणत हुने प्रक्रियाका कारण भएको हुनुपर्छ ।

विशेषज्ञहरूका अनुसार हिमालय क्षेत्रमा पछिल्ला वर्षमा हिमनदी सम्बन्धी गतिविधि बढ्नुमा विश्वव्यापी तापक्रम वृद्धि र हिमनदी पग्लिनेसँग जोडिएको छ । अर्थात यसलाई जलवायु परिर्वतनसंग जोडेर हेरिएको छ ।
तापक्रम बढ्दा र वर्षा बढ्दा पानी चट्टान तथा हिमनदीभित्र प्रवेश गर्न सक्छ । यसले बरफ र चट्टानको संरचना कमजोर बनाउँदै अस्थिरता बढाउने विज्ञहरुको तर्क छ ।

दोस्रो, हिमनदी भोटेकोसीमा खस्दा तीव्र गतिमा तलतिर बगेको अनुमान

भदौ १० गते (अगस्ट २६) बिहान नेपालको उच्च हिमाली क्षेत्रमा रहेको एउटा हिमनदीको बरफसँगै चट्टानको ठूलो भाग पहाडबाट खसेको प्रारम्भिक अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार उच्च स्थानबाट बरफ र चट्टान खस्दा उत्पन्न हुने ऊर्जा निकै ठूलो हुन्छ र यसको प्रभाव सामान्य हिमताल फुटेर आउने बाढीभन्दा पनि शक्तिशाली हुन सक्छ ।

नेपालमा मनसुनको समय भएकाले जुनदेखि सेप्टेम्बरसम्म नदीहरूमा पानीको बहाव पनि ठूलो हुन्छ । त्यसैले हिम–चट्टानको ठूलो भाग नदीको खोँचमा खसेपछि माटो, ढुंगा र बरफसहितको पानी तीव्र गतिमा तलतिर बगेको हुन सक्ने विज्ञहरुको अनुमान छ ।

केही विशेषज्ञले बरफ–चट्टान नदीमा खसेर अस्थायी रूपमा नदी थुनेको र त्यसपछि उक्त अवरोध फुट्दा थप ठूलो बाढी आएको हुनसक्ने बताएका छन् । तर विशेषज्ञ फान सुआनमेईले हालसम्म प्राप्त तथ्यमा पहिले नदी थुनिएर त्यसपछि फुटेको प्रमाण स्पष्ट रूपमा नभेटिएको बताएका छन् । उनका अनुसार यसपटकको घटना सन् २०२१ मा भारतको चमोली क्षेत्रमा भएको बरफ–चट्टान खसेर भएको घटनासँग मिल्दोजुल्दो छ ।

तेस्रो, जिलोंग सीमा नाकाको भौगोलिक बनावट 

विशेषज्ञ ई. शाओल्याङले रसुवाको भोटेकोसीमा बाढी आउनुको कारण  जिलोंग सीमा नाकाको भौगोलिक बनावट पनि हुनसक्ने अनुमान गरेका छन् । उनका अनुसार जिलोंग सीमा नाका जिलोंग त्साङ्बु (जिलोंग नदी) र लुन्डे नदीको संगमस्थल नजिक रहेको छ । यहाँ दुई नदीको खोँच निकै साँघुरो छ र दुवैतर्फ ठाडा पहाड छन् । जसका कारण लुन्डे नदीबाट आएको ठूलो बाढी सिधै तल बगेर जानुपर्ने भए पनि नदीको धारले अगाडिको कडा चट्टानी पहाडमा ठोक्किँदा पानीको बहाव फर्किएर सीमा नाकाका संरचनातर्फ फैलिएको हुनसक्छ ।

यहि कारणले भन्सार भवन, सामान बोकेका सवारीसाधन, व्यापारिक सामग्रीलगायत संरचनामा ठूलो क्षति पुगेको अनुमान गर्न सकिने ई. शाओल्याङ बताउँछन् । नेपालतर्फ पनि यही बाढी–पहिरोले नदी किनारका बस्ती, बजार, पुल, जलविद्युत् आयोजना तथा पर्यटकीय क्षेत्रहरूमा ठूलो क्षति पु¥याएको उनको अनुमान छ ।
उल्लेखित कारणहरु अनुमानित हुन् । विपद्को वास्तविक स्रोत, बरफ–चट्टान खसेको स्थान र त्यसको आकार यकिन गर्न उच्च रिजोलुसनका भू–उपग्रह तस्बिरहरू आवश्यक पर्ने विशेषज्ञहरूले बताएका छन् । त्यसैले अहिले उपलब्ध विवरणहरूलाई प्रारम्भिक आकलनका रूपमा लिनुपर्ने विज्ञहरु बताउँछन् । अन्तिम निष्कर्षका लागि थप भू–उपग्रह तस्बिर, स्थलगत अध्ययन र अन्य वैज्ञानिक प्रमाणको विश्लेषण आवश्यक हुने विज्ञहरुको भनाई छ ।

(स्रोतः विभिन्न चिनियाँ सञ्चार माध्यमहरु)