आठ पटकको अस्वीकारदेखि ३० करोड मानिस जोड्ने साम्राज्यसम्म

एरिक युआन र जुमको उत्प्रेरक यात्रा


आफ्नो सपनाको देश अमेरिका पुग्न मानिसले कति पटक कोसिस गर्न सक्लान त ? धेरैजसो मानिसहरू पहिलो वा दोस्रो गाँसमै ढुङ्गा लागेपछि आफ्नो लक्ष्य बदल्छन्, वा विधिको विधान ठानेर पछि हट्छन् । तर, चीनको एउटा साधारण मध्यमवर्गीय परिवारमा हुर्केका एरिक युआनका लागि अस्वीकारहरू हारका संकेत थिएनन् । ती सबै धैर्य र संकल्पका कठोर परीक्षाहरू थिए ।

भिसा अधिकारीले एकपटक होइन, दुईपटक होइन, लगातार आठ पटकसम्म उनको आवेदनमा अस्वीकारको मोहर लगाइदिँदा पनि एरिकको आँखामा सजिएको ठूलो सपनाको ज्योति अलिकति पनि धमिलो भएन । अन्ततः नवौँ प्रयासमा, सन् १९९७ मा जब भिसाको ढोका खुल्यो, तब २७ वर्षका एरिक आफ्ना सीमित अंग्रेजी शब्दहरू, गोजीको सामान्य रकम र हृदयभरि असीमित आत्मविश्वास बोकेर नयाँ संसारतर्फ कदम बढाउन सफल भए ।

कलेज जीवनमै मानिसहरूबीचको भौतिक दूरीलाई प्रविधिको पुलमार्फत घटाउने हुटहुटीले उनलाई भित्रैदेखि चिमोटिरहन्थ्यो । आफ्नी प्रेमिकालाई भेट्न चीनको कष्टकर रेल यात्रामा १० घण्टासम्म उभिएर जाँदा, ढिलो र थकाउने सफरका बीचमा उनले एउटा यस्तो प्रविधिको परिकल्पना गरेका थिए, जसले केवल एउटा बटनको थिचाइमा संसारका जुनसुकै कुनामा रहेका दुई मनहरूलाई आमुन्ने–सामुन्ने गराउन सकोस् ।

अमेरिका पुगेपछि उनी वेबएक्स नामक कम्पनीमा सुरुवाती इन्जिनियरका रूपमा जोडिए । भाषाको बाधा उनका लागि कामको अड्चन बनेन, किनकि उनी शब्दबाट भन्दा पनि आफ्नो अहोरात्रको मिहिनेत र कोडिङको अद्भुत क्षमताबाट बोल्न रुचाउँथे । निरन्तरको कठोर परिश्रमले उनलाई कम्पनीको शीर्ष स्थानसम्म पु¥यायो, जहाँ उनी आठ सयभन्दा बढी प्रतिभाशाली इन्जिनियरहरूको टोलीलाई कुशल नेतृत्व दिने स्थानमा उभिन सफल भए ।

तथापि, सफलताको त्यो उँचाइ र सुरक्षित भविष्यले पनि एरिकको अन्तरात्मालाई सन्तुष्टि दिन सकिरहेको थिएन । उनले निर्माण गरेको वेबएक्स सफ्टवेयर ग्राहकहरूका लागि सहज थिएन, त्यो ढिलो थियो, प्रयोग गर्न झन्झटिलो थियो र विभिन्न डिजिटल उपकरणहरूमा पटक–पटक अड्किने गथ्र्यो । आफ्ना प्रयोगकर्ताको असुविधालाई महसुस गर्दै एरिकले कम्पनीका उच्च अधिकारीहरूसामु यो प्रविधिलाई नयाँ सोच र सुगम तरिकाले पुनः निर्माण गर्ने क्रान्तिकारी प्रस्ताव राखे । तर, कर्पाेरेट संसारको परम्परागत ढर्राले उनको सिर्जनशील सोचलाई बुझ्न सकेन र सिस्को कम्पनीले उनको त्यो प्रस्ताव ठाडो अस्वीकार गरिदियो ।

त्यसपछि ४१ वर्षको परिपक्व उमेरमा एरिक युआनले आफ्नो जीवनको सबैभन्दा जोखिमपूर्ण र साहसिक निर्णय लिए । आकर्षक तलब, उच्च पद, समाजमा प्रतिष्ठा र भविष्यको सुनिश्चित सुरक्षालाई एकातिर पन्छाएर उनी रित्तो हात कम्पनीबाट बाहिरिने निर्णयमा पुगे । उनको दूरदर्शिता र इमानदार नेतृत्वमाथि अटूट विश्वास भएका करिब ४० जना निष्ठावान सहकर्मीहरूले पनि आफ्नो सुरक्षित जागिर छाडेर उनको यो अनजान यात्रामा साथ दिए ।

