दोलखा।
आफ्नै विश्व कीर्तिमान तोड्ने सपनासहित पाकिस्तानको ब्रोड पिक हिमाल (८,०५१ मिटर) आरोहणको क्रममा साउन १४ गते विहिवार हिम पहिरोमा परी मृत्यु भएका दोलखा गौरीशङ्कर– ९, बेदिङका ४५ बर्षिय आरोही किलि पेम्बा शेर्पा (किलु) को दाह– संस्कार बौद्ध परम्परा अनुसार शुक्रवार सम्पन्न गरीने मृतकका काका दावाछिरी शेर्पाले बताए ।
मंगलवार साँझ पाकिस्तानबाट नेपाल ल्याईएको आरोही किलि पेम्बाको पार्थिकव शरीरलाई अहिले काठमाडौँ गौरीगाउँ स्थित उनको नीजि निवासमा राखि बौद्ध परम्परा अनुसार पाठपूजा गरिरहेको काका दावाछिरीले बताए । दाह– संस्कारको लागि शुक्रवारमात्र साईत निस्किएकोले अहिले उनको पार्थिव शरीरलाई घरमै राखि पाठपूजा गरिरहेको दावाछिरीको भनाई छ ।
अरोही किलि पेम्बाले सन् २०२१ जनवरी १६ मा १० सदसिय आरोहण टोलीमा सहभागि भएर विश्वको दोस्रो अग्लो हिमाल के– टु को पहिलो शीतकालीन सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । त्यसैगरी उनले गत असोजमा आठ हजार माथिका १४ वटा हिमालको सफल आरोहण गरेर अर्को विश्व कीर्तिमान कायम गरेका थिए ।

निर्मल पुर्जाको टिममा रहेर दोस्रो पटक आठ हजार माथिका १४ वटा हिमाल आरोहण गरेर आफ्नै विश्व कीर्तिमान तोड्ने चाहना सहित १४ जुन २०२६ मा पाकिस्तान गएको उनको टोली साउन १४ गते विहिवार ब्रोड पिक आरोहणको क्रममा ६,६५९ मीटरको उँचाईमा पुग्दा हिम पहिरोमा परेका हुन् ।
मृतक आरोही किलि पेम्बा शेर्पा (किलु) को श्रीमती टसी लुमु शेर्पा, एक छोरा र एक छोरी रहेका छन् । परिवारमा कमाई गर्ने मूलीको मृत्यु भएको र आर्थिक अवस्था कम्जोर रहेकोले विश्व कीर्तिमानी आरोही किलि पेम्बाको छोरा– छोरीको पढाईमा राज्यले सहयोग गर्नुपर्ने काका दावाछिरी बताउछन् । आरोही किलि पेम्बाको छोरीले स्नातक तहसम्मको पढाई सकेको र छोराले कक्षा– १२ सम्मको पढाई सकेको दावाछिरीले बताए ।
दोलखाली छोरा भएर हिमाल आरोहणको क्षत्रमा दुई पटक विश्व कीर्तिमान कायम गरी सकेकोले सबै राजनीतिक दल र स्थानीय सरकारको पहलमा किलि पेम्बाको सालिक दोलखा सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा राखिनु पर्ने काका दावाछिरीको माग छ ।











प्रतिक्रिया