काठमाडौं।
बालिका तथा किशोरीमाथि बलात्कार, यौन दुव्र्यवहार, हिंसा र अनलाइन हिंसाका घटना बढ्दै गएको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको बीभत्स हत्यासहित देशका विभिन्न स्थानमा बालिका तथा किशोरीमाथि भइरहेका हिंसाका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सिजपले दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको हो । सिजपले दिवंगत गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
बालबालिकामाथि हुने हिंसा, शोषण र दुर्व्यवहारबाट संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भए पनि यस्ता घटना निरन्तर भइरहनु गम्भीर विषय भएको सिजपले जनाएको छ । यस्ता घटना नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५, मुलुकी अपराध संहिता, २०७४ तथा बालअधिकारसम्बन्धी महासन्धिलगायतका कानुनी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत रहेको उसको भनाइ छ ।
सिजपका अध्यक्ष गीता चौधरी र महासचिव राजु घिमिरेद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष तथा शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ । साथै पीडित तथा परिवारलाई न्याय, निःशुल्क कानुनी सहायता, स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ ।
सिजपले बालिका तथा किशोरीसहित सबै बालबालिकाले घर, विद्यालय, सार्वजनिक स्थल तथा अनलाइनमा सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ । विभिन्न समयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कार र शोषणका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गर्नुपर्ने पनि उसको माग छ ।
त्यस्तै, स्थानीय तह तथा विद्यालयमार्फत बालअधिकार, कानुनी साक्षरता र अभिभावक शिक्षालाई प्रभावकारी बनाउन तथा राष्ट्रिय मानव अधिकार आयोग र सम्बन्धित निकायमार्फत यस्ता घटनाको प्रभावकारी अनुगमन गर्न सिजपले आग्रह गरेको छ ।
पीडितको गोपनीयता र बाल मनोविज्ञानप्रति संवेदनशील हुन सञ्चारमाध्यमलाई आग्रह गर्दै सिजपले घटनासँग सम्बन्धित बीभत्स दृश्य, तस्बिर, भिडियो, पीडितको पहिचान खुल्ने फोटो, नाम वा अन्य व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न अनुरोध गरेको छ । त्यस्ता सामग्रीको अनियन्त्रित प्रसारले पीडितको गोपनीयता तथा सम्मानको अधिकारमा असर पार्नुका साथै अन्य बालबालिकामा समेत डर, त्रास र मनोसामाजिक असर पर्न सक्ने सिजपले जनाएको छ ।
बालबालिकामाथि हुने हिंसा अन्त्य गर्नु राज्य र समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सिजपले प्रत्येक बालबालिकाले भय, हिंसा र दुर्व्यवहाररहित वातावरणमा सुरक्षित, सम्मानित र मर्यादापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।











प्रतिक्रिया