काठमाडौं।
वर्षायाम सुरु भएसँगै झापामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दै गएको छ। पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या १० पुगेको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म पुष्टि भएका १० संक्रमितमध्ये पाँचजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। यस्तै दुईजना उपचाररत छन् भने तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
जिल्लामा हालसम्म मेचीनगरका चार, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एकजनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमितमध्ये एकजना सात महिनाका बालकसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो।
स्वास्थ्य कार्यालयले वर्षायाममा लामखुट्टेको प्रजनन बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्ने जनाएको छ। जनस्वास्थ्य निरीक्षक श्रेष्ठले घर वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्न, पूर्ण बाहुला भएका कपडा लगाउन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
जापानिज इन्सेफ्लाइटिस भाइरसजन्य रोग हो, जुन संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। समयमै उपचार नपाएमा यसले मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्ने भएकाले उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का लाग्ने वा चेतनामा समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुग्न चिकित्सकले सुझाव दिएका छन्।











प्रतिक्रिया