काठमाडौं ।
नेपाली सेनाले प्राइम टिभी एचडीमा प्रसारित डा. सी.के. राउतसँगको एक अन्तर्वार्तामा सेनासम्बन्धी गरिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको पत्र उक्त मिडियालाई लेखेको जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार सेनाले उक्त सामग्रीमा आफ्नो संस्थागत भूमिका अवमूल्यन गरिएको तथा तथ्यहीन र दिग्भ्रमित पार्ने अभिव्यक्तिहरू प्रसारण भएको भन्दै सम्बन्धित सञ्चारगृहलाई आपत्ति जनाएको हो।
सेनाले पत्र मार्फत मिति २०८३ असार १७ गते बुधवार प्रसारित “डा. सी.के. राउतको घोषणा: नेपाली सेना खारेज गर्ने, ….” शीर्षकको कार्यक्रममा अन्तर्वार्ताका क्रममा नेपाली सेनाले स्थापना कालदेखि राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय स्थायित्व तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियानमा निर्वाह गर्दै आएको भूमिकालाई अवमूल्यन गर्ने अभिव्यक्ति प्रसारण भएको उल्लेख गरिएको छ।
उक्त कार्यक्रममा अतिथिबाट व्यक्त गरिएको “साङ्घातिक हमला हुन सक्ने” भन्ने आशयको भनाइलाई पनि नेपाली सेनाले भ्रामक, तथ्यहीन तथा कपोलकल्पित भएको जनाएको छ।
सेनाले नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने उल्लेख गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षा गर्ने आफ्नो संवैधानिक जिम्मेवारीप्रति प्रतिबद्ध रहेको तथा राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भ्रामक सामग्री सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको स्रोतले जनाएको छ।
यस विषयमा प्रेस काउन्सिल नेपाल र राष्ट्रिय सूचना आयोगलाई समेत जानकारी गराइएको जनाइएको छ। यद्यपि, समाचार तयार पार्दासम्म प्राइम टिभी वा डा. सी.के. राउतको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको देखिएको छैन।
यसैबीच, डा. राउतले हालै सुनसरी घटनासँग सम्बन्धित भन्दै नेपाली सेनाले नागरिकमाथि दुई मिटरको दूरीबाट बन्दुक ताकेको दाबी गर्दै सामाजिक सञ्जालमा साझा गरेको तस्बिर सम्पादन (एडिट) गरिएको रहेको तथ्य टेकपाना डट कम लगायत विभिन्न फ्याक्ट–चेकमार्फत सार्वजनिक भइसकेको छ। उक्त तस्बिर मूल (ओरिजिनल) नभई तोडमोड गरिएको निष्कर्ष सार्वजनिक भएपछि त्यस सम्बन्धी अभिव्यक्तिप्रति पनि प्रश्न उठेको छ।
नेपाली सेनाले यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने वा अन्य औपचारिक कदम चाल्ने विषय भने हालसम्म सार्वजनिक गरेको छैन। त्यस सम्बन्धी थप निर्णय आगामी घटनाक्रमसँगै स्पष्ट हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया