रोलिङ स्टोन्सका चर्चित गायक मिक जेगर ८३ वर्षको उमेरमा पनि आफ्नो जबर्जस्त ऊर्जाका कारण फेरि चर्चामा आएका छन्। क्लबमा नाचिरहेको उनको पछिल्लो भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ।
जेगरले आइतबार आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा उनलाई डिस्को बत्तीमुनि भीडभाड भएको नृत्यस्थलमा हात हल्लाउँदै र कम्मर मर्काउँदै रमाइलो गरिरहेको देखिन्छ। पृष्ठभूमिमा उनको ब्यान्ड रोलिङ स्टोन्सको पछिल्लो गीत ‘मिस्टर चार्म’ बजिरहेको सुनिन्छ। भिडियोसँगै उनले गर्मीको मौसम रमाइलो गरिरहेको सन्देशसमेत दिएका छन्।
भिडियो सार्वजनिक भएपछि प्रशंसकहरूले जेगरको ऊर्जा र फुर्तिलोपनको खुलेर प्रशंसा गरेका छन्। कतिपयले त ८३ वर्षका जेगरसँग आफूभन्दा निकै कम उमेरमा पनि त्यति ऊर्जा नभएको भन्दै रमाइलो टिप्पणी गरेका छन्।
जेगरको नृत्यपछि सन् २०११ मा लोकप्रिय बनेको ‘मुभ्स लाइक जेगर’ गीतको समेत चर्चा चुलिएको छ। उक्त गीत जेगरको विशिष्ट नृत्य र आकर्षक प्रस्तुति शैलीबाट प्रेरित थियो।
आफ्नो शारीरिक तन्दुरुस्तीका लागि जेगर नियमित नृत्य अभ्यास र व्यायाम गर्ने गर्छन्। उनले आफूलाई अझै पनि प्रस्तुति दिन ऊर्जा मिल्नुको मुख्य कारण आफूलाई संगीत र दर्शकसँगको सम्बन्ध मन पर्ने बताएका छन्।











प्रतिक्रिया