काठमाडौँ।
नयाँ निर्माता जस्मिन श्रेष्ठ र पूजा गुरुङको पहिलो निर्माण प्रयास रहेको चलचित्र ‘हली यतिबेला दोस्रो सातामा प्रवेश गरी सफलताका साथ देशभर प्रदर्शन भइरहेको छ। सुरुवातमै ठूलो भड्किलो प्रचार र आक्रामक बजार रणनीतिबिना दर्शकमाझ आएको यो चलचित्रले आफ्नै मौलिक कथा, संवेदनशीलता र निरन्तरको मेहनतका कारण देशव्यापी रूपमा दर्शकहरूको मन जित्न सफल भएको छ।
फिल्म निर्माणको दौरानमा विभिन्न पक्षबाट अपेक्षित सहयोग नपाए पनि र बजारका केही चुनौतीहरू झेल्नुपरे तापनि निर्मात्री द्वय जस्मिन श्रेष्ठ र पूजा गुरुङले हरेस खाएका छैनन्। कतिपय हलहरूले सुरुमा उचित सो नदिए तापनि दर्शकहरू स्वतःस्फूर्त रूपमा हलसम्म पुग्नुले फिल्मप्रतिको उच्च जनचासो र आकर्षणलाई स्पष्ट पार्दछ। डिजीटल माध्यममा प्रचारप्रसार केही कमजोर देखिए पनि निर्माण युनिटले तल्लो तह, जिल्ला(जिल्ला, स्थानीय समुदाय तथा विद्यालय स्तरबाटै विद्यार्थी र अभिभावकहरूलाई हलसम्म भित्र्याउने प्रभावकारी रणनीति अपनाएको छ।
निर्मात्रीद्वय जस्मिन श्रेष्ठ र पूजा गुरुङ पनि हाम्रो ‘हली’ केवल व्यापार मात्र नभई एउटा पवित्र सपना र इमानदार प्रयास भएको बताउँछन्। फिल्म क्षेत्रभित्रका कतिपय व्यवहारले उनीहरुलाई दुःखी बनाएको छ । तर प्रचारमा केही कमी रहे पनि देशका जिल्ला(जिल्लाबाट विद्यार्थी, समुदाय र आम दर्शकले हलसम्म पुगेर दिनुभएको अपार मायाले उनीहरुलाई ठूलो हौसला मिलेको बताए । ‘दर्शकको यही साथ नै हाम्रो वास्तविक लगानीको सुरक्षा हो।’ निमात्री द्वयको भनाई छ।
निर्देशक ओम प्रतीकको परिपक्व निर्देशकीय दृष्टिकोण तथा कलाकारहरू प्रमोद दीप र सुजाता थापाको इमानदार अभिनयले निखारता पाएको ‘हली’ले स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो अवसर पाएको छ। साइप्रस र माल्दिभ्समा यसको सफल प्रदर्शन भइसकेको छ भने हङकङ र बेलायत मा पनि प्रदर्शनको मिति तय भइसकेको छ।
सुरुवाती चरणमा थुप्रै बाधा अड्चनबीच सुरु भएको यो यात्रा अहिले सामूहिक दर्शकीय उपस्थितिका कारण मजबुत बन्दै गएको छ। आगामी दिनमा ‘हली’ले अझ उत्कृष्ट व्यावसायिक सफलता हासिल गर्ने बलियो संकेत देखाएको छ। नयाँ पुस्ताका निर्माताहरूका लागि प्रेरणाको स्रोत बनेको यस चलचित्रको सफलता र लगानी सुरक्षित हुने देखिन्छ।











प्रतिक्रिया