अमिताभ बच्चनले भाडामा दिए करोडौं मूल्यको सम्पत्ति मासिक ३३ लाख रुपैयाँ आम्दानी


बलिउडका महानायक अमिताभ बच्चन फेरि आफ्नो सम्पत्तिका कारण चर्चामा आएका छन्। उनी अहिले ‘कौन बनेगा करोडपति १८’ कार्यक्रम सञ्चालन गरिरहेका छन्। यसैबीच उनले मुम्बईको अन्धेरी वेस्टस्थित आफ्नो व्यावसायिक सम्पत्तिको तीन तला भाडामा दिएको खबर सार्वजनिक भएको छ।

रिपोर्टका अनुसार अमिताभ बच्चनले ओशिवारास्थित सिग्नेचर बिल्डिङका तीन माथिल्ला तला पोषणसम्बन्धी ब्रान्ड ‘ट्रुनेटिभ एफ एन्ड बी प्राइभेट लिमिटेड’लाई भाडामा दिएका हुन्। यसबापत उनले हरेक महिना ३३ लाख भारतीय रुपैयाँ भाडा पाउनेछन्। सम्पत्तिसम्बन्धी दर्ता कागजातअनुसार यो सम्झौता पाँच वर्षका लागि गरिएको हो।

तीनवटै तलाको कुल कार्पेट क्षेत्रफल करिब ८ हजार ४२८ वर्गफिट रहेको छ। सम्झौता १५ अगस्ट २०२६ देखि लागू भएको बताइएको छ। प्रतिवर्गफिट प्रतिमहिना करिब ३९२ भारतीय रुपैयाँ भाडा तोकिएको छ। पाँच वर्षको अवधिमा अमिताभले भाडाबाट करिब २१ करोड ८८ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ।

सम्झौताअनुसार कम्पनीले करिब १ करोड ९८ लाख भारतीय रुपैयाँ धरौटीसमेत जम्मा गरेको छ। साथै, प्रत्येक वर्ष भाडामा ५ प्रतिशत वृद्धि हुने प्रावधान राखिएको छ। कम्पनीले उक्त भवनमा तोकिएका पार्किङ क्षेत्रमा नौवटा गाडी पार्क गर्न पाउनेछ। यद्यपि अमिताभ बच्चन वा ट्रुनेटिभको तर्फबाट सम्झौताबारे अहिलेसम्म आधिकारिक प्रतिक्रिया आएको छैन।

अमिताभले यसअघि पनि मुम्बईमा आफ्नो व्यावसायिक सम्पत्ति भाडामा दिएका थिए। सन् २०२३ मा उनले मुम्बईको लोटस सिग्नेचर बिल्डिङका चारवटा कार्यालय युनिट वार्नर म्युजिक प्राइभेट लिमिटेडलाई भाडामा दिएका थिए। उक्त सम्झौताबाट उनले मासिक १७.३० लाख भारतीय रुपैयाँ भाडा पाउने बताइएको थियो। सो सम्झौता मार्च २०२४ देखि लागू भएको थियो र त्यसमा १२ वटा छुट्टै पार्किङ स्थान पनि समावेश थिए।

अमिताभ बच्चनले मुम्बईबाहेक अयोध्यामा पनि आफ्नो रियल इस्टेट लगानी बढाएका छन्। एचटी रियल इस्टेट समिटमा अभिनन्दन लोढाले अमिताभले अयोध्यामा जग्गा खरिद गर्न आफैं सम्पर्क गरेको बताएका थिए। उनका अनुसार आफू अस्ट्रेलियामा रहेका बेला राति करिब ३ बजे अमिताभको फोन आएको थियो।