गाईजात्राका लागि जोगिन्दरको राजनीतिक प्रहार


हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले यस वर्षको गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे कमेडी अडियो भिडियो सामग्री बालेन सरकार सार्वजनिक गरेका छन्।

२०८३ सालको हास्यव्यग्यको पर्व गाईजात्राका अवसरमा रिजालले समसामयिक विषय, राजनीति, राजनीतिक दल तथा नेतामाथि व्यंग्य गर्दै नया“ कोसेली ल्याएका हुन्। ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको बालेन सरकारमा उनले सरकारलाई सल्लाह र सुझाव दिँदै खबरदारीसमेत गरेका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई समेत उनले व्यग््यको विषय बनाएका छन्। कार्यक्रममा समग्र नेपालीको बानीव्यहोरा र सामाजिक प्रवृत्तिमाथि पनि कटाक्ष गरिएको छ।

२३ वर्षदेखि नियमित गाईजात्रे व्यंग्यका कोसेली प्रस्तुत गर्दै आएका रिजालले बालेन सरकार दर्शक तथा श्रोतालाई हास्यव्यंग्यका माध्यमबाट मनोरञ्जन दिनुका साथै चेतना प्रवाह गर्ने उद्देश्यले ल्याइएको बताए। ‘गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव हो। अहिले यस्ता कोसेलीको व्यावसायिकता छैन’ रिजाल भन्छन् ‘तर, बर्सेनि दर्शक–श्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ। दर्शकको मायाले गर्दा पनि आम्दानी नभए पनि यसलाई निरन्तरता दि“दै आएको छु।’

लेखन, निर्देशन र प्रस्तुति रिजालकै रहेको बालेन सरकारमा स्व. झलकमान गन्धर्वको चर्चित गीत आमाले सोध्लिन् निमाथि आधारित प्यारोडीसमेत समावेश गरिएको छ। उक्त प्यारोडीमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले स्वर दिएका छन्। लोकराज अधिकारीको शब्द तथा अष्ट लामाको संगीत संयोजन रहेको प्यारोडीमा एमाले, कांग्रेस, माओवादीसहित देशका सम्पूर्ण राजनीतिक दलमाथि व्यंग्य गरिएको छ।

बालेन सरकारमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायांकन रहेको छ। यसको पोस्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो। यो रिजालको २३औं गाईजात्रे कोसेली हो। गत वर्ष उनले मिस चौरासी सार्वजनिक गरेका थिए, जसले राम्रो चर्चा पाएको थियो। २०६१ सालदेखि हरेक वर्ष निरन्तर गाईजात्रे प्रस्तुति बजारमा ल्याउँदै आएका रिजाल गाईजात्रामा हास्यव्यंग्य कार्यक्रम गर्नु र प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै भएको मान्छन्।