रसुवा ।
बिहानसम्म सबै कुरा सामान्य थियो । घरका आँगनमा मानिसहरू आफ्नै दैनिकीमा व्यस्त थिए । कसैले काम गरिरहेका थिए, कसैले घरको काम । भोटेकोशी र त्रिशूली नदी आफ्नो नियमित गतिमा बगिरहेका थिए । तर केही क्षणमै त्यो शान्त दृश्य एकाएक त्रासदीमा बदलियो ।
मैलुङका प्रेमबहादुर तामाङ घरछेउमा बसेर आफ्नो काम गरिरहनुभएको थियो । अचानक जमिन हल्लिएजस्तो भयो । उहाँलाई केहीबेर भूकम्प आएको जस्तो लाग्यो । उठेर बाहिर हेर्दा त्रिशूली नदी सामान्य अवस्थामा थिएन ।
कल्पनासमेत नगरेको वेगमा नदी उर्लिरहेको थियो ।‘भूकम्प आयो कि जस्तो लाग्यो । उठेर हेरेको त नदी असाध्यै ठूलो भएर आएको रहेछ’, तामाङ सम्झिनुहुन्छ– ‘मन आत्तियो । घरभित्र रहेकी श्रीमतीलाई बाहिर निकालेँ । हामी डाँडातिर लाग्दै थियौँ । हेर्दाहेर्दै पूरै गाउँ बग्यो ।’ उहाँका लागि त्यो केही मिनेटको घटना जीवनभर नमेटिने दुःस्वप्न बनेको छ । ‘यस्तो हुन्छ भन्ने कल्पना नै थिएन’, तामाङ भन्नुहुन्छ– ‘छिनभरमै सबै क्षेत्र मरुभूमिजस्तो भयो । यस्तो अवस्था आउला भनेर कसले कल्पना गरेको थियो र ।’
त्रिशूली र भोटेकोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सयौँ परिवारका लागि बुधवारको दिन पनि त्यस्तै रह्यो । कल्पना नगरेको विपत्ति, तयारी गर्न नपाएको समय र आँखैअगाडि उजाडिएको संसार । नदीको आवाज एकाएक बदलियो । पानीको सतह बढ्दै गयो । बाढीले आफ्नो बाटोमा पर्ने घर, पसल, सडक, पुल र संरचना छान्न भ्याएन । मानिसहरू ज्यान जोगाउन भागे । कतिपयले आफ्ना परिवारका सदस्यलाई तानेर सुरक्षित स्थानतर्फ लगे । कतिपय भने आफू बच्ने कि आफ्ना आफन्त खोज्ने भन्ने दोधारमै परे ।
तटीय क्षेत्रमा अहिले पनि बेचैनी छ । हिजोसम्म आफ्नै घर भएको ठाउँमा आज माटो, ढुंगा र बाढीले छाडेको भग्नावशेष मात्र देखिन्छ । कसैको घर छैन । कसैको पसल छैन । कसैको खेत छैन । धेरैलाई आफ्ना आफन्त कहाँ छन् भन्नेसमेत थाहा छैन ।
रमा नेपालका लागि पनि यो विपत्ति जीवनकै सबैभन्दा पीडादायी क्षण बनेको छ । ‘निमेषभरमै यस्तो प्रलयकारी चीजले सबै कुरा गर्छ भन्ने सोचेको भए हामी किन यहाँ बस्थ्यौँ र ?’ उहाँ भन्नुहुन्छ,– ‘केही छैन । जिन्दगीको कुनै भरोसा नै हुँदो रहेनछ ।’
उहाँका आँखाअगाडि बस्ती बग्यो । वर्षौँ लगाएर जोडेको सम्पत्ति क्षणभरमै हरायो । तर त्यो सम्पत्तिभन्दा ठूलो चिन्ता अहिले आफन्त र छिमेकीको हो । ‘सम्पत्ति भनेको केही होइन रहेछ । लोभ–लालच भनेको यस्तै रहेछ,’ नेपाल भन्नुहुन्छ– ‘यो जीवनमा नभोगेको कुरा भोगियो । भोलि के हुन्छ थाहा छैन । आफ्नै आँखाले बस्ती सबै बगेको देखियो । को कहाँ छन्, कसको अवस्था कस्तो छ, थाहा छैन ।’
