खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर


काठमाडौं।

आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्ताका लागि ‘१००% उपहार’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट वा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।

खल्तीका अनुसार यो योजना साउन महिनाभर सञ्चालन हुनेछ। डिम्याट तथा मेरोशेयर नवीकरणलाई समयमै गर्न प्रोत्साहन गर्ने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन आग्रह गरेको छ। तोकिएको समयभित्र शुल्क नतिरे साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्ने भएकाले समयमै नवीकरण गर्न आवश्यक रहेको बताइएको छ। डिम्याट खाता रोक्का भएमा सेयर खरिद–बिक्रीलगायत पूँजीबजारसम्बन्धी कारोबार प्रभावित हुन सक्छ।

हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयर खाताको ५० रुपैयाँ तोकिएको छ। खल्तीले यही शुल्क भुक्तानी गर्ने प्रयोगकर्तामध्ये प्रत्येक १५ दिनमा १०० जनालाई शतप्रतिशत क्यासब्याक उपलब्ध गराउने जनाएको छ।

प्रयोगकर्ताले खल्ती एपको Financial Services अन्तर्गत रहेको MeroShare & Demat Renewal सेवा प्रयोग गरी केही चरणमै डिम्याट तथा मेरोशेयर नवीकरण गर्न सक्नेछन्। साथै, ब्रोकर वा डिपोजिटरी पार्टिसिपेन्ट (DP) को वेबसाइटमार्फत नवीकरण गर्दा पनि खल्ती पेमेन्ट गेटवे प्रयोग गरेर शुल्क भुक्तानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरण सेवालाई अझ छिटो, सुरक्षित र सहज बनाउन एप र पेमेन्ट गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले घरमै बसेर २४सै घण्टा नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।