स्याङ्जा।
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्यामा हरेक वर्ष वृद्धि हुँदै गएको छ । कम लागतमा उत्पादकत्व बढाउने उद्देश्यले मुख्य गरी गाई, भैसी, बाख्रा र बंगुरमा स्थानीय किसानले कृत्रिम गर्भाधान गराउँदै आएका छन् । गएको आर्थिक वर्ष २०८२-८३ मा ६ हजार ६ सय ९५ पशुमा कृत्रिम गर्भाधान गराएका किसानले अघिल्लो वर्ष २०८१-८२ मा ५ हजार ४० पशुमा कृत्रिम गर्भाधान गराएका थिए । गएको वर्ष ५ हजार ३ सय ३० भैसी, १ हजार २ सय १८ गाई, ९७ बाख्रा र ५१ बंगुरसहित ६ हजार ६ सय ९५ पशुमा कृत्रिम गर्भाधान गराएको भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
त्यस्तै अघिल्लो वर्ष ३ हजार ८ सय २८ भैसी, १ हजार १८ गाई, १ सय १६ बाख्रा र १५ बंगुर गरी ५ हजार ४० पशुमा किसानले कृत्रिम गर्भाधान गराएका थिए । आर्थिक वर्ष २०८०-८१ मा २ हजार ६ सय ७७ भैसी, १ हजार १ सय २२ गाई र ४१ बाख्रा गरेर ३ हजार ८ सय ४० पशुमा कृत्रिम गर्भाधान गराएको सेवा कार्यालय प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयका अनुसार जिल्लाका स्थानीय तहसँग सहकार्य गर्दै पशुमा कृत्रिम गर्भाधान गरिएको छ । स्थानीय तहको अगुवाइ र लगानीमा उत्पादकत्व वृद्धि हुने अपेक्षासहित पशुमा कृत्रिम गर्भाधान गराउनेको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको छ । खासगरी सबैभन्दा धेरै भैसीमा कृत्रिम गर्भाधान गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
जिल्लाका ११ स्थानीय तहमध्ये आँधीखोला गाउँपालिकामा सबैभन्दा धेरै १ हजार ७ सय ९४ र सबैभन्दा कम बिरुवा गाउँपालिकामा ५६ पशुमा गएको वर्ष कृत्रिम गर्भाधान गरिएको छ । यस्तै गल्याङ् नगरपालिकामा १ हजार १ सय २७, वालिङ नगरपालिकामा ८ सय १३ र पुतलीबजार नगरपालिकामा ७ सय ७७ पशुमा कृत्रिम गर्भाधान गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी अर्जुनचौपारी गाउँपालिकामा ७ सय ५४, भेटेरीनरी अस्पतालमा ५ सय २३, भीरकोट नगरपालिकामा ४ सय ४, चापाकोट नगरपालिकामा १ सय ५२, फेदीखोला गाउँपालिकामा १ सय १५, हरिनास गाउँपालिकामा ९५ र कालीगण्डकी गाउँपालिकामा ८५ पशुमा कृत्रिम गर्भाधान गरिएको छ ।
नश्ल सुधार कार्यक्रमको प्रभावकारिता, कम लागतमा उत्पादन वृद्धि हुने र रागाँ तथा गोरु पाल्ने किसानको संख्यामा कमी आएसँगै कृत्रिम गर्भाधान गराउनेको संख्या वृद्धि हुँदै गएको कार्यालय प्रमुख डा. श्रेष्ठले बताउनुभयो । अन्य पशुमा केहि वर्षदेखि कृत्रिम गर्भाधान गराउँदै आएका जिल्लाका किसानले गएको वर्षदेखि बंगुरमा समेत कृत्रिम गर्भाधान गराउन थालेको डा. श्रेष्ठको भनाइ छ ।











प्रतिक्रिया