शिक्षाविद् गौतमको ‘शिक्षा : हिजो, आज र भोलि’ विमोचित


काठमाडौँ ।

लेखक एवं शिक्षाविद् रमेशप्रसाद गौतमद्वारा लिखित पुस्तक ‘शिक्षा : हिजो, आज र भोलि’ गत बुधबार राजधानीमा विमोचन गरियो ।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको प्रमुख आतिथ्यमा भएको सो विमोचन समारोहमा पूर्वशिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिद्वय केदारभक्त माथेमा र डा. तीर्थराज खनिया, राष्ट्र बैंकका पूर्वगभर्नरद्वय दीपेन्द्रबहादुर क्षत्री तथा दीपेन्द्रपुरुष ढकाल, प्रा. कृष्ण खनाल, प्रा. विद्यानाथ कोइराला, पुरुषोत्तम दाहाललगायतको उपस्थिति थियो ।

उपस्थित वक्ताहरुले वर्तमान शिक्षास्थितिबारे चिन्ता र भावी स्वरूपबारे चिन्तन गर्नुभएको थियो ।
पैरवी प्रकाशनद्वारा प्रकाशित सो पुस्तकमा नेपालको शिक्षाका बहुआयामिक विषयबारे ५५ वटा लेखहरू समावेश गरिएका छन् । पुस्तकमा विगतको शिक्षा व्यवस्थादेखि वर्तमान हुँदै भावी शिक्षाको परिकल्पनासमेत गरिएकोले शिक्षाप्रेमी एवं नीति निर्माताहरुका लागि यो पुस्तक महत्वपूर्ण हुने देखिन्छ ।
लेखक गौतमका यसभन्दा अघि १४ वटा पुस्तक प्रकाशित भइसकेका छन्, जसमा शिक्षा क्षेत्रका विषयमा लेखिएको पुस्तक अधिक छन् ।