सुदूरपश्चिममा मलको हाहाकार: मलको खोजीमा किसानहरु भौतारिदै, केन्द्रका अधिकारी पन्छिँदै

846
Shares

धनगढी

यतिबेला सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको हाहाकार भएको छ । यस प्रदेशको मुख्यबालीका रुपमा रहेको  धान खेतीकोलागि आवश्यक  रासायनिक मलको तीव्र अभाव देखिएको छ । मानो रोपेर मुरी उब्जाउने यो मुख्य समयमा युरिया, डीएपी र पोटास जस्ता अत्यावश्यक मल नपाउँदा यस क्षेत्रका किसानहरू निकै मर्कामा परेका छन् । खेतमा रोपेको धान गोड्ने र मल हाल्ने बेला भइसक्दा समेत मल नपाएपछि यस वर्ष धान उत्पादनमा भारी गिरावट आउने चिन्ताले किसानहरूलाई पिरोल्न थालेको छ । हरेक वर्षझैँ यस वर्ष पनि मलका लागि किसानहरू सुदूरपश्चिमको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालयमा धाइरहेका छन् । गत वर्ष मलको लागि जुन खालको सास्ती थियो, यस वर्ष पनि किसानले उस्तै नियति भोग्नुपरेको छ । धानकोलागि युरिया मल यो समयमा आवश्यक छ तर समय घर्केर मल हाल्नुको कुनै अर्थ नभएको किसानहरुले बताएपनि मल समयमा पाउने सम्भावना टर्दै गएको छ ।

 कैलालीको भजनीका किसान रामबहादुर चौधरीले आक्रोश पोख्दै दिनभरि लाइन बस्दा पनि रित्तो हात फर्कनुपरेको दुखेसो पोखे । खेतमा धान पहेँलिन थालिसकेकाले अब मल नहाले यो वर्ष धान उत्पादनमा कमी आउने उनको भनाई छ । त्यस्तै गुनासो जोशीपुरका किसान विक्रम चौधरी र कृष्णबहादुर चौधरीको पनि छ । आफूहरूले सरकारसँग बारम्बार मलको लागि आग्रह गरेको र गाउँपालिका तथा नगरपालिका धाउँदा  मल नपाएको गुनासो गरे ।  टीकापुरका किसान रामबहादुर खत्री र विनोद केसीले त बल्लतल्ल जेनेतेने उत्पादन गरेको धान, गहुँले पनि उचित मूल्य नपाउने र बेलैमा मल पनि नपाइने भएपछि आफूहरू दोहोरो मारमा परेर संकटमा परेको बताए । किसानहरू मल नपाएपछि आक्रोशित र निरास हुँदै स्थानीय तहका गाउँपालिकाका अध्यक्ष तथा नगरप्रमुखहरू कहाँ डेलिगेसन जाने गरेका छन्।

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मलका लागि किसानहरु पालिकामा आउने गरेको बताउनुभयो । मलको अभावमा उत्पादनमा समेत कमी आउने बताउनुभयो । केन्द्रीय कृषि मन्त्रीलाई फोन गरेर मल उपलब्ध गराउन अनुरोध गरेपनि सुनुवाई नगरेको गुनासो चौधरीको छ । आफू  पनि किसान भएकाले मलको खोजी गरेको तर कतै नभेटेको उहाँको भनाई छ । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले आफ्नो कार्यालयमा दैनिक पन्ध्र देखि बिस जना किसानहरू मलको माग गर्दै आउने गरेको बताए ।  किसानहरू मलका लागि कृषि सामग्रीकम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन  धनगढीमा धाइरहे पनि नपाएको गुनासो बारम्बार आउने गरेको उल्लेख गर्दै अध्यक्ष चौधरीले किसानको यो संकट समाधान गर्न समयमै मल उपलब्ध गराइदिन सरकारसँग जोडदार माग गरेका छन् । त्यस्तै, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पनि समयमा मल नपाउँदा उत्पादन घट्ने निश्चित भएको भन्दै चिन्ता व्यक्त गरे। किसानहरू चरम संकटमा रहेको र समयमै मल उपलब्ध गराउन माथिल्लो सरकारले चासो नदिँदा स्थानीय सरकारले किसानको आक्रोश सामना गर्नु परिरहेको अध्यक्ष चौधरीको भनाइ छ।

