फतुवा विजयपुरमा आगलागी हुँदा २० लाख बराबरको सम्पत्ति नष्ट

0
Shares

रौतहट ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक इँटाभट्टा संचालकको घरमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । मकबानपुरको हेटौडा नगरपालिका–४ घर भई फतुवा बिजयपुरको दुधिअवामा खरेल इँटाभट्टा संचालन गर्दै आएका सञ्चालक दिपेन्द्र भक्त खरेलको काठले बनेको दुई तले घरमा सोमबार बिहान विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगलागीबाट काठले बनेको जस्तापाताको छाना भएको दुई तल्लेघर पूर्णरूपमा जलेर ध्वस्त भएको छ । इँटाभट्टामा प्रयोग हुने सामग्री तथा कामदारका लागि आवश्यक ग्यास सिलिन्डरसमेत भण्डारण गरिएको उक्त घरमा आगलागी हुँदा भरिएका नौवटा ग्यास सिलिन्डर पड्किएको खरेलले बताउनु भयो । । उहाका अनुसार थप ३१ वटा ग्यास सिलिन्डर भने सुरक्षित निकालिएको छ ।

आगलागीमा इँटा बिक्रीबाट प्राप्त नगद करिब दुई लाख रुपैयाँ, तीन तोला सुन, उद्योगसम्बन्धी कागजात, फर्निचर, खाद्यान्नलगायतका सामग्री जलेर नष्ट भएको जानकारी पीडित खरेलले दिनु भयो । आगलागीपछि बाराको कोल्हवी नगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । समयमै आगो नियन्त्रणमा लिए पनि काठले बनेको घर भने पूर्णरूपमा ध्वस्त भएको छ । खरेलले बिहान पूजा गरी धूपबत्ती बालेर दूध लिन डेरीतर्फ गएको केही समयपछि घरमा आगलागी भएको हो ।