चितवनमा क्लस्टर प्रणालीबाट ग्यास वितरण गरिने


चितवन ।

जिल्ला प्रशासन कार्यालय चितवनले उपभोक्ताको गुनासो तथा खाना पकाउने एलपी ग्यासको उपलब्धतालाई व्यवस्थित गर्न भूगोलका आधारमा क्लस्टर प्रणाली लागू गरेको छ । ग्यास उद्योगी तथा डिलरहरूसँग साउन २४ गते भएको छलफलपछि प्रशासनले नयाँ वितरण कार्यतालिका सार्वजनिक गरेको हो ।
नयाँ व्यवस्थाअनुसार पश्चिम चितवन र माडी नगरपालिकालाई एक क्लस्टरमा राखिएको छ । यसैगरी भरतपुर महानगरपालिकाका वडा नम्बर १, २, ३, ४ र २९ लाई एक क्लस्टर, वडा नम्बर १०, ११ र १२ लाई अर्को तथा वडा नम्बर ५, ६, ७, ८ र ९ लाई छुट्टै क्लस्टर बनाएर प्रत्येक क्लस्टरका लागि छुट्टाछुट्टै दिन ग्यास वितरण गरिनेछ ।

पूर्वी चितवनका डिपोहरूबाट भने साविककै व्यवस्थाअनुसार नियमित रूपमा ग्यास वितरण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनका अनुसार ग्यास कम्पनीहरूले जिल्लाका लागि निर्धारण गरिएको कोटाअनुसार डिपोहरूमा ग्यास पठाउनुपर्नेछ । डिपो तथा विक्रेताले उपभोक्ताको विवरण अनिवार्य रूपमा राखी प्राथमिकताका आधारमा ग्यास बिक्री गर्नुपर्नेछ । तोकिएको क्लस्टरभन्दा बाहिर आफूखुसी ग्यास बिक्री गर्न पाइने छैन ।
कुनै कारणले तोकिएको दिन ग्यास आपूर्ति हुन नसकेमा अर्को दिन सोही क्लस्टरका लागि तोकिएको परिमाण र प्रक्रियाअनुसार ग्यास वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसबाट ग्यासको वितरणमा हुने अव्यवस्था र उपभोक्ताको अनावश्यक भीड कम हुने प्रशासनको अपेक्षा छ ।

नियमित कार्यतालिकाअनुसार ग्यास वितरण हुँदा तत्काल ग्यास आवश्यक पर्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा जिल्लाभित्र सञ्चालित आश्रमका लागि भने विशेष व्यवस्था गरिएको छ । त्यस्ता उपभोक्ताले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउनुपर्नेछ ।
वडा कार्यालयले सम्बन्धित व्यक्तिको पहिचान प्रमाणित गरी जिल्ला प्रशासन कार्यालयको टोल फ्री नम्बर १६६०५६५२००१ मार्फत सिफारिस गरेपछि प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइने प्रशासनले जनाएको छ ।

त्यस्तै, नियमित क्लस्टर प्रणाली र विशेष प्रक्रियाबाट समेत ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताका लागि हप्ताको एक दिन तोकिएको स्थानमा घुम्ती सेवामार्फत खुला रूपमा ग्यास बिक्री वितरण गर्ने व्यवस्था गरिएको छ ।

गुनासो व्यवस्थापन गर्न ‘क्विक रेस्पोन्स टिम’

ग्यासको बिक्री तथा वितरणका क्रममा देखिने समस्या तत्काल समाधान गर्न जिल्ला प्रशासन कार्यालयले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको संयोजकत्वमा गठन गरिएको टोलीले ग्याससम्बन्धी समस्या, सूचना, सुझाव तथा उपभोक्ताका गुनासा व्यवस्थापन गर्नेछ ।

ग्यासको बिक्री वितरणमा समस्या देखिएमा वा ग्याससम्बन्धी कुनै गुनासो भएमा सहायक प्रजिअ गौतमलाई ९८५५०८१७६८, प्रशासकीय अधिकृत मदन लामा थिङलाई ९८५५९२२०० र प्रहरी नायब निरीक्षक यामप्रसाद सापकोटालाई ९८४४०२९०४३ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई आफ्नो नजिकको अधिकृत विक्रेतासँग सम्पर्क गर्न तथा आफूलाई तोकिएको क्लस्टरबाहेक अन्य स्थानमा ग्यास खोज्दै नजान अनुरोध गरेको छ । प्रशासनले क्लस्टर प्रणालीमार्फत ग्यास वितरणलाई व्यवस्थित, पारदर्शी र सहज बनाउने जनाएको छ ।