प्रधानमन्त्री बालेन्द्र शाह आज दिउँसो भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो भारत प्रस्थान गर्ने कार्यक्रम छ ।
यस भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत सहभागी हुने प्रकाशमा आएको छ । निजी क्षेत्रबाट ५२ सदस्यीय टोलीसमेत आफ्नै खर्चमा यस भ्रमणमा सहभागी हुने कायक्रम रहेको छ । यसरी निजी क्षेत्रबाट आफ्नै खर्चमा भारत जानु भनेको यस भ्रमणप्रतिको चासो बढेको अनुमान गर्न सकिन्छ ।
यसअघिका प्रधानमन्त्रीहरुको भारत भ्रमणको तुलनामा यस भ्रमणलाई निकै चासोका रुपमा हेरिएको छ । यसभन्दा अघिका प्रधानमन्त्रीहरुको भारत भ्रमण हामी सर्वसाधारण नेपालीका लागि खासै चासो हुँदैनथ्यो । तर यसपटकको बलियो र एक्टिभ सरकारका रुपमा रहेका प्रधानमन्त्रीको भारत भ्रमणलाई सबैले चासोका रुपमा हेरिरहेका छन् । उहाँको भ्रमणलाई भारतले कत्तिको महत्व दिन्छ, भ्रमणमा कस्ता विषय र प्रसंगमा वार्ता हुन्छ र नेपालका लागि के उपलब्धि हासिल हुन्छ ? भन्ने कौतुहल हामीमा जाग्नु स्वाभाविक नै हो ।
मुख्य गरी सीमासम्बन्धी विवादको सम्बोधन हुन्छ कि हुँदैन ? यो सबैभन्दा बढी महत्वको विषय हो । हुन त भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा ऊर्जा सहकार्य, सम्पर्क सञ्जाल विस्तार तथा विभिन्न विकास परियोजनाबारे छलफल हुने कार्यक्रम छ भन्ने समाचार बाहिर आइसकेकाले भ्रमण उपलब्धिमूलक नै होला भन्न सकिन्छ । हाम्रो चाहना नै दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ होस् र विवादित कुराहरुको निरुपण होस् भन्ने हो । समग्रमा भन्दा प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिमूलक होस् भन्ने हामी सबैको चाहना हो ।
– सूर्यकान्त थापा, भक्तपुर ।








तपाईंको विचार लेख्नुहोस्