लमजुङमा प्रतिलिपि नागरिकता लिनेमा महिला अधिक

0
Shares

लमजुङ। 

लमजुङमा गएको आर्थिक वर्षमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी देखिएका छन् । गत आर्थिक वर्ष २०८२-०८३ मा जिल्ला प्रशासन कार्यालय लमजुङबाट चारहजार पाँचसय ३६ जनाले नयाँ नागरिकता लिँदा पाँच हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका छन् ।

हरेक क्षेत्रमा नागरिकता अनिवार्य हुँदा यसको बढी प्रयोग, नागरिकले जथाभाबी नागरिकता राख्दा, चाडै च्यातिने हुँदा प्रतिलिपि लिनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार प्रतिलिपि लिनेमा पनि पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । 

महिलाले अविवाहित हुँदा बनाएको नागरिकता विवाह पश्चात् पतिको नाम कायम गरी बनाउने, कतिपय अवस्थामा सम्बन्ध विच्छेद भएपछि पुन नागरिकता निकाल्ने हुँदा पनि प्रतिलिपि नागरिकता बनाउने महिलाको संख्या बढी देखिएको प्रशासकीय अधिकृत तिमिल्सीनाले बताउनुभयो । 

यसका साथ गत आर्थिक वर्षमा ६ जनाले नेपाली नागरिकताको प्रमाण पत्र त्याग गरेका छन् भने २१ जनाले आमाको नामबाट नागरिकता लिएको  जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो । 

सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १४ जनाले गैर आवसिय नागरिकता लिएका छन् भने चार जनाले वैवाहिक अङ्गीकृत नागरिकता समेत लिएका छन् । वैवाहिक अङ्गीकृत नागरिकता लिने मध्ये दुई जनाले नयाँ नागरिकता लिएका हुन् भने दुई जनाले प्रतिलिपि नागरिकता लिएको प्रशासनले जनाएको छ । 

आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भएपनि अझैपनि केही कानुनी जटिलताका कारण सो प्रकृतिको नागरिकता वितरण गर्न सहज नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानुनी व्यवस्था अनुसार बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने रहेको तर कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाण पत्रमा बाबुको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा सहजै नागरिकता वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ ।