विश्वमा लाखौँ बिरामी अङ्ग प्रत्यारोपणको प्रतीक्षामा, नेपालमा जनचेतना विस्तारमा जोड

‘अङ्गदान गरौँ, जीवनदान गरौँ’ अभियानलाई राष्ट्रिय आन्दोलन बनाउन आग्रह


काठमाडौं।

विश्व अङ्गदान दिवसको अवसरमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले अङ्गदानलाई मानवताको सर्वोच्च सेवाका रूपमा स्थापित गर्दै नेपालमा अङ्गदानसम्बन्धी जनचेतना व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् । विश्वभर लाखौँ बिरामी मिर्गौला, कलेजो, मुटु, फोक्सो, अग्नाशय तथा अन्य अङ्ग प्रत्यारोपणको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनीहरूले समयमै अङ्ग उपलब्ध हुन नसक्दा हरेक वर्ष हजारौँ मानिसले ज्यान गुमाइरहेको बताए ।

कार्यक्रममा वक्ताहरूले “अङ्गदान गरौँ, जीवनदान गरौँ“ भन्ने अभियानलाई घर–घरमा पु¥याउन सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम, सामाजिक संघसंस्था र आम नागरिक सबैको साझा दायित्व रहेको धारणा व्यक्त गरे । उनीहरूका अनुसार एक जना अङ्गदाताले मृत्यु पश्चात् आफ्नो अङ्गदानमार्फत धेरै बिरामीको जीवन बचाउन सक्ने भएकाले अङ्गदान मानव सेवाको सबैभन्दा ठूलो उदाहरण हो ।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा.कल्पना कुमारी श्रेष्ठले नेपालमा अङ्ग प्रत्यारोपण सेवाको विस्तारसँगै त्यसका लागि आवश्यक पूर्वाधार पनि समान रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले अस्पताल व्यवस्थापनसँग सेवा विस्तारका विषयमा छलफल भइसकेको जानकारी दिँदै आधुनिक उपचार सेवा विस्तारका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।

उहाँका अनुसार अहिले विशेष रूपमा क्याथ ल्याब सेवा विस्तार अत्यन्त आवश्यक रहेको छ । साथै आकस्मिक सेवा, सघन उपचार कक्ष (आईसीयू) तथा कार्डियाक केयर युनिट (सीसीयू) लाई थप सुदृढ बनाउनु समयको माग भएको उल्लेख गर्नुभयो । यस्ता सेवा बिना जटिल बिरामीलाई समयमै उपचार उपलब्ध गराउन कठिन हुने उहाँको भनाइ थियो ।

अस्पतालको आफ्नै स्रोत–साधनले तत्काल सबै पूर्वाधार विकास गर्न सम्भव नभए प्रदेश सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यक सेवा विस्तार गरिने जानकारी दिँदै उहाँले भक्तपुरका स्वास्थ्य संस्थाबीच सहकार्य गरेर आकस्मिक सेवा, आईसीयू तथा विशिष्टीकृत उपचारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको बताउनुभयो ।

निकट भविष्यमै क्याथ ल्याब सञ्चालनमा ल्याउने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले त्यसपछि मुटुरोगका बिरामीले आफ्नै जिल्लामा एन्जियोग्राफी, एन्जियोप्लास्टी तथा स्टेन्ट जडानजस्ता अत्यावश्यक सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । यसले बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने र समयमै उपचार प्राप्त हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य गंगाकुमारी अवालेले अङ्ग प्रत्यारोपण केवल शल्यक्रिया मात्र नभई उच्चस्तरीय उपचार प्रणाली, दक्ष जनशक्ति, आधुनिक उपकरण, सघन उपचार सेवा तथा निरन्तर अनुगमनसँग जोडिएको विषय भएकाले सरकारले यस क्षेत्रमा दीर्घकालीन लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भक्तपुरका ६ जना सभासदहरुले एकैथलोमा बसी यस बिषयमा गम्भीरतापूर्वक छलफल गरी सरकार समक्ष सहयोगका लागि पहल गर्न प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनुभयो । 

सोही अवसरमा अंगदाता समाजका अध्यक्ष ओमचरण अमात्यले स्वास्थ्यकर्मीहरूको योगदानको समेत उच्च प्रशंसा गर्नुभयो । सीमित स्रोत–साधनका बाबजुद चिकित्सक, नर्स, प्राविधिक तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्दै उनीहरूप्रति सम्मान व्यक्त गर्नुभएको थियो । स्वास्थ्य सेवाको गुणस्तर भवन र उपकरणले मात्र निर्धारण नगर्ने, त्यसका पछाडि समर्पित जनशक्ति नै सबैभन्दा ठूलो आधार हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा अङ्गदाता परिवारलाई विशेष सम्मान व्यक्त गर्दै उनीहरूको निर्णयले धेरै बिरामीलाई नयाँ जीवन दिएको उल्लेख गरियो । अङ्गदानलाई धार्मिक, सामाजिक र मानवीय दृष्टिकोणबाट सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिँदै जनचेतनाको अभावका कारण अझै पनि धेरै सम्भावित अङ्गदान हुन नसकेको चिन्ता व्यक्त गरियो । 

विश्व स्वास्थ्य क्षेत्रमा अङ्ग प्रत्यारोपणको माग निरन्तर बढ्दै गएको छ । मिर्गौला, कलेजो, मुटु, फोक्सो तथा अन्य अङ्ग प्रत्यारोपणका लागि विश्वभर ठूलो सङ्ख्यामा बिरामी प्रतीक्षा सूचीमा रहेका छन् । तर अङ्गदाताको सङ्ख्या अपेक्षाकृत कम हुँदा धेरै बिरामीले समयमै उपचार पाउन नसक्ने अवस्था रहेको अमात्यले बताउनुभयो ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा अङ्ग प्रत्यारोपण सेवा विस्तार हुँदै गए पनि जनचेतना, पूर्वाधार, विशेषज्ञ जनशक्ति र अङ्गदान संस्कृतिलाई अझ सुदृढ बनाउन आवश्यक रहेको सभासद राजीव खत्रीको धारणा थियो । अङ्गदानबारे समाजमा रहेका भ्रम हटाउन सञ्चारमाध्यम, विद्यालय, विश्वविद्यालय, धार्मिक अगुवा तथा नागरिक समाजले अभियान सञ्चालन गर्नुपर्ने सुझाव पनि दिनुभयो । उहाँले आफुले सदन मार्फत सरकार समक्ष यो अस्पतालको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । त्यस्तै अर्का सभासद रुकेश रंजितले विज्ञानले अहिले सम्म धेरै चमत्कारिक उपलब्धि हासिल गरेको भए पनि कृतिम रुपकमा मानव अंगको पूर्ण विकल्प बनाउन सकेको छैन । त्यसैले अंग प्रत्यारोपणका लागि मानव अंगदान नै सबैभन्दा प्रभावकारी माध्यम बनेको छ भन्नुभयो । उहाले समाजमा धेरै भ्रम र डर पनि भएकाले जनचेतनाको खाँचो रहेको कुरा औल्याउनुभयो । 

कार्यक्रमको अन्त्यमा आयोजकले प्रमुख अतिथि, विशिष्ट अतिथि, अङ्गदाता परिवार, चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा सहभागी सबैप्रति आभार व्यक्त गर्दै अङ्गदानको सन्देशलाई समाजका हरेक तहसम्म पु¥याउन सबैले साझा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका थिए । विश्व अङ्गदान दिवसले अङ्गदानप्रति सकारात्मक सोच विकास गर्दै जीवन बचाउने महान् अभियानलाई थप सशक्त बनाउने विश्वास पनि कार्यक्रममा व्यक्त गरिएको थियो । कार्यक्रममा उत्कृष्ठ अंगदाता, अंगदान घोषण गर्नेलाई कार्ड प्रदान गरिएको थियो । सोही अवसरमा भाउजुलाई अंगदान गरेका एक दाताले आफुलाई पहिला डर लागेपनि अस्पतालको चिकित्सक टोलीको परामर्शपछि ढुक्क भएर अंगदान गर्ने आत्मबल बढेको बताएका थिए ।