बाजुरा।
बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडीमालिका मन्दिरमा यस वर्ष विगतको परम्परा तोड्दै भदौ १ गते अर्थात् नागपञ्चमीदेखि नै साताव्यापी पूजा–आराधना सुरु गरिएको छ।
हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुँदै आएको बडीमालिकामा दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै यस वर्ष मुख्य पूजाभन्दा करिब दश दिनअघि नै नियमित पूजा सुरु गरिएको बडीमालिका भगवती मन्दिरका पुजारी नेत्रराज पाध्यायले जानकारी दिए।
पाध्यायका अनुसार यस वर्षको मुख्य पूजा भदौ ११ गते हुनेछ। विगतमा एकै दिन ठूलो संख्यामा भक्तजन जम्मा हुँदा अत्यधिक भीड हुने भएकाले दर्शनार्थीलाई सहज बनाउन भदौ १ गतेदेखि नै पूजा आराधना सुरु गरिएको हो।
गत वर्ष बडीमालिका मन्दिरमा करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए। यस वर्ष धार्मिक पर्यटनप्रति बढ्दो आकर्षण, बडीमालिका क्षेत्रमा निर्माण भएको नयाँ मन्दिर र प्रचारप्रसारका कारण दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढेर एक लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।
बडीमालिकामा यस वर्ष मात्रै होइन, विगत एक महिनादेखि नै धार्मिक पर्यटक तथा तीर्थयात्रीको आगमन बढेको स्थानीय होटल व्यवसायी बताउँछन्। त्रिवेणीधाममा होटल सञ्चालन गर्दै आएका व्यवसायी वीरेन्द्रराज अयडीका अनुसार चैतदेखि नै तीर्थयात्री आउन थालेका थिए। साउन महिनामा आइपुग्दा दैनिक सयभन्दा बढी यात्रु त्रिवेणी क्षेत्रमा पुग्ने गरेको उनले बताए।
“चैतदेखि नै यात्रु आउन थालेका हुन्। साउनमा त दैनिक सयभन्दा बढी तीर्थयात्री पुग्ने गरेका छन्,” अयडीले भने।
चार दिनमा बडीमालिका दर्शन गर्ने परम्परा
धार्मिक मान्यताअनुसार बडीमालिका यात्राको आफ्नै मौलिक परम्परा छ। पहिलो दिन मार्तडीबाट सोतापाटनतर्फ यात्रा गर्ने, दोस्रो दिन त्रिवेणीधाममा पुगेर जाग्राम बस्ने र तेस्रो दिन बडीमालिका पुगेर साँझ भगवती माताको ध्यान तथा जाग्राम बस्ने परम्परा छ।
चौथो दिन बिहान बडीमालिका माताको पूजा–आराधना गरेपछि दर्शनार्थीहरू कोही नाटेश्वरी हुँदै फर्कने र कोही सदरमुकाम मार्तडी फर्किने गरेका छन्। पछिल्लो समयमा भने बूढीनन्दा–जगन्नाथ क्षेत्र हुँदै फर्कने तीर्थयात्रीको संख्या पनि बढ्दै गएको स्थानीयको भनाइ छ।
डोटी, बाजुरा र जुम्लाबाट सरकारी पूजा टोली
बडीमालिकाको पूजामा बाजुरा, डोटी र जुम्लाबाट सरकारी पूजा सामग्रीसहित टोली आउने पुरानो परम्परा छ। डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली साउन २८ गते नै बडीमालिकातर्फ प्रस्थान गरिसकेको बताइएको छ।
नेपालका विभिन्न जिल्लाबाट मात्रै नभई छिमेकी मुलुक भारतबाट समेत हरेक वर्ष ठूलो संख्यामा श्रद्धालु बडीमालिका दर्शनका लागि आउने गरेका छन्।
गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि मन्दिरको आकर्षण थप बढेको स्थानीय चन्द्र थापाले बताए। नयाँ मन्दिर, धार्मिक पर्यटनको प्रचारप्रसार र बडीमालिका क्षेत्रको प्राकृतिक सौन्दर्यका कारण यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढ्ने उनको भनाइ छ।
मेला व्यवस्थापनका लागि सुरक्षा र स्वास्थ्य तयारी
जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय गरी मेला व्यवस्थापनको तयारी भइरहेको उनले बताए। मेला व्यवस्थापनका लागि १४ बुँदे निर्णयसमेत गरिएको छ।
मन्दिर जाने बाटोमा संकेत चिन्ह, साइनबोर्ड तथा सूचना पाटी राखिने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ तथा मासुजन्य वस्तुको प्रयोग र बिक्रीमा रोक लगाइने निर्णय गरिएको स्थानिय सरेकारवालले वताए ।
दर्शनार्थीको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ। लेक लाग्ने, बिरामी पर्ने वा अन्य कारणले आपत्कालीन उद्धार गर्नुपर्ने अवस्था आए जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताए।
उनका अनुसार स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्नेछ भने आवश्यक स्वास्थ्य तथा आपत्कालीन उद्धार व्यवस्थापनमा नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन हुनेछन्।
बडीमालिका केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई बाजुराको पर्यटन विकासको महत्वपूर्ण आधारसमेत भएकाले यस वर्षको पूजा तथा मेलाले जिल्लाको धार्मिक पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
भौगोलिक रूपमा कठिन र उच्च हिमाली क्षेत्रमा रहेको बडीमालिकामा बढ्दो तीर्थयात्रीको चापसँगै यात्राको सुरक्षा, स्वास्थ्य, खानेपानी, आवास, सरसफाइ र सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन सके आगामी दिनमा बडीमालिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ।











प्रतिक्रिया