बाजुरा।
अविरल वर्षापछि आएको पहिरोका कारण बाजुराको सदरमुकाम मार्तडीसहित विभिन्न स्थानमा घर, गोठ, खेतबारी र विद्युत् संरचनामा क्षति पुगेको छ । पहिरोका कारण शनिवार दिउँसोदेखि अएको अविरल वर्षा पछि बडीमालिका नगरपालिका–९ मा दुई वटा गोरु मरेका छन् भने बडीमालिका–९ कै एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटका अनुसार गए रातिदेखि परेको लगातारको वर्षाका कारण मार्तडी क्षेत्रका विभिन्न स्थानमा घर तथा गोठमाथिबाट पहिरो खसेको हो ।
बडीमालिका नगरपालिका–९ का मोती उखेडाको भुईँतले गोठमाथिबाट पहिरो खस्दा गोठमा रहेका दुई वटा गोरु पुरिएर मरेका छन् ।
बडीमालिका–८ कोठ्याराका नरी रावलको दुई तले घरमाथिबाट पहिरो खस्दा घरमा आंशिक क्षति पुगेको छ । पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक भैँसी र एक पाडोसमेत पुरिएका थिए । प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दुवै चौपायालाई जीवितै उद्धार गरिएको भाटले बताए ।
बडीमालिका–९ का धनबहादुर विक र तुले लुहारको गोठमाथिबाट पहिरो खस्दा विद्युत् लाइनमा क्षति पुगेको छ । पहिरोका कारण खाद्यान्न तथा लत्ताकपडा क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही वडाका करे थापाको दुई तले पक्की घरको भित्तो र आँगनमा पहिरोले क्षति पुर्याएको छ । जंग ओखेडाको गाईगोठको आँगनमा पनि पहिरोले क्षति पुगेको छ ।
दीपक विकको टिनले बनेको घरमाथिबाट पहिरो खस्दा घर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । पहिरोमा खाद्यान्न, लत्ताकपडा तथा भाँडावर्तन पुरिएर क्षति भएको छ ।
साँफे–मार्तडी सडक ठाउँ–ठाउँमा अवरुद्ध
लगातारको वर्षाका कारण साँफे–मार्तडी राजमार्ग शनिबार मध्यरातदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्गअन्तर्गत जडाङ्गा, रापक, सुवाकाँध, सेलाघाट र मार्तडी कारागार नजिकलगायत विभिन्न स्थानमा पहिरो खसेको छ ।
सडक डिभिजन कार्यालय साँफेबगरको जेसीबी प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरी निरीक्षक भाटले जानकारी दिए । धेरै स्थानमा पहिरो खसेकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।
मार्तडी–कोल्टी सडकखण्डसमेत अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि जिल्लाका विभिन्न क्षेत्रमा यातायात प्रभावित भएको छ ।
सेलाघाट क्षेत्रमा बाढी र पहिरोको जोखिम
लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–९ सेलाघाट क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय टेकबहादुर विष्टका अनुसार वीरेखोलाको बहाव बढेपछि सेलाघाट क्षेत्रका केही बस्ती जोखिममा परेका छन् । जोखिमका कारण केही स्थानीयवासी रातको समयमा घरभन्दा सुरक्षित स्थानतर्फ गएको उनले बताए ।“रातभरि नसुतेर स्थानीयहरू घरमाथिको सुरक्षित ठाउँमा गएर बसे,” विष्टले भने ।स्थानीय वीरबहादुर थापाका अनुसार वर्षाका कारण सेलाघाट क्षेत्रका केही खेतीयोग्य जमिनमा समेत क्षति पुगेको छ ।“खेत सबै बगरमा परिणत भयो,” उनले भने ।
स्थानीयवासीका अनुसार रापक, सुवाकाँध, सेलाघाटलगायतका स्थानमा पहिरो खसेको छ । ती स्थानमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
मार्तडी बजारमा नहर थुनिँदा घरभित्र पस्यो पानी
वर्षाका कारण मार्तडी बजार क्षेत्रको नहर थुनिएपछि पानी घरभित्र पसेको थियो । बडीमालिका नगरपालिकाले स्काभेटर तथा डोजर प्रयोग गरी नहर खुलाएको जनाएको छ ।
नगरपालिकाले अहिले अवरुद्ध सडक खुलाउन पनि डोजर प्रयोग गरिरहेको नगरपालिकाका उपप्रमुख नन्दा थापाले जानकारी दिइन् ।
ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव, मूल्यवृद्धिको गुनासो
सडक अवरुद्ध भएपछि जिल्लामा ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समेत समस्या देखिन थालेको छ । स्थानीयवासीले बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना हुन थालेको तथा मूल्यसमेत बढ्न थालेको गुनासो गरेका छन् ।सडक लामो समय अवरुद्ध भएमा खाद्यान्न, ग्यास, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा थप समस्या आउन सक्ने स्थानीयको चिन्ता छ ।
विद्युत् सेवा अवरुद्ध
अविरल वर्षासँगै विभिन्न स्थानमा विद्युत्का पोल तथा लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका अनुसार शनिबार मध्यराति करिब १२ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । क्षतिग्रस्त संरचनाको अवस्था हेरी मर्मत तथा पुनः सञ्चालनको काम अघि बढाइने जनाइएको छ ।
सडक र विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाको दैनिक जनजीवन तथा यातायात प्रभावित भएको छ । स्थानीय तह, प्रहरी तथा सम्बन्धित निकायले क्षतिको विवरण सङ्कलन गर्नुका साथै अवरुद्ध सडक खुलाउने काम गरिरहेका छन् ।
लगातार वर्षा भइरहेकाले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रमा स्थानीयवासीलाई सतर्क रहन र जोखिम देखिए सुरक्षित स्थानमा जान स्थानीय प्रहरी प्रशासनले आग्रह गरिएको छ ।बाजुरामा ये समाचारपत्र तयार पार्दा सम्म निरन्तर वर्षा भइरहेको छ ।












प्रतिक्रिया