काठमाडौं।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धिले टाउको तथा घाँटी (हेड एन्ड नेक) क्यान्सरको अत्याधुनिक उपचार सेवा नेपालमै उपलब्ध रहेको जनाएको छ । अस्पतालले शनिवार आयोजित एक कार्यक्रममा विगत १० वर्षको अवधिमा मुख, जिब्रो, गाला, ओठ तथा घाँटीको क्यान्सर भएका पाँच हजारभन्दा बढी बिरामीको सफल शल्यक्रिया गरी उपचार गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
अस्पतालले आयोजना गरेको कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि, दक्ष जनशक्ति तथा बहुविषयगत उपचार प्रणाली विकास भइसकेकाले उपचारका लागि भारत वा अन्य मुलुक जानुपर्ने बाध्यता क्रमश अन्त्य हुँदै गएको बताउनुभयो ।
अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले पछिल्लो समय धूमपान, सुर्ती, पराग तथा भेप सेवन गर्ने २० देखि ४० वर्ष उमेर समूहका युवामा समेत मुखको क्यान्सर बढ्दै गएको बताउनुभयो । उहाँले मुखमा लामो समयसम्म निको नहुने घाउ, सेतो वा रातो दाग, गाँठागुँठी वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग जाँच गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रारम्भिक चरणमै क्यान्सर पत्ता लागे उपचार सरल, कम खर्चिलो र सफल हुने सम्भावना अत्यधिक रहने उल्लेख गर्नुभयो ।
अस्पतालको नाक, कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा. प्रभात चन्द्र ठाकुरले उपचारका लागि आउने अधिकांश बिरामी तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै अस्पताल पुग्ने गरेको बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिले महिनामा कम्तीमा एक पटक ऐनाअगाडि बसेर आफ्नै मुखको परीक्षण गर्नुपर्ने सुझाव दिनुभयो । जिब्रो, गिजा, गालाको भित्री भाग, तालु तथा मुखभित्र दुईदेखि तीन सातासम्म निको नहुने घाउ, सेतो वा रातो दाग वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उहाँले बताउनुभयो ।
डा. ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाटै सम्भव हुने भएकाले ‘सेल्फ ओरल एक्जामिनेसन’ लाई राष्ट्रिय जनचेतना कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले प्राथमिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा दन्त चिकित्सकलाई समेत प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिँदा ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा. कपेन्द्र शेखर अमात्यले अहिले नेपालमै भारतका ठूला क्यान्सर अस्पतालसरहको हेड एन्ड नेक क्यान्सर उपचार सम्भव भएको बताउनुभयो । आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत उपचार प्रणालीका कारण उपचारका लागि विदेश जानुपर्ने आवश्यकता नरहेको उहाँले प्रष्ट पार्नुभयो ।उहाँले हेड एन्ड नेक क्यान्सरको उपचार शल्यक्रियामै सीमित नभई शल्यचिकित्सक, मेडिकल अन्कोलोजिस्ट, रेडिएसन अन्कोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, स्पिच तथा स्वालो थेरापिस्ट, पोषणविद्, पुनःस्थापना विशेषज्ञ र मनोपरामर्शदाताको संयुक्त टोलीमार्फत हुने बताउनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बिजेशराज घिमिरेले नेपाल क्यान्सर अस्पतालले १० वर्षको अवधिमा मुख तथा घाँटीको क्यान्सर उपचारमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । पाँच हजारभन्दा बढी सफल शल्यक्रियाले अस्पतालको दक्षता र अनुभवलाई पुष्टि गरेको उहाँले उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा चिकित्सकहरूले मुखको क्यान्सरको प्रारम्भिक पहिचानमा दन्त चिकित्सक, ओरल हाइजिनिस्ट, प्राथमिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उनीहरूलाई आवश्यक तालिम उपलब्ध गराई समयमै विशेषज्ञकहाँ रिफर गर्ने प्रणाली विकास गर्न सके प्रारम्भिक अवस्थामै धेरै बिरामीको उपचार सम्भव हुने उहाँहरूको भन्नाइ थियो ।

चिकित्सकहरूले मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न ठूलो बजेट आवश्यक नपर्ने भए पनि यसले प्रारम्भिक पहिचानमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । सरकारले मुखको क्यान्सरको रोकथाम तथा प्रारम्भिक पहिचानलाई राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रमको प्राथमिकतामा राख्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
कार्यक्रममा अस्पतालका रेडिएसन थेरापी विभाग प्रमुख डा. गिसुपनिख प्रसिको तथा प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले पनि नेपालमा क्यान्सर उपचार सेवाको विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा बिरामीमैत्री सेवा विकासका विषयमा आफ्ना धारणा राख्नुभयो ।
पत्रकार सम्मेलनमा सहभागी विशेषज्ञहरूले नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि, अनुभवी चिकित्सक र बहुविषयगत उपचार सेवा उपलब्ध भइसकेकाले हेड एन्ड नेक क्यान्सरका बिरामीले उपचारका लागि अनावश्यक रूपमा भारत वा अन्य मुलुक जानुपर्ने अवस्था नरहेको बताउनुभयो । साथै समयमै रोग पहिचान, नियमित मुख परीक्षण र विशेषज्ञ उपचारमा पहुँच विस्तार गर्न सरकार, सञ्चारमाध्यम तथा स्वास्थ्यकर्मीले संयुक्त रूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
हेड एन्ड नेक क्यान्सर उपचारमा नेपाल क्यान्सर अस्पतालको एक दशकमा ५ हजारभन्दा बढी सफल शल्यक्रिया
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्धिले हेड एन्ड नेक (टाउको तथा घाँटी) क्यान्सर उपचार सेवाको १० वर्षे यात्रामा पाँच हजारभन्दा बढी जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । अस्पतालका अनुसार विगत १० वर्षमा ५ हजारभन्दा बढी प्रमुख हेड एन्ड नेक क्यान्सर शल्यक्रिया, ३ हजारभन्दा बढी मुखको क्यान्सरको शल्यक्रिया, १ हजार २ सयभन्दा बढी थाइराइड शल्यक्रिया तथा ६ सयभन्दा बढी फ्री फ्ल्याप पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएका छन् ।
अस्पतालले नेपालमै पहिलोपटक एन्डोस्कोपिक थाइराइड शल्यक्रिया सेवा सुरु गरेको जनाएको छ । त्यस्तै, मुखको क्यान्सरको शल्यक्रियामा नियमित रूपमा इन्ट्राअपरेटिभ फ्रोजन सेक्शन प्रविधिको प्रयोग गर्दै आएको जनाएको छ । जटिल शल्यक्रियाका क्रममा नसाको सुरक्षालाई थप प्रभावकारी बनाउन एनआईएम भाइटल इन्ट्राअपरेटिभ नर्भ मोनिटरिङ प्रणाली प्रयोगमा ल्याइएको अस्पतालले जनाएको छ । यस अवधिमा अस्पतालले ईएनटी (नाक, कान तथा घाँटी), म्याक्सिलोफेसियल सर्जरी तथा ओरल प्याथोलोजी विषयमा ’अब्जर्भर प्रोग्राम’ सञ्चालन गर्दै विशेषज्ञ जनशक्ति उत्पादनमा समेत योगदान पु¥याएको जनाएको छ ।
अस्पतालका अनुसार हेड एन्ड नेक क्यान्सरसम्बन्धी अनुसन्धानलाई प्राथमिकतामा राख्दै १० वटा केस रिपोर्ट समेत प्रकाशित गरिएका छन् । अस्पतालले विगत १० वर्षको उपलब्धिलाई आगामी उत्कृष्टताको आधारका रूपमा लिँदै अत्याधुनिक प्रविधि, अनुसन्धान, दक्ष जनशक्ति विकास तथा बहुविषयगत उपचार प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । अस्पतालले “उपलब्धिबाट उत्कृष्टतातर्फ“ भन्ने नारासहित आगामी दिनमा पनि गुणस्तरीय क्यान्सर उपचार सेवालाई थप विस्तार दिने लक्ष्य लिएको जनाएको छ ।











प्रतिक्रिया