काठमाडौं।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बेवारिसे बिरामीलाई आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको शुल्क अब नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले व्यहोर्ने भएको छ।
यस सम्बन्धमा राष्ट्रिय ट्रमा सेन्टर, केन्द्रीय रक्त सञ्चार सेवा र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको हो।
प्रतिनिधिसभा सदस्य लालबिक्रम थापाको उपस्थितिमा सम्पन्न सम्झौतामा ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनी, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेल तथा केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका मन्त्री वृद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मिरत्न तुलाधर, केन्द्रीय रक्त सञ्चार सेवाका उपनिर्देशक प्रकाशकुमार यादव, जनसम्पर्क अधिकृत सन्देश थापा, ट्रमा सेन्टरको सामाजिक सेवा विभाग प्रमुख इन्दिरा पाण्डेलगायत विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो।
पछिल्लो डेढ वर्षदेखि मौखिक सहमति र ट्रमा सेन्टरको मागका आधारमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले बेवारिसे बिरामीका लागि आवश्यक रगत तथा रगतजन्य पदार्थको शुल्क केन्द्रीय रक्त सञ्चार सेवालाई उपलब्ध गराउँदै आएको थियो। उक्त व्यवस्थालाई संस्थागत तथा व्यवस्थित बनाउन चालु आर्थिक वर्षदेखि औपचारिक सम्झौता गरिएको जनाइएको छ।
सम्झौता २०८४ साल असार मसान्तसम्म लागू रहनेछ। यस व्यवस्थाबाट आर्थिक अवस्था कमजोर तथा बेवारिसे बिरामीले समयमै आवश्यक रगत प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया