चितवन ।
रसुवाबाट बाढीले बगाएर ल्याएका शव चितवनमा भेटिन सक्ने आशामा बेपत्ताका आफन्त भरतपुर अस्पतालको शवगृहबाहिर पुगेका छन्। बेपत्ता आफन्तको पहिचान हुन सक्ने आशामा उनीहरू बिहीबार बिहानैदेखि अस्पताल परिसरमा कुरिरहेका छन्।
भरतपुरका ठाकुरप्रसाद कँडेल र लीलावती सापकोटा माधव न्यौपाने र सबिन न्यौपानेको तस्बिर बोकेर भरतपुर अस्पताल पुगेका हुन्। नाताले लीलावतीका भाइ पर्ने दुवै युवक बुधबार तिब्बततर्फबाट नेपालमा आएको बाढीमा परेर बेपत्ता भएका हुन्।
परिवारका अनुसार माधव चीन–नेपाल आयात–निर्यात व्यवसायमा संलग्न थिए भने सबिन बैंकमा कार्यरत थिए। बाढीमा परेपछि उनीहरू सम्पर्कविहीन बनेका हुन्।
चितवनमा नारायणी तथा त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएका शव फेला पर्न थालेपछि आफन्तले उनीहरू पनि त्यहीँबाट बगाएर ल्याइएको हुन सक्ने आशा गरेका छन्। सोही आशामा तस्बिरसहित अस्पताल पुगेका आफन्तले शवगृहमा राखिएका शव हेरेर पहिचान गर्ने प्रयास गरेका थिए। तर, बिहीबारसम्म उनीहरूमध्ये कसैको पनि शव फेला नपरेको आफन्तले बताएका छन्।
बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा ठूलो मानवीय क्षति भएपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म शव आइपुग्ने क्रम बढेको छ। शवको पहिचानका लागि आफन्तहरू अस्पताल तथा प्रशासनको सम्पर्कमा पुग्ने क्रमसमेत बढेको छ।
प्रशासन र सुरक्षाकर्मीले नदी किनार तथा विभिन्न स्थानबाट फेला परेका शव सङ्कलन गरी भरतपुर अस्पताललगायत तोकिएका स्थानमा राख्ने व्यवस्था मिलाइरहेका छन्। बेपत्ताका आफन्तहरू भने आफ्ना परिवारका सदस्य भेटिने आशामा अस्पताल तथा नदी किनारमा पुगिरहेका छन्।














प्रतिक्रिया