जाजरकोट।
अविरल वर्षापछि आएको पहिरोमा परी जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । शनिवार दिउँसोदेखि परेको वर्षापछि साँझ करिब ६ बजे लेदोसहितको पहिरो खस्दा तीन जना बेपत्ता भएका थिए । खोज तथा उद्धारका क्रममा ओमासिंह खत्री (५४), रति खत्री (७५) र भीमबहादुर कार्की (७०) को शव नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निकालेका हुन् ।
पहिरोमा परी गम्भीर घाइते केदार कार्की (५२) को उपचारका क्रममा नेपालगन्जस्थित मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक चारै जनाको आइतवार सामूहिक दाहसंस्कार गरिएको छ ।
पहिरोमा परी घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । दुई जनाको नेपालगन्ज र पाँच जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये रामबहादुर शाही र भद्रकली कार्कीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्धिसागर पुरीका अनुसार पहिराले एक दर्जन घरमा क्षति पुगेको करिब २ सय घर उच्च जोखिममा रहेका छन् । भेरी नगरपालिका–२ सहितका प्रभावित क्षेत्रमा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । पहिरोबाट विस्थापित १ सय ५० परिवारलाई त्रिभुवन आधारभूत विद्यालयमा राखिएको छ ।
भेरी नगरपालिकाका १, २, ३ र ४ वडाका विभिन्न बस्ती पहिरोको उच्च जोखिममा छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक तथा गैरीखाली–रिसाङ–पाँचकाटिया सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।
घर छाडेर विद्यालयमा आश्रय लिएका स्थानीय अझै त्रासमा छन् । अधिकांश घर जोखिममा रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ । स्थानीयले तत्काल बस्ती स्थानान्तरण नगरे थप ठूलो क्षति हुन सक्ने बताएका छन् ।











प्रतिक्रिया