काठमाडौं ।
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ अन्तर्गत इन्फा अवार्डमा नेपाली फिल्मका वरिष्ठदेखि नयाँ पुस्तासम्मका कलाकारले विभिन्न विधामा अवार्ड जितेका छन्। शनिबार काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न भव्य समारोहमा निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित हुँदा मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। नविन चौहान उत्कृष्ट निर्देशक घोषित भए भने ‘ऊनको स्वीटर’ले उत्कृष्ट फिल्मको मुख्य अवार्ड जित्यो।
लोकप्रिय विधामा भने पल शाह र जसिता गुरुङले बाजी मारे। पल शाह लोकप्रिय अभिनेता तथा जसिता गुरुङ लोकप्रिय अभिनेत्री घोषित भए। दर्शकको रोजाइमा आफूलाई अब्बल सावित गर्दै दुवैले लोकप्रियताको अवार्ड हात पारे।
इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको समारोहको टाइटल स्पोन्सर दुगर ग्रुप रहेको थियो। नेपाली फिल्म, कलाकार, संगीतकर्मी तथा प्राविधिकको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको समारोहमा फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उल्लेखनीय सहभागिता थियो।
यस वर्षको अवार्डका लागि २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी फिल्मलाई विभिन्न विधामा प्रतिस्पर्धामा सहभागी गराइएको थियो। प्रत्येक विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको थियो भने निर्णायक मण्डलले तीमध्येबाट विजेता चयन गरेको आयोजकले जनाएको छ।
निर्णायक मण्डलको संयोजकमा हरिहर शर्मा तथा सदस्यमा गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा रहेका थिए।
मुख्य विधातर्फ ‘परान’बाट निर शाह र ‘ऊनको स्वीटर’बाट विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। ‘ऊनको स्वीटर’बाटै मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। यही फिल्मका निर्देशक नविन चौहान उत्कृष्ट निर्देशकसँगै उत्कृष्ट पटकथाकार पनि घोषित भए।
‘ऊनको स्वीटर’ले उत्कृष्ट फिल्मको अवार्ड जित्दै यस वर्षको इन्फा अवार्डमा आफ्नो बलियो उपस्थिति देखायो। फिल्मले अभिनय, निर्देशन र पटकथासहित महत्वपूर्ण विधामा अवार्ड हात पार्न सफल भयो।
संगीततर्फ ‘काफ्नले’बाट झुमा लिम्बु उत्कृष्ट पार्श्व गायिका बनिन्। ‘फुलहरु’बाट सुजन चापागाईंले उत्कृष्ट पार्श्व गायकसँगै उत्कृष्ट संगीतकारको अवार्ड पनि जिते। सोही फिल्मका लागि हर्क साउद उत्कृष्ट गीतकार घोषित भए।
‘जेरी अन टप’ले पनि विभिन्न विधामा सफलता हासिल गर्यो। फिल्मबाट मोहक श्रेष्ठ उत्कृष्ट पार्श्व संगीत, निमेश श्रेष्ठ उत्कृष्ट सम्पादन तथा दुलिप रेग्मी उत्कृष्ट छायाँकार घोषित भए। यही फिल्मबाट आँचल शर्मा उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जित्न सफल भइन्।
अभिनयका अन्य विधामा ‘दि ब्लू लाइट’बाट सृष्टि श्रेष्ठ उत्कृष्ट खलपात्र, ‘अभिमन्यु’बाट प्रकाश दाहाल उत्कृष्ट सह–अभिनेता, ‘हर्ष’बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता तथा ‘श्री बुकुरो’बाट लक्ष्मी गिरी उत्कृष्ट चरित्र अभिनेत्री घोषित भए।
नयाँ पुस्तातर्फ ‘झरिपछिको इन्द्रेणी’बाट बिमोचन दवाडी उत्कृष्ट नव–अभिनेता तथा ‘माइतीघर’बाट श्यामाश्री शेर्पा उत्कृष्ट नव–अभिनेत्री घोषित भइन्। उषा उप्रेतीले इन्करेजमेन्ट अवार्ड–अभिनेत्री प्राप्त गरिन्।
नृत्य तथा द्वन्द्वतर्फ ‘मोहर’को ‘चाहिँदैन’ गीतका लागि रामजी लामिछाने उत्कृष्ट नृत्य निर्देशक तथा ‘राम नाम सत्य’बाट श्री श्रेष्ठ उत्कृष्ट द्वन्द्व निर्देशक घोषित भए।
जुरी अवार्डमा ‘सिटामोल’बाट सौगात मल्ल उत्कृष्ट अभिनेता घोषित भए। ‘रमिताको पिरती’बाट शुदिप्ता अधिकारीले जुरी अवार्ड–निर्देशक प्राप्त गरिन् भने ‘गुन्यो चोलो’ले जुरी अवार्ड–फिल्मको सम्मान पायो।
कविता नेपालीले पर्फमर अफ द इयरको अवार्ड जितिन्। समारोहमा पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा तथा मिङ्मा डी. लेप्चालगायतका कलाकारले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए।
समारोहको विशेष आकर्षण वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ बने। नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो।
इन्फा अवार्डको तेस्रो संस्करण पहिलोपटक नेपालमा आयोजना गरिएको हो। यसअघि सन् २०२४ र २०२५ मा बेलायतको लण्डनमा अवार्ड समारोह सम्पन्न भएको थियो। नेपालमा आयोजना गरिएको यस संस्करणले नेपाली फिल्म क्षेत्रका स्थापित कलाकारदेखि नयाँ पुस्तासम्मलाई एउटै मञ्चमा सम्मान गरेको छ।
इन्फा इभेन्ट्स नेपालका अध्यक्ष सुनिल श्रेष्ठ तथा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तानको नेतृत्वमा समारोह सम्पन्न भएको हो। बोर्ड अफ डाइरेक्टर तथा अवार्ड कोर्डिनेटर मनिष कार्की, आशिष पन्त, टंक भट्टराई, मनोज केसी, राज पाण्डे र शुष्मा पौडेललगायतको टोली समारोह व्यवस्थापनमा सक्रिय थियो।
आयोजकका अनुसार आगामी इन्फा अवार्डलाई विदेशी भूमिमा अझ परिस्कृत र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने तयारी गरिनेछ।











प्रतिक्रिया