वेबएक्स र स्काइपजस्ता महाकाय कम्पनीहरूले भिडियो कन्फरेन्सिङको पूरै बजार कब्जा गरिसकेका र नयाँ खेलाडीका लागि कुनै ठाउँ बाँकी नभएको सिलिकन भ्यालीका अधिकांश दिग्गज लगानीकर्ताहरूले उनलाई हतोत्साहित पार्दै भनेका थिए । तर, अरूका सशंकित नजर र नकारात्मक टिप्पणीहरूले एरिकको अठोटलाई डगमगाउन दिएन ।

सन् २०११ मा उनले एउटा नयाँ कम्पनीको जग बसाले, जसले पछि ‘जुम’ को रूपमा सम्पूर्ण विश्वको सञ्चार माध्यमलाई नयाँ परिभाषा दियो । सन् २०१३ मा जुम सर्वसाधारणका लागि खुला गर्दा सुरुवाती दिनहरूको वृद्धि सुस्त र सामान्य नै थियो ।

तर, एरिकको ध्यान अल्पकालीन नाफामा भन्दा प्रयोगकर्ताको सहजता र गुणस्तरमा केन्द्रित थियो । सन् २०१९ को अन्त्यसम्म आइपुग्दा दैनिक करिब एक करोड मानिसहरू यसमा जोडिन थालिसकेका थिए । त्यसपछि, जब सन् २०२० मा विश्वव्यापी कोरोना महामारीले सिंगो मानव सभ्यतालाई घरभित्रै कैद गरिदियो, तब जुमको प्रयोगमा एउटा अभूतपूर्व र विस्फोटक परिवर्तन आयो ।

रातारात मानिसहरूका लागि जुम केवल एउटा एप मात्र रहेन, जीवन रक्षाको माध्यम बन्यो । सन् २०२० को अप्रिलसम्म आइपुग्दा यसको दैनिक प्रयोगकर्ताको संख्या ३० करोड नाघ्यो । कोभिड–१९ का कारण बन्द ढोकाभित्र ठप्प भएका विद्यालयहरू, सुनसान बनेका कार्यालयहरू, अस्पतालका सेवाहरू, देश चलाउने सरकारहरू र टुटेका पारिवारिक सम्बन्धहरूलाई जुमले पुनः जीवन्त बनाइदियो । जुन प्रविधिलाई सुरुमा बजारका विज्ञहरूले ‘ठाउँ नै नभएको व्यर्थ प्रयास’ भनेर लत्याएका थिए, त्यही प्रविधि विश्वकै सबैभन्दा महत्वपूर्ण र पक्का सञ्चारको मेरुदण्ड बन्न पुग्यो ।

एरिक युआनको यो वास्तविकता केवल जुम नामक एउटा सफल सफ्टवेयर निर्माण भएको प्राविधिक कथा मात्र होइन । यो त परिस्थितिसँग कहिल्यै नझुक्ने, अस्वीकारहरूलाई आफ्नो अठोटको इन्धन बनाउने र असफलतालाई अन्तिम निर्णय नमान्ने एउटा महान् योद्धाको संघर्षशील दस्ताबेज हो । आठ–आठ पटकसम्म भिसा अस्वीकृत हुँदा पनि जसले आफ्नो सपनालाई मर्न दिएनन्, र ४१ वर्षको उमेरमा स्थापित जीवन त्यागेर शून्यबाट सुरु गर्न जो डराएनन्, उनैले आज पूरै संसारलाई एउटै स्क्रिनमा जोडेर देखाइदिए ।

जीवनमा निरन्तर सुनिएका ‘नाइँ’ वा अस्वीकारहरूले तपाईंको क्षमता वा सपनाको मूल्य घटाउन सक्दैनन् । कहिलेकाहीँ सफलताको त्यो एउटा स्वर्ण ढोका खोल्नका लागि दर्जानौँ बन्द ढोकाहरूमा पटक–पटक धक्का दिनुपर्ने हुन्छ । यदि आज तपाईं पनि असफलता, अस्वीकार वा निराशाको अन्धकारसँग जुध्दै हुनुहुन्छ भने सम्झनुहोस्, एरिकको जस्तै तपाईंको धैर्य, मिहिनेत र अटूट विश्वास कायम छ भने, तपाईंले खोज्नुभएको त्यो ठूलो सफलता सायद तपाईंको अर्को एउटा अन्तिम प्रयासको पछाडि पर्खिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।