मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्झौता


काठमाडौं।

मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय स्तरमा रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित दुवै पक्षबीच उक्त सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीले आफ्नो व्यवसायको प्रकृतिअनुसार मुक्तिनाथ विकास बैंकबाट धितोबिना अधिकतम दुई लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नागार्जुन नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ अनुसार योग्य ऋणीले शतप्रतिशत ब्याज अनुदान सुविधा पनि पाउने व्यवस्था गरिएको छ।

बैंकका अनुसार यस सहकार्यले स्थानीय तहमा वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण, उद्यमशीलताको विकास तथा दिगो आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए।

बैंकले स्थानीय सरकारसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै उत्पादनमूलक क्षेत्र र उद्यमशीलतामा लगानी विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।