ड्रागन फ्रुटबाट वार्षिक २० लाख बढी आम्दानी

0
Shares

दोलखा।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर– ६ नाम्दुका मानबहादुर तमाङले ड्रागन फ्रुट खेतीबाट वार्षिक २० लाख बढी आम्दानी गर्न थालेका छन् । ७१ बर्षिय जोशिला किसान मानबहादुरले २०८१ सालदेखी ड्रागन फ्रुट खेतीबाट आम्दानी गर्न थालेका हुन् ।

पहिलो बर्ष १० लाख आम्दानी भएको थियो, मानबहहादुरले भने– गत बर्ष १८ लाख आम्दानी भएको ड्रागन फ्रुट खेतीबाट यो बर्ष २० लाख भन्दा बढी आम्दानी हुने अनुमान छ ।

मानबहादुरले सुरुमा चार सय बोटबाट ड्रागन फ्रुट खेती सुरु गरेका थिए । त्यसलाई बढाउँदै अहिले उनले १० रोपनी क्षेत्रफलमा छ सय ५० बोट बनाएका छन् । ड्रागन फ्रुटका सबै बोटबाट उत्पादन सुरु भएको छैन उनले भने– सबैबोटले उत्पादन दिन थालेपछि वार्षिक आम्दानीमा पनि बृद्धि हुने छ । 

ड्रागन फ्रुटको बोटले बर्षमा पाँच पटकसम्म आम्दानी दिने मानबहादुरको भनाई छ । यो बर्ष समयमै पानी परेको भए ३० देखी ४० लाख आम्दानी हुने अनुमान उनले गरेका थिए । तै पनि २० लाख भन्दा बढी आम्दानी हुने अनुमान गरेको छु– उनले भने । 

पाको उमेरमा सुरु गरेको ड्रागन फ्रुट व्यवसायले मानबहादुरलाई आर्थिक तथा मानसिक रुपमा सन्तुष्ट बनाएको छ । उनी हरेक समय ड्रागन फ्रुटको बारीमा रमाउने गरेका छन् । उत्पादित ड्रागन फ्रुटको लागि बजारको समस्या नभएको उनको भनाई छ । जिरी, चरिकोट, मैनापोखरी, नाम्दु, तामाकोशी लगायत स्थानीय बजारमै यसको माग धान्न सकिएको छैन– उनले भने । 

मानबहादुरलाई ड्रागन फ्रुट खेतीको लागि बैतेश्वर गाउँपालिकाले एउटा धारा सहयोग गरेको छ भने बागमति प्रदेश सरकारले घेराबारको लागि १० लाख सहयोग गरेको छ । सरकारले थप सहयोग गरिदिए ड्रागन फ्रुट खेतीलाई अझ विस्तार गर्ने मानबहादुर बताउँछन् । मेरो कामबाट धेरै किसानहरु उत्साहित भएका छन्, उनले भने– त्यसैले सरकारले सहयोग गर्नुपर्छ ।