काठमाडौं ।
नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको ३१ दिनमा २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस विवरणअनुसार फिल्मले यो सफलता हासिल गरेको हो।
कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’ले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको छ। बोर्डको तथ्यांकअनुसार ३१ दिनसम्म फिल्म हेर्न हल पुगेका दर्शकको संख्या ८ लाख ५५ हजारभन्दा बढी पुगेको छ।
लगातार राम्रो व्यापार गरिरहेको ‘गौंथली’ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मकाे सूचीमा दोस्रो स्थानमा पुगेको बताइएको छ। फिल्मको कमाइ र दर्शक संख्या दुवैलाई नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।
यता, प्रदर्शनरत अर्को फिल्म ‘कमला मिस’को व्यापार भने निकै कमजोर देखिएको छ। नीर शाहको निर्देशनमा बनेको यो फिल्मले आइतबारसम्म २ लाख ६१ हजार रुपैयाँ ग्रस कमाएको छ। फिल्म हेर्ने दर्शकको संख्या ७१८ जना मात्र रहेको छ।
त्यस्तै अर्को प्रदर्शनरत फिल्म ‘हली’ले २१ लाख ७७ हजार रुपैयाँ ग्रस कमाएको छ। उक्त फिल्मलाई हालसम्म ७ हजार ७१० दर्शकले हेरेका छन्।











प्रतिक्रिया