पिके हाइड्रोको निर्माण कार्य सुरु

0
Shares

ओखलढुङ्गा। 

ओखलढुङ्गा र रामेछाप जिल्लाको बिचमा रहेको लिखु नदीमा पिके हाइड्रो पावर विद्युत् गृहको निर्माण सुरु गरिने भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पिके हाइड्रो पावर विद्युत् गृहको निर्माण गर्ने भएको हो ।

प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय नागरिक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड बिच आयोजना निर्माण कार्य सुरु गर्ने सहमति भएकाले निर्माण कार्य सुरु गर्न लागिएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक रमेश प्रसाद न्यौपानेले बताएका छन् । 

कम्पनीले निर्माण कार्यको जिम्मेवारी शेर्पा हाइड्रो निर्माण कम्पनीलाई दिएको र थासक्य चाँडो निर्माणको थालनी गरिने सञ्चालक न्यौपानेको भनाई रहेको छ । करिब ५ अर्ब १९ करोड १९ लाख ६० हजारको लागतमा विद्युत् गृह निर्माण गर्न लागिएको विद्युत् निर्माण कम्पनी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जनाएको छ ।

विद्युत् गृह निर्माणका लागी छलफल गर्न यही भदौ ५ गतेका दिन प्रभावित क्षेत्रका स्थानीय नागरिक, प्रभावित क्षेत्रका जनप्रतिनिधि र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रतिनिधिहरू बिच छलफल गरिएको थियो । निर्माण कम्पनीले कुल लागतको १ दशमलव २ प्रतिशत रकम प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम मार्फत बिभिन्न सामाजिक कामका लागी खर्च गरिने कम्पनीका सञ्चालक न्यौपानेको भनाई रहेको छ ।

निर्माण कार्य सुरु गरिए पछि प्रभावित क्षेत्रका वडा अध्यक्षहरू सँगको सहकार्यमा प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम अन्तरगतको रकम वितरण गर्ने सहमति भएको छ । यसैगरी  विद्युत् निर्माणको क्रममा प्रभावित क्षेत्रका नागरिकहरूलाई सिपका आधारमा रोजगारीमा प्राथमिकता दिने, आयोजना प्रभावित क्षेत्रका नागरिकहरूले पाउनु पर्ने आधिकारिक शेयरको बारेमा समेत छलफल गरि निर्णय गरिएको छ ।

विद्युत् आयोजना निर्माणका लागी आवश्यक सहयोग गर्न प्रभावित क्षेत्रका सबै जनप्रतिनिधिहरू तयार रहेको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष डिल्लीराम बस्नेतले बताउनु भएको छ । विद्युत् गृह निर्माणको क्रममा स्थानीय स्तरमा रोजगारको अवसर प्राप्त हुने निर्माण सम्पन्न पश्चात् राज्यलाई समेत रोयल्टी प्राप्त हुने भएकाले सबैले विद्युत् निर्माण कार्यमा सहयोग गर्नु पर्ने उहाँको भनाई रहेको छ