 भूमिगत रूपमा किसान छटपटाइरहँदा नियामक तथा जिम्मेवार निकाय कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयका उच्च अधिकारीहरू भने गैरजिम्मेवार बन्दै उत्तरदायित्वबाट पन्छिएका छन्। सुदूरपश्चिमको चरम अभाव र वितरण व्यवस्थापनबारे जानकारी लिन कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको वितरण व्यवस्थापन महाशाखाका प्रमुख विष्णु केसीलाई सम्पर्क गर्दा उनले आफू बाहिर रहेको भन्दै अहिले केही भन्न नसक्ने जवाफ दिए । महाशाखा प्रमुख केसीले यसबारे सूचना अधिकारीलाई फोन गरेर जानकारी लिन भन्दै पन्छाए । तर, केसीले तोकेका कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायलाई फोन गर्दा उनले झन् गैरजिम्मेवार जवाफ दिए । सूचना अधिकारी उपाध्यायले आफूलाई यसबारे केही थाहा नभएको भन्दै उल्टै वितरण महाशाखाकै प्रमुखसँग जानकारी लिन भन्दै  पन्छिए । आधिकारिक र जिम्मेवार निकायका उच्च अधिकारीहरूले नै एकअर्कालाई देखाएर जिम्मेवारी पन्छाउँदा मल आपूर्ति र वितरण प्रणाली कति भद्रगोल र अव्यवस्थित छ भन्ने छताछुल्ल भएको छ ।

 केन्द्रीय तहमा यस्तो अन्योल चलिरहँदा मल आपूर्ति गर्ने जिम्मा पाएका दुई सरकारी निकायको स्थानीय तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष पनि माग अनुरूपको मल उपलब्ध हुन सकेको छैन। कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका अनुसार यस वर्ष बीस हजार चार सय उन्चास मेट्रिक टन युरिया, दश हजार आठ सय बाउन्न मेट्रिक टन डीएपी र नौ सय मेट्रिक टन पोटास प्राप्त भएको थियो । गत वर्ष सोही  अवधिमा बीस हजार दुई सय छब्बीस मेट्रिक टन युरिया, तेह्र हजार एकचालिस  मेट्रिक टन डीएपी र छ सय तिरान्नब्बे मेट्रिक टन पोटास बिक्री वितरण भएको कार्यालयको तथ्याङ्क छ कम्पनीका सुदुरपश्चिम प्रमुख नवल बोगटीले जानकारी दिनुभयो ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनका क्षेत्रीय प्रबन्धक तेजबहादुर कुँवरका अनुसार यस वर्ष साल्ट ट्रेडिङमार्फत सात हजार पाँच सय एक मेट्रिक टन युरिया र सात हजार सात सय छयालिस मेट्रिक टन डीएपी, आठ सय छयानब्बे मेटिक टन पोटास  प्राप्त भएको छ । जब कि गत वर्ष छ हजार छ सय उन्सत्तरी  मेट्रिक टन युरिया, छ सय बाह्र मेट्रिक टन डीएपी र एक हजार सत्तरी मेट्रिक टन पोटास प्राप्त भएको थियो । सरकारी तथ्याङ्कले मल आयात र वितरण भएको देखाए पनि भौगोलिक विकटता, न्यून आपूर्ति र केन्द्रको लाचारीका कारण वास्तविक किसानको खेतसम्म मल पुग्न सकेको छैन। यदि समयमै मल उपलब्ध गराउनेतर्फ संघीय र प्रादेशिक सरकारले ठोस कदम नचाले यस वर्ष सुदूरपश्चिममा खाद्य सुरक्षाकै ठूलो संकट आउन सक्ने देखिएको किसानहरुको भनाई छ । नौ दशदिनमा युरिया भैरहवा आईपुग्ने खवर आएको छ सुदूरपश्चिममा कहिलेसम्म आइपुग्छ भन्ने कुने निश्चित नभएको कृषि सामग्री कम्पनी धनगढीका प्रमुख नवल वोगटीले बताउनुभयो ।