जनकपुरधाम ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–स्थित दशरथनगरको मुस्लिम टोलमा तीन जना हिन्दू समुदायका बालकमाथि साङ्घातिक आक्रमण भएको छ। घटनामा घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको बताइएको छ।
स्थानीयका अनुसार बालकहरूमाथि भएको आक्रमणपछि क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। घटनापछि ठूलो संख्यामा स्थानीय भेला भएका छन् भने सम्भावित अप्रिय अवस्था रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई घटनास्थलमा परिचालन गरिएको छ।
घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लगिएको छ। गम्भीर घाइते बालकको सघन उपचार भइरहेको जनाइएको छ। घाइतेहरूको पहिचान तथा घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।

यस घटनापछि जनकपुरधाममा साम्प्रदायिक तनाव थप बढेको छ। यसअघि नै जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जनकपुरको सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिसकेको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा उत्तेजक सामग्री नफैलाउन तथा शान्ति–सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।











प्रतिक्रिया