गौरी मल्ल र रेखा थापादेखि अर्जुन सापकोटासम्म एउटै भिडियोमा


लोकदोहोरीमा आफ्नो छुट्टै पहिचान बनाएका गायक अर्जुन सापकोटा अब फिल्मी गायनमा पनि सुनिने भएका छन्। गायनसंगै संगीत सिर्जनामा समेत सक्रिय सापकोटाले फिल्म ककाकिकीको शीर्ष गीतमार्फत फिल्मी गायनमा डेब्यु गर्न लागेका हुन्।

आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्मको शीर्ष गीतमा उनले मेलिना राईसँग स्वर दिएका छन्। उनले गीतको संगीत र हुकलाइनसमेत तयार गरेका छन्। सन्तोष सापकोटाको शब्द रहेको गीतको भिडियोको छायांकन पूरा भइसकेको छ। निर्देशक बिक्की अग्रवालका अनुसार फिल्मको कथामा गाउँमा हुने सेलिब्रेशनलाई केन्द्रमा राखेर गीतको भिडियो तयार गरिएको छ। जर्सिङ पौवामा गरिएको छाया“कनमा ककाकिकीका अधिकांश कलाकारलाई समेटिएको छ। गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत कलाकार भिडियोमा देखिनेछन्। गीतको भिडियोमा अर्जुन आफैंले पनि नृत्य गरेका छन्। उनलाई पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले साथ दिएका छन्। भिडियोको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका छन्।

पोस्ट प्रोडक्सन अन्तिम चरणमा पुगेको फिल्ममा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतका कलाकारले अभिनय गरेका छन्। श्रद्धा प्रसाईं र सुमित्रा थापाद्वारा निर्मित फिल्मको पटकथा निर्देशक अग्रवालस“गै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्, फिल्मको डिआपी सुदिप बरालको रहेको छ।