एनसीडीएद्वारा बाढी प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाउन आग्रह


काठमाडौँ।

नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा आफ्नो साथ र सहयोग रहने जनाएको छ।

संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले जारी गरेको विज्ञप्तिमा बाढीबाट बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धार गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको सहज उपलब्धता र नियमित आपूर्ति सुनिश्चित गर्न संघ आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

संघले आफ्ना सम्पूर्ण सदस्य तथा औषधी व्यवसायीहरूलाई स्थानीय प्रशासन, स्वास्थ्य संस्था तथा सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा मानवीय सेवाका लागि सक्दो सहयोग पुर्‍याउनसमेत आह्वान गरेको छ।

Skip This