काठमाडौं।
जनकपुरस्थित जनकपुर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टरमा कार्यरत चिकित्सक डा. शशी शेखर अधिकारीमाथि काम गरिरहेको समयमा एक समूहले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
संघका अनुसार घटनामा चिकित्सक अधिकारीका बुबामाथि समेत हातपात गरी मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। स्वास्थ्य सेवामा खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको यस्तो आक्रमण निन्दनीय भएको भन्दै संघले घटनाको भर्त्सना गरेको छ।
संघले स्वास्थ्य क्षेत्रलाई नै आतंकित पार्ने गरी भएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। दोषीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको हो।
स्वास्थ्यकर्मीमाथि हुने यस्ता आक्रमणले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई असुरक्षित बनाउने र स्वास्थ्य सेवा प्रवाहमा समेत असर पार्ने संघको भनाइ छ। चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने संघले जनाएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हिंसा, धम्की तथा दुर्व्यवहार रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराइएको छ।











प्रतिक्रिया