उहाँको यो भनाइ बाढीले प्रभावित हजारौँ मानिसको साझा पीडाको प्रतिनिधि बनेको छ । विपद्ले मानिसलाई एउटा कठोर सत्य सम्झाइदिएको छ । सम्पत्ति जम्मा गर्न वर्षौँ लाग्छ, तर त्यसलाई बगाउन प्रकृतिलाई केही क्षण मात्र पर्याप्त हुन्छ । मानिसले सुरक्षित ठानेका घर, बलियो ठानेका सडक र स्थायी ठानेका संरचना नदीको भेलसामु कति कमजोर रहेछन् भन्ने यो बाढीले देखाइदिएको छ ।
सबैभन्दा पीडादायी कुरा त धेरै परिवारका लागि अहिले आफ्नो घर फर्किने ठाउँसमेत बाँकी छैन । उनीहरू उद्धारको पर्खाइमा छन् । आफन्तको खोजीमा छन् । कसैलाई आफ्नो परिवार सुरक्षित छ कि छैन भन्ने जानकारी छैन । मोबाइलमा फोन लाग्दैन । बाटो छैन । पुल छैन । सञ्चार छैन ।
कुनै आमाका लागि हराइरहेको छोरा चिन्ताको विषय बनेको छ । कुनै छोराका लागि सम्पर्कविहीन बुबाको अवस्था अज्ञात छ । कसैको श्रीमान् हराएका छन्, कसैकी श्रीमती । कसैले आफ्नो घर गुमाएका छन् भने कसैले आफ्नो जीवनभरको कमाइ ।
तर यही विपत्तिले अर्को प्रश्न पनि खडा गरेको छ । प्रकृतिसँग मानिसले गरेको विकासको दौड कति सुरक्षित छ । नदीको प्राकृतिक बहाव क्षेत्रमा बनेका बस्ती, सडक, पुल र जलविद्युत् संरचनामाथि विपत्तिले ठूलो प्रश्न उठाएको छ । बाढीले केवल भौतिक संरचना मात्र बगाएको छैन, उसले हाम्रो विपद् पूर्वतयारी, जोखिम मूल्याङ्कन र नदी तटीय क्षेत्रमा गरिने विकासको शैलीलाई समेत कठघरामा उभ्याएको छ ।
मैलुङका प्रेमबहादुर तामाङ र रमा नेपालजस्ता पीडितका कथा अहिले एउटै प्रश्नमा आएर ठोक्किन्छन, ‘भोलि के हुन्छ ?’ उनीहरूलाई अहिले ठूलो सपना चाहिएको छैन । नयाँ घरको नक्सा पनि चाहिएको छैन । चाहिएको छ त केवल हराइरहेका आफन्त भेटिऊन्, घाइतेको उपचार होस्, बाँचेकालाई सुरक्षित स्थान मिलोस् र सरकारले उनीहरूको दुःख देखोस् ।
बाढीले बगाएको घर सरकारले पुनः बनाउन सक्ला । सडक र पुल फेरि बनाउन सकिएला । विद्युत् आयोजना पुनःनिर्माण गर्न सकिएला । तर आँखैअगाडि बगेको आफन्तको सम्झना र छिनभरमै उजाडिएको संसार फर्काउन सकिँदैन ।
त्यसैले रसुवादेखि नुवाकोट र धादिङसम्मको यो त्रासदी केवल एउटा प्राकृतिक विपत्ति होइन । यो आगामी दिनका लागि चेतावनी पनि हो । प्रकृतिको संकेतलाई बेवास्ता गरेर गरिने विकास, कमजोर विपद् पूर्वतयारी र नदीको जोखिमलाई सामान्य ठान्ने प्रवृत्तिको मूल्य कति भयावह हुन सक्छ भन्ने चेतावनी ।
अहिले तटीय क्षेत्रमा बचेका मानिसहरू आकाशतिर हेर्छन्, नदीतिर हेर्छन् र आफ्ना आफन्तको बाटो हेर्छन् । उनीहरूको आँखामा एउटा मात्र प्रश्न छ—‘हामी बाँच्यौँ, तर अब हाम्रो संसार कहाँ छ ?’














प्रतिक्रिया