पोखराको एउटा बालगृहमा करिब १३–१४ वर्षकी किशोरीले पहिलोपटक क्यामेरा समातिन् । त्यतिबेलासम्म उनको जीवनमा किताब किन्ने पैसासमेत थिएन, पेटभरि खाना हुँदैनथ्यो । उनीबाट आमाबाबुको काख नौ वर्षकै उमेरमा खोसिइसकेको थियो । तर, त्यही सानो उपकरणले उनलाई संसारलाई आफ्नै आँखाले हेर्ने र देखाउने शक्ति दियो । ती किशोरी थिइन् बेलमाया नेपाली ।
कास्कीको लहाचोकमा दलित परिवारमा जन्मिएकी बेलमाया छ छोराछोरीमध्ये कान्छी हुन् । आमाबाबु गुमेपछि बाल्यकाल अभावले घेरियो । घरमा खानेकुरा र किताबकै जोहो गर्ने पैसा नभएपछि दाजुभाइले उनलाई पोखराको बालगृह पठाए । अन्तर्राष्ट्रीय मिडिया ‘द गार्जियन’ को समीक्षाअनुसार जातीय भेदभाव र अन्य कारणको निरुत्साहले उनको पढाइ झन् कठिन बन्यो । जन्मैदेखि समाजले ‘तिमीबाट केही हुँदैन’ भन्दै आएको एउटी बालिकाको संघर्षको यात्रा यहीँबाट सुरु हुन्छ ।
सन २००६ मा बेलायती फिल्ममेकर सु कार्पेन्टरले बालगृहमा फोटो तालिम चलाइन् । त्यो तालिमले बेलमायालाई पहिलो पटक आफ्नो कुरा भन्ने माध्यम दियो । २००७ मा उनको तस्बिर किताबमा छापियो, र उनका फोटो नेपाल र लन्डनका प्रदर्शनीसम्म पुगे । तर, कथा यहीँ सकिएन । सु फर्किएपछि उनी क्यामेराबाट टाढिए । क्यामेरासम्म उनको पहुँच सहजै पुग्न सकेन । सपना भर्खरै मात्रै के अंकुराएको थियो, ताल्चा लाग्यो । उनको अर्को परीक्षा विवाहपछि आयो । २०११ मा विवाह भयो र छोरी जन्मिइन् ।
त्यसपछि उनी दैनिक ज्यालादारीमा गुजारा चलाउन बाध्य भइन् । परिवारबाट सहयोग नपाएपछि उनी घरेलु हिंसाको चपेटामा परिन्् । गाउँको पितृसत्तात्मक सोच र श्रीमान्को असहमतिबीच क्यामेरा समात्नु उनका लागि चुनौती र प्रतिरोध थियो । २०१४ मा सुले उनलाई फेरि भेटिन् र करिब डेढ वर्षको वृत्तचित्र तालिम सुरु भयो । त्यसपछि उनले अनेकौं पारिवारिक कठिनाइ र रोकावटका बाबजुद पनि क्यामेरा छोडिनन् ।
२०१७ मा बनेको फिल्म ‘एजुकेट आवर डटर्स’ काठमाडौंको किम्फ, टोरन्टो, सिकागो र बेलायतका फिल्म पर्वमा छनोट भयो । त्यसपछि थोम्सन रोयटर्स फाउन्डेसनका लागि फेवातालका महिला डुंगा चालकबारे ‘रोइङ अगेन्स्ट द फ्लो’ बनाइन्, र तेस्रो फिल्म ‘स्ट्रोङगर’ पनि महिलाको संघर्षमै केन्द्रित बन्यो । उनको क्यामेरा बारम्बार ती महिलातर्फ फर्किन्छ जसको आवाज सुनिँदैन, किनभने त्यो आवाजको मूल्य उनले आफैं चुकाएकी छन् । उनको जीवनको सबैभन्दा ठूलो दस्तावेज ‘आइ एम बेलमाया’ हो ।
सु कार्पेन्टरसँग सहनिर्देशन गरिएको यो फिल्मले चौध वर्षको जीवनयात्रा समेटेको छ । यसमा उनले आफैं धेरै फुटेज खिचेकी थिइन् । ६ जुन २०२१ मा यसले युके एसियन फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्रको पुरस्कार जित्यो ।
गार्जियनले फिल्मलाई नेपालका दलित महिलाहरूले भोग्ने पीडाको मार्मिक चित्रण र बेलमायाको उपलब्धिको प्रमाण भनेको छ । समीक्षकहरूले जीवनकथाको भावनात्मक प्रभावका कारण उनको सिर्जनशीलता केही ओझेलमा परेको र उनी आफू आफ्नै पुरस्कृत लघुफिल्ममा हेर्न पाए अझ राम्रो हुन्थ्यो भन्ने औंल्याएका छन् । यो टिप्पणीले उनी पीडित कथामा मात्र सीमित नरहेर कलाकारका रूपमा पनि हेरिन थालेको देखाउँछ ।
बेलमायाले २०१८ जनवरीमा काठमाडौंको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’ मा बोलेकी थिइन् । सन् २०२१ मा एसबीएससँग उनले छोरीसँगै बसेर फिल्म कार्यशाला चलाएकी थिइन् । कुनै समय बालगृहमा क्यामेराबाट वञ्चित उनी अहिले अरूलाई सिकाउने ठाउँमा पुगेकी छन् । बेलमायाको वास्तविकता एक व्यक्तिको संघर्षमा मात्र सीमित छैन ।
यसले जात, लिंग र गरिबीले एउटी बालिकाको भविष्य कसरी बाँध्न खोज्छ भन्ने देखाउँछ । साथै एउटा अवसर, एउटा क्यामेरा र एक जना सहयोगी हातले जीवन कसरी बदल्न सक्छ भन्ने पनि देखाउँछ । जसलाई आफ्नै समाजले सहजै जिउन दिएनन्, उसैले आज विश्व मञ्चमा नेपाली महिलाको कथा सुनाइरहेकी छन् ।








तपाईंको विचार लेख्नुहोस्