बाजुराको ताम्सुमा पहिरो:  एक जनाको मृत्यु, दुई घाइते

 तीन सडकखण्ड अवरुद्ध

188
Shares

 बाजुरा। 

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पहिरोमा परी बेपत्ता भएकी स्थानीय प्रतिभा थापाको शव सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त उद्धार तथा खोजीका क्रममा फेला परेको हो।

साउन २८ गते बेलुकीदेखि लगातार परेको वर्षाका कारण ताम्सु खोलामा पानीको बहाव बढेपछि पहिरो गएको हो। पहिरोले स्थानीय धर्मबहादुर थापा र कर्णबहादुर थापाको घरमा क्षति पुर्‍याएको छ। घटनामा धर्मबहादुर थापा र धौली रावल घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला पंहरी कायार्लय प्रमुख एब प्रहरी नायव उपरिक्षेक शैलेश्वरी बोहराको कमाणण्डमा गएको नेपाल प्रहरीको टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी उद्धार र खोजीमा परिचालन भएका थिए। लगातारको वर्षा र खोलामा बढेको पानीको बहावका कारण उद्धार कार्यमा कठिनायी भए पनि  सुरक्षाकर्मी र स्थानीयको निरन्तर प्रयासपछि बेपत्ता प्रतिभाको शव फेला पारिएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गए राति करिब १२ः१० बजे पहिरोका कारण मानिस घाइते भएको तथा घरमा क्षति पुगेको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बडिमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। खोलामा पानीको बहाव अत्यधिक भएकाले प्रारम्भिक टोलीलाई तत्काल घटनास्थल पुग्न कठिनाइ भएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरी चौकी बार्जुगाड र अस्थायी प्रहरी बेस क्याम्प बाजुराबाट थप प्रहरी टोली परिचालन गरिएको थियो। बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको थियो।

वर्षासँगै सडकखण्ड पनि अवरुद्ध

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरो तथा सडक अवरोधको समस्या थपिएको छ। साँफे–मार्तडी सडकखण्डअन्तर्गत सेरा–बल्ले सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। त्यसैगरी मार्तडी–कोल्टी सडकखण्ड र मार्तडी–गौमुल सडकखण्डसमेत अवरुद्ध भएका छन्।

सडक अवरुद्ध भएपछि जिल्लाका विभिन्न क्षेत्रमा यातायात आवागमन प्रभावित भएको छ। पहिरोका कारण सडक खुलाउन कठिनाइ भइरहेको र वर्षा नरोकिए थप स्थानमा समेत सडक अवरुद्ध हुन सक्ने जोखिम बढेको छ।

जिल्लाका खोलानाला, ग्रामीण सडक तथा पहाडी बस्तीमा पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासन र सुरक्षा निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई सम्भावित विपद्को अवस्था हेरी सुरक्षित स्थानमा रहन तथा अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडक तथा खोलानाला क्षेत्रमा नजान आग्रह गरिएको छ।

लगातारको वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा पनि क्षतिको विवरण आउन सक्ने भएकाले सुरक्षा निकायले घटनास्थलको निगरानी बढाएको छ। ताम्सुको घटनामा भएको क्षति तथा अन्य स्थानको अवस्था सम्बन्धमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। बाजुरामा वगत तन दिन देखि निरन्तर साउने झरी वर्षा भइरहेको छ ।