लमजुङ।
लमजुङको बेसीशहरमा महिला मैत्री नीति, कार्यक्रम तथा बजेटका अवसर र चुनौतीबारे छलफल गरिएको छ । बिहीबार बेसीशहर नगरपालिका सभाहलमा आयोजित कार्यशाला तथा समीक्षा गोष्ठीमा सहभागी महिलाले स्थानीय तहको बजेटमा महिलाका वास्तविक आवश्यकता र समस्यालाई प्राथमिकताका साथ समेट्न माग गरेका छन् ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको साझेदारीमा आयोजित कार्यक्रममा महिलाले सीप तथा उद्यमशीलताका लागि तालिम सञ्चालन भए पनि त्यसपछि उत्पादन, बजारीकरण, अनुगमन तथा प्राविधिक सहयोगको अभाव रहेको गुनासो गरेका थिए।
सहभागी महिलाले महिला उद्यमीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा समस्या रहेको, पर्याप्त बजेट नहुँदा सोचेजति काम गर्न नसकिएको तथा महिला समूहले सञ्चालन गर्दै आएका आयआर्जनमूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट र प्राविधिक सहयोग नपाएको बताएका थिए ।
महिला समूहले व्यावसायिक रुपमा गर्दै आएको तरकारी खेती सिँचाइको अभावका कारण प्रभावित हुँदै गएको भन्दै उनीहरुले सिँचाइलाई स्थानीय तहको बजेटमा प्राथमिकता दिन माग गरेका थिए । समूहबाट उत्पादन हुँदै आएको ‘सजिलो झोला’ का लागि आवश्यक कच्चा पदार्थ सहज रुपमा उपलब्ध हुन नसकेको र उत्पादन तथा बजारीकरणसम्बन्धी थप तालिम आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
त्यस्तै, मौरीपालनसम्बन्धी तालिम लिए पनि तालिमपछिको अनुगमन र प्राविधिक सहयोग नपाएको भन्दै सहभागी महिलाले सीपलाई व्यवसायमा रुपान्तरण गर्न नियमित अनुगमन, थप तालिम तथा आवश्यक आर्थिक र प्राविधिक सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले महिला उद्यमशीलता प्रवद्र्धन, सीप विकास, कृषि तथा पशुपालन, सिँचाइ, उत्पादनको बजारीकरण र आयआर्जनका कार्यक्रमलाई स्थानीय तहको बजेटमा प्राथमिकता दिनुपर्ने माग गरेका छन् । साथै, नीति, कार्यक्रम तथा योजना निर्माणका क्रममा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।
आरसिडिसिका कार्यक्रम संयोजक हेमराज विमलीले स्वागत गर्दै कार्यशालाको मुख्य उद्देश्य स्थानीय तहमा महिलाको नेतृत्वमा रहेका संस्थालाई सशक्त बनाउँदै निर्णय प्रक्रियामा महिलाको सहभागिता र समावेशिता बढाउनु तथा महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीच समन्वय र सहकार्य स्थापित गर्नु रहेको बताए ।
नगरपालिकाका कार्यक्रम संयोजक मेघेन्द्र पोख्रेलले स्थानीय तहको योजना तथा बजेट तर्जुमा प्रक्रिया, नतिजामा आधारित योजना, लगानी, क्रियाकलाप, नतिजा, प्रभाव तथा प्रतिफलका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
आरसिडिसिका संस्थापक अध्यक्ष राजेन्द्र बोहोराले महिला मैत्री नीति, कार्यक्रम तथा बजेट निर्माणमा महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीचको सहकार्य तथा समन्वयका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सहभागीहरुको सुझाव तथा जिज्ञासाको जवाफ दिँदै नगर उपप्रमुख पदमा गुरुङले महिलाका समस्या र आवश्यकतालाई स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा समेट्दै जाने प्रतिबद्धता जनाइन् । महिलालाई आत्मनिर्भर बनाउन सीप विकाससँगै उत्पादन, उद्यमशीलता र बजारीकरणमा सहयोग आवश्यक रहेको उल्लेख गर्दै गुरुङले महिला समूहबाट आएका व्यावहारिक सुझावलाई आगामी योजना निर्माणमा प्राथमिकताका साथ समेट्ने बताइन् ।
महिला नेतृत्वका संस्था र स्थानीय सरकारबीच निरन्तर समन्वय तथा सहकार्य गर्दै महिलाको सहभागिता, समावेशिता र नेतृत्व विकासलाई थप प्रभावकारी बनाउने विषयमा पनि कार्यक्रममा जोड दिइएको थियो । आरसिडिसिका बजार संयोजक दुर्गा प्रसाद ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा २० भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।











प्रतिक्रिया