दोलखा।
दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ– रि हिमालमा ५ जनाको शव देखिएको स्थानीयले बताएका छन् । ती शवहरु गतबर्षको कार्तिक १७ गते यलुङ– रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएकाहरु को हुनसक्ने वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमा गेली शेर्पाले बताए ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले पनि यलुङ– रि हिमालको आधार शिविरमा ५ वटा शव देखिएको जानकारी आएको तर त्यसको आधिकारीक पुष्टि भने भै नसकेको बताए । ती शवहरु गत बर्ष हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेकाहरुको हुनसक्ने प्रहरी नायव उपरीक्षक लामाको भनाई छ ।
गत बर्ष यलुङ– रि हिमाल आरोहणका क्रममा सात जना हिमपहिरोमा परेर बेपत्ता भएको थिए । ती मध्य दुईजनाको शव त्यतिबेलै भेटिएको भएपनि ५ जनाको शव भने नभेटिएको ड्रिम डेक्सटिनेसनका तर्फबाट खोजिमा सहभागि टिमले बताएको थियो । लगातारको हिमपातका कारण त्यतिबेला खोजिकार्य स्थगित गरिएको थियो ।
स्थानीयले ५ वटा शव देखिएको बताएपछि ड्रिम डेक्सटिनेसनले शव सङ्कलन र पहिचानको लागि शुक्रवार यलुङ– रि हिमाल क्षेत्रमा हेलिकप्टर पठाएको भएपनि खराब मौसमको कारण शव पहिचान र सङ्कलन सम्भव नभएको प्रहरीले जनाएको छ ।
ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले पनि गतबर्ष आरोहणको क्रममा हिमपहिरोमा परेका ५ जनाको खोजिको लागि हेलिकप्टर पठाईएको भएपनि खराब मौसमका कारण त्यो सम्भव नभएको बताए । स्थानीयले यलुङ– रि आधार शिविरमा शव देखिएको बताएको भएपनि त्यसको आधिकारीक पुष्टि नभएको फुर्वा तेन्जीले बताए ।
गत बर्षको कार्तिक ११ गते बिभिन्न समुहमा नेपाली तथा विदेशी गरी १५ जना आरोहणको लागि रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । उनीहरु कार्तिक १७ गते हिमपहिरोमा परेका हुन् ।
हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्दार भएको थियो । हिमपहिरोमा परेका दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का पदम तमाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको त्यतिबेलै शव भेटिएको थियो । ५ जना विदेशी नागरिकहरु फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासर्पोट नम्बर 9DK92514_), इटलिका पाउलो कोको (पासर्पोट नम्बरYB6411963) र मार्कोस किरचिलर (पासर्पोट नम्बर YB3843711), जर्मनका ज्याकोब इसरिवर (पासर्पोट नम्बर CHIHX6HRZ) तथा क्यानेडियन मार्को डि मारसेलो (पासर्पोट नम्बरP823193NG) हिमपहिरोमा पुरिएर बेपत्ता थिए ।
स्थानीयले यलुङ– रि आधार शिविरमा देखेको शव हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनाको हुनसक्ने प्रहरीको भनाई छ ।











प्रतिक्